सन् २००५ मा नेपालमा जापानीज इन्सेफ्लाइटिसका कारण करिब २ हजार जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश तराईका बालबालिका थिए
काठमाडौँ — वर्षायाम सुरु भएसँगै नेपालमा जापानिज इन्सेफ्लाइटिसको प्रकोप सुरु भएको छ । यसबाट पछिल्लो २० दिनमा १ जनाको मृत्यु र ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । आगामी दिनमा संक्रमणले प्रकोपकै रुप लिनसक्ने भन्दै सर्तकता अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
जापानीज इन्सेफ्लाइटिस मस्तिष्कमा असर गर्ने भाइरल संक्रमण हो, जुन एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका केही देशमा फैलिएको छ । यो लामखुट्टेबाट सर्ने फ्लाभिभाइरस हो, जुन डेंगु, जिका, यल्लो फिभर र वेस्ट नाइल भाइरसकै समूहमा पर्छ ।'जापानीज इन्सेफ्लाइटिसबाट हालै एक जनाको मृत्यु भएको छ । अन्य ३ जनामा संक्रमण पुष्टि भएको छ,' स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमले भने, 'मनसुनका समयमा जापानीज इन्सेफ्लाइटिससहित किटजन्य रोगहरूको संक्रमण बढ्छ जुन हाम्रो लागि अझ चुनौतीपूर्ण हुनेछन् ।'
अधिकारीहरूका अनुसार मृत्यु हुने व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिकाका ७० वर्षीय पुरुष हुन् ।उनले विदेश वा अन्य जिल्लाको भ्रमण गरेका थिएनन् । उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि परिवारको आग्रहमा अस्पतालबाट डिस्चार्ज गरिएको अधिकारीहरूले जनाएका छन् ।
जापानीज इन्सेफ्लाइटिस मस्तिष्कमा असर गर्ने भाइरल संक्रमण हो, जुन एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका केही देशमा फैलिएको छ । यो लामखुट्टेबाट सर्ने फ्लाभिभाइरस हो, जुन डेंगु, जिका, यल्लो फिभर र वेस्ट नाइल भाइरसकै समूहमा पर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसबाट बिरामी परेकामध्ये करिब १ तिहाइको मृत्यु हुन्छ भने बाँचेकामध्ये आधाजसोलाई जीवनभर गम्भीर अपांगता गराउन सक्छ ।
मनसुन सुरु भएपछि हालसम्म सुनसरी, इलाम, सुर्खेत र चितवन गरी ४ जिल्लामा जापानीज इन्सेफ्लाइटिस भाइरसको संक्रमण पुष्टि भैसकेको छ । सन् २०२५ मा ४५ भन्दा बढी जिल्लाका ११७ भन्दा बढी स्थानीय तहमा जापानीज इन्सिफ्लाइटिस फैलिएको थियो भने ४१ जनाको मृत्यु भएको थियो । अन्य १४१ जना संक्रमित भएका थिए । कुल संक्रमितमध्ये २३ प्रतिशतको मृत्यु भएको थियो ।
सन् २०२४ मा काठमाडौं उपत्यकाका १ जनासहित देशभरबाट २३ जनाको जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको थियो । ८० भन्दा बढी संक्रमित भएका थिए ।जापानीज इन्सेफ्लाइटिस कारण मस्तिष्क तथा स्नायु प्रणालीमा दीर्घकालिन रुपमा क्षति हुन सक्छ । यसको कुनै विशेष उपचार नभएकाले चिकित्सकले लक्षणअनुसार उपचार गर्छन् ।
अधिकारीहरूका अनुसार नेपालमा हुने किटजन्य रोगहरूमध्ये सबैभन्दा बढी मृत्यु गराउने रोग जापानीज इन्सेफ्लाइटिस हो ।
जापानीज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन सिफारिस
खोप विज्ञ तथा राष्ट्रिय खोप सल्लाहकार समितिका विज्ञहरूले खोप नलगाएका सबै नागरिकलाई जापानीज इन्सेफ्लाइटिस (जेई)विरुद्ध कम्तीमा एक मात्रा खोप दिन सिफारिस गरेका छन् । उनीहरूका अनुसार खोप नलगाएका व्यक्तिहरू संक्रमण, गम्भीर बिरामी र मृत्यु समेत हुने जोखिम रहन्छ ।
गत वर्षको तथ्यांकले पनि जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुने वा गम्भीर बिरामी हुने अधिकांश व्यक्ति खोप नलगाएकै रहेको देखाएको छ । तथ्यांकअनुसार जेईबाट मृत्यु हुनेमध्ये ७६ प्रतिशत ४० वर्षभन्दा माथिका थिए भने संक्रमितमध्ये करिब ७० प्रतिशत १५ वर्षभन्दा माथिका रहेका छन् । यसको मतलब अधिकांश मृतक र संक्रमितले खोप लगाएका थिएनन् । सरकारले सन् २०१५ मा मात्र जापानीज इन्सेफ्लाइटिसविरुद्धको खोप नियमित खोपमा समावेश गरेको हो । शिशु जन्मेको ११ महिनामा सरकारी स्वास्थ्य संस्थाबाट नियमित रुपमा उपलब्ध गराउँदै आएको छ ।
विज्ञहरूका अनुसार जेईबाट हुने संक्रमण र मृत्यु रोक्न सबैले कम्तीमा १ मात्रा खोप लगाउनुपर्छ । जेई भाइरस संक्रमित क्युलेक्स प्रजातिका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यसैबीच सरकारले जापानीज इन्सेफ्लाइटिसको उच्च जोखिम भएका ११ जिल्लामा खोप अभियान सञ्चालन गर्न यो वर्ष ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार चितवन, कैलाली, तनहुँ, दाङ, झापा, कपिलवस्तु, मोरङ, रुपन्देही, सुनसरी, रौतहट र सर्लाहीमा जेईबाट हुने संक्रमण तथा मृत्यु उच्च रहेकाले ती जिल्लालाई प्राथमिकतामा राखिएको हो।खोप अभियान आगामी अप्रिलअघि सुरु नहुने अधिकारीहरूले बताएका छन् । यसको मतलब यो वर्षमा हुने मृत्युलाई खोप अभियानले रोक्न सक्दैन ।
'जेई खोप कार्यक्रम सुरु गर्नु जति सजिलो ठानिएको छ, त्यति होइन,' डा. गौतमले भने, 'खोप खरिद प्रक्रिया र आपूर्तिमा धेरै समय लाग्छ ।'
सन् २००५ मा नेपालमा जापानीज इन्सेफ्लाइटिसका कारण करिब २ हजार जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश तराईका बालबालिका थिए ।
उच्च संक्रमण र मृत्युदरका कारण नेपालले सन् २००६ देखि जेईविरुद्धको खोप अभियान सुरु गरेको थियो, जुन विश्व स्वास्थ्य संगठनले उक्त खोपलाई पूर्वयोग्यता (प्रिक्वालिफिकेसन) प्रमाणपत्र दिनुभन्दा ८ वर्षअघि हो । पछि दातृ निकाय र विश्व स्वास्थ्य साझेदारहरूको सहयोगमा खोप कार्यक्रम विस्तार गरिएको थियो।
विज्ञहरूका अनुसार जेईबाट हुने संक्रमण र मृत्यु रोक्न सबैले कम्तीमा १ मात्रा खोप लगाउनुपर्छ । जेई भाइरस संक्रमित क्युलेक्स प्रजातिका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । सुँगुर र हाँसपालक किसान तथा धानखेत आसपास बसोबास गर्ने मानिसहरू रोगको उच्च जोखिममा रहने भएकाले चिकित्सकहरूले खोपसँगै जनचेतनामूलक अभियान सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।
