खार्पुबाट सदरमुकाम सिमकोट आउने बिरामीहरुलाई नि:शुल्क सेवा
हुम्ला — हुम्ला सदरमुकाम सिमकोटमा पहिलो पटक बस पुगेको छ । चीनको बाटो भएर एक वर्ष अगाडि हिल्सा पुगेको बस हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको हो ।
सिमकोटबाट हिल्सा र खार्पुका लागि संचालन हुने बसले खार्पुनाथ गाउँपालिका–५ को खार्पुबाट सिमकोट आउने बिरामीहरुलाई नि:शुल्क सेवा दिने भएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा चीनको बाटो हुँदै बस पुर्याइएको हो ।
देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो । यात्रुलाई सेवा दिन पहिलो पटक सदरमुकाम सिमकोटमा बस पुर्याइएको व्यवसायी विजय लामाले बताए ।
व्यवसायी लामाले नेपालबाट बस ल्याउन सम्भव नभएपछि चीनको बाटो प्रयोग गरेर एक वर्ष अघि २ वटा बस हिल्सा पुर्याएका थिए। सिमकोटसम्म राष्ट्रिय सडक सञ्जाल नपुगे पनि उत्तरतिरबाट जिल्ला सदरमुकाम जोडिएकाले चीनको बाटो हुँदै बस सिमकोट पुर्याइएको लामाले बताए ।
'खार्पुनाथ गाउँपालिका–५ को खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदीमा पक्की पुल नहुँदा सिमकोट आजसम्म राष्ट्रिय सडकसँग जोडिएको छैन,' व्यवसायी लामाले भने, 'देशभित्रैबाट सिमकोट पुग्ने बाटो नभएपछि चीनको बाटो प्रयोग गरेका हौं । चीनको सडकमा नेपाली नम्बर प्लेटका सवारीसाधन गुडाउन नमिल्ने रहेछ । त्यसैले हामीले चिनियाँ ट्रकमा राखेर बस हिल्सा नाकासम्म ल्याउन ७ लाख रुपैयाँ भाडा तिर्नु परेको थियो ।'
च्याछहरा खण्डमा सडक चौडा नबनेका कारण यस अघि हिल्सादेखि नाम्खा-२ को पातिहाल्नासम्म मात्र संचालन हुने बस च्याछहरामा सडक चौडा भएसंगै बिहीबार ६ घण्टा समय लगाएर हिल्साबाट ९५ किलोमिटर टाढा रहेको सदरमुकाम सिमकोट पुगेको हो ।
सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध भएको बस सदरमुकाम सिमकोट पुगेसंगै हुम्लाका नागरिकलाई महँगो भाडा तिरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।
हुम्लाको भुगोल र सडक अनुसार २५ सिट क्षमता भएका बस संचालन गर्न सहज हुने र समस्यामा रहेका नागरिकलाई यात्रा गर्न सहज हुने स्थानीय ताराबहादुर लामाले बताए । बस पहिलो पटक सदरमुकम पुगेपछि स्थानीयले बाजागाजासहित यात्रु तथा चालकलाई अबिर लगाएर स्वागत गरेका थिए ।
सिमकोटदेखि हिल्सासम्मको सडकको दूरी ९५ किलोमिटरमात्रै छ । तर, हाल स्थानीय जीपहरूले उक्त सडक खण्डमा प्रतियात्रु ५ हजार भाडा लिदा महँगो भाडाको मारमा परेका नागरिकको समस्यालाई मध्यनजर गर्दै बस सेवा सञ्चालन ल्याइएको हो । बस सिमकोटमा पुगेपछि आइतबारदेखि नियमित रूपमा सिमकोट–हिल्सा र सिमकोट–खार्पुका लागि सञ्चालन गर्ने लामाले बताए ।
खार्पु देखि जिल्ला अस्पताल सिमकोट आउने बिरामीहरुलाई बसमा निशुल्क सेवा दिने लामाले बताए ।
