सबैभन्दा धेरै बंगलादेशबाट पढेर आएकाहरू अनुत्तीर्ण भएका छन्, ३६७ सहभागी भएकामा २१६ जना अर्थात् ५९ प्रतिशत फेल भए ।
What you should know
काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले यस वर्षको लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा विदेशबाट अध्ययन गरेर आएका विद्यार्थीमध्ये ३४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
परीक्षामा स्वदेशका मेडिकल कलेजमा अध्ययन गर्नेहरुको उत्तीर्ण प्रतिशत भने ७६ छ । यो नतिजाले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आएका विद्यार्थीहरु कमजोर रहेको देखाएको छ ।
यहीँका कलेजमा पढेकामध्ये १२ सय ६४ जना सहभागी भएकामा ९ सय ६३ जना उत्तीर्ण भएका छन् भने विदेशबाट पढेर आउने ५ सय ८३ मध्ये १ सय ९९ जना मात्रै उत्तीर्ण भए ।
लाइसेन्स परीक्षामा कुल १ हजार ८ सय ३७ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये उत्तीर्ण हुने ६३.५ प्रतिशत छन् ।
भारत, चीनसहित १० वटा देशबाट एमबीबीएस पूरा गरेका फर्केका अधिकांश नेपाली विद्यार्थी लाइसेन्स परीक्षामा फेल भएका छन् । चीनबाट एमबीबीएस पूरा गरेर परीक्षामा सहभागी १ सय ३३ मध्ये २० जना अर्थात् १५ प्रतिशत र भारतमा पढेर आएका २६ मध्ये ११ जना अर्थात् ४२ प्रतिशत उत्तीर्ण भएका छन् ।
सबैभन्दा धेरै बंगलादेशबाट पढेर आएकाहरु अनुत्तीर्ण भएका छन् । ३ सय ६७ जना परीक्षामा सहभागी भएकामा २ सय १६ जना अर्थात् ५९ प्रतिशत फेल भए । यस्तै, पाकिस्तानबाट ६ जनामध्ये ४ जना पास भएका छन् भने फिलिपिन्सबाट पढेर आएका ४२ जना सहभागी भएकामा २९ जना अर्थात् ७२ प्रतिशत फेल भएका छन् । साउदी अरबमा पढेर आएका एक जना भने परीक्षामा पास भए ।
विदेशबाट मेडिकल शिक्षा पूरा गरेर आएका विद्यार्थी लाइसेन्स परीक्षामा यति धेरै फेल हुनुले विदेशको चिकित्सा शिक्षाको गुणस्तरीयताप्रति नै प्रश्न उब्जिएको चिकित्सा शिक्षाका जानकारहरुको भनाइ छ ।
चिकित्सा शिक्षाविद् कृष्ण अधिकारी बिरामीको स्वास्थ्यसँग जोडिने भएकाले योग्यता नपुगेकालाई उत्तीर्ण गर्न नमिल्ने बताउँछन् । 'सम्बन्धित देशको शैक्षिक मापदण्ड, त्यहाँको आवश्यक परीक्षा पास गर्नुपर्ने अनि नेपाल फर्किएपछि यहाँको लाइसेन्स परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने हुन्छ,' उनले भने, 'यसरी हेर्दा दुई–तीन तहका मापदण्ड र लाइसेन्स प्रक्रियाबाट गुज्रिनुपर्ने हुन्छ । किनभने चिकित्सकहरूले प्रत्यक्ष रूपमा बिरामीको स्वास्थ्यसँग सम्बन्धित काम गर्ने भएकाले जो कोहीलाई वा जस्तोसुकै गुणस्तरको व्यक्तिलाई अनुमति दिन मिल्दैन । गुणस्तरमा सम्झौता गरियो भने त्यसको प्रत्यक्ष असर नेपाली नागरिकको स्वास्थ्यमा पर्न सक्छ ।'
दन्त चिकित्सा विज्ञान अर्थात् बीडीएसमा नेपालका मेडिकल कलेजबाट सहभागी ४ सयमध्ये ३ सय ४३ जना अर्थात् ८५ प्रतिशत पास भएका छन् । बंगलादेश, भारत र फिलिपिन्सबाट सहभागी ३४ जनामध्ये १० जना पास र २३ जना फेल भएका छन् भने एकजना अनुपस्थित भएका थिए ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार दीपेन्द्र पाण्डे अहिले उत्तीर्ण प्रतिशत कम देखिएपछि लाखौँ रुपैयाँ खर्च गरेर विदेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थी, उनीहरूका अभिभावक तथा शैक्षिक परामर्शदाताहरूले पनि सोच्नुपर्ने अवस्था आएको बताउँछन् । 'विदेशमा मेडिकल अध्ययनका लागि जाने विद्यार्थीको न्यूनतम योग्यता पर्याप्त छ कि छैन, त्यसको पुनर्मूल्यांकन गर्नुपर्छ कि भन्ने प्रश्न उठेको छ,' उनले भने, 'साथै, सम्बन्धित मेडिकल कलेजहरूको पाठ्यक्रम र चिकित्सा शिक्षाको गुणस्तर तथा सिकाइ–सिकाउने प्रक्रिया कस्तो छ भन्ने विषयमा पनि समीक्षा गर्नुपर्ने बहस सुरु भएको छ ।'
काउन्सिलले लिएको लाइसेन्स परीक्षा उत्तीर्ण नभएसम्म चिकित्सा शिक्षा पूरा गरे पनि अभ्यास भने गर्न पाइँदैन । त्यसैले काउन्सिलले लिने लाइसेन्स परीक्षालाई गुणस्तर परीक्षणको रुपमा समेत लिने गरिएको छ ।
