स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्यांक सबैका लागि चिन्ताको विषय बनेको बताइन् ।
काठमाडौँ — स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन् ।
‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न संकल्पका लागि आग्रहसमेत गरिन् ।
सन्देशमा मन्त्री मेहताले भनेकी छन्, 'सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ ।'
मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छन् । सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत उनले बताइन् ।
मेहताले ईसिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विशाक्त तत्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गरेकी छन् ।
सुर्तीजन्य पदार्थको प्रयोग गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको भन्दै उनले नेपालमा करिब २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेको बताइन् । 'देशमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्यांक अत्यन्त दुःख र सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।'
नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं : कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ ।
