मुख स्वास्थ्यमा बेवास्ता महँगो पर्न सक्छ

दाँत माझ्नु मात्रै पर्याप्त होइन, नियमित फ्लस, जिब्रोको सफाइ र प्रत्येक ६ महिनामा दन्त परीक्षण पनि उत्तिकै आवश्यक छ ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

Neglecting Oral Health Can Be Costly

What you should know

शरीरका अन्य अंगजस्तै दाँतको हेरचाह पनि उत्तिकै महत्वपूर्ण छ । दाँत स्वास्थ्य र सुन्दरता दुवै हो । तर दाँतको हेरचाह र सुरक्षामा धेरैले लापरबाही गर्ने गरेका छन् ।

हामीले सधैं ओरल हाइजिन मेन्टेन गर्नुपर्छ । हाम्रो नेपाली समाजमा दाँत माझ्नुलाई मात्रै ओरल हाइजिनका रूपमा बुझिन्छ तर यति मात्रै पर्याप्त होइन । फ्लस, मुख कुल्ला, जिब्रोको सफाइ सबै ओरल हाइजिनमा पर्छन् । यसबाहेक हरेक ६–६ महिनाको फरकमा दन्त परीक्षण गराउनुपर्छ ।

हामीले धेरै कडा खानेकुरा खानुहुँदैन । नङ टोक्नु हुँदैन र थ्रेडिङ गर्दाको धागो पनि दाँतका लागि हानिकारक नै हुन सक्छ । दाँत राम्रो बनाउन सुर्तीजन्य पदार्थबाट टाढै बस्ने तथा कार्बोनेटेड ड्रिंक्स, चिया–कफी धेरै पिउनु हुँदैन । 

नेपालमा अझै पनि गाह्रो भएपछि मात्रै अस्पताल जाने चलन छ । दाँत धेरै झरिसकेपछि, किराले धेरै खाइसकेपछि र बच्चाहरूको दुधे दाँत हो भनेर पनि ध्यान नदिएको पाइन्छ । अझै पनि हामीकहाँ प्राथमिक विद्यालय तहदेखि नै यससँग सम्बन्धित जनचेतना जगाउनु आवश्यक छ । 

नियमित रूपमा दैनिक दुईपटक ब्रस गर्नैपर्छ । खाना खाएको २० देखि ३० मिनेटपछि ब्रस गर्दा दाँत खिइनबाट जोगाउन सकिन्छ । ब्रस नपुग्ने ठाउँमा फ्लसले सफा गर्नुपर्छ । टङ क्लिनरले जिब्रो सफा गर्नुपर्छ । एसिडिक फुड खाने वा कडा सामान दाँतले फोर्ने गर्नुहुँदैन । दाँतको सुरक्षामा कस्तो ब्रस प्रयोग गरिँदै छ, त्यसले पनि ठूलो अर्थ राख्छ । तसर्थ ब्रसको गुणस्तरीयतामा ध्यान दिनुपर्छ । 

जसरी हामी साधारण स्वास्थ्यलाई प्राथमिकता दिन्छौं त्यसैगरी ओरल हेल्थ पनि उत्तिकै जरुरी छ । उपचार गर्नुभन्दा पहिले रोग लाग्नै नदिने बारेमा सोचौं ।

दाँत दुखेपछि मात्र अस्पताल जाने सोच बदल्नुपर्छ । नियमित दन्त परीक्षण, सही ओरल हाइजिन र स्वस्थ खानपानको बानीले अधिकांश दन्त रोग रोकथाम गर्न सकिन्छ । स्वस्थ दाँतले राम्रो मुस्कान मात्र होइन, समग्र स्वास्थ्य पनि राम्रो राख्न मद्दत गर्छ ।

– पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलकी डेन्टल सर्जन मेरिना श्रेष्ठसँगको कुराकानीमा आधारित 

कान्तिपुर

Link copied successfully