कम्तीमा ४ पटक गर्भ जाँच गराउने गर्भवती महिलाको संख्या सन् २०११ मा ५० प्रतिशत रहेकोमा हाल ८८ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
What you should know
काठमाडौँ — आर्थिक सर्वेक्षणले मातृ मृत्युदर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखाएको छ ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला, पूर्ण रुपमा खोप लगाउने बालबालिकाको संख्या वृद्धि भएको सरकारले सार्वजनिक गरेको सर्वेक्षणको तथ्यांकले औंल्याएको छ । ‘मातृ मृत्युदरमा उल्लेखनीय सुधार भएको छ । नवजात शिशु मृत्युदर, शिशु मृत्युदर तथा ५ वर्षमुनिको बाल मृत्युदर घटेको छ । स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको छ,’ सर्वेक्षणमा भनिएको छ ।
सन् २००० अघि मातृ मत्युदर (प्रतिलाख जीवित जन्ममा) ५३९ रहेकोमा हाल १५१ रहेको उल्लेख छ । नवजात शिशु मृत्युदर सन् २०११ मा ३३ बाट घटेर प्रति हजार जीवित जन्ममा १७ पुगेको छ । पूर्ण रुपमा खोप लगाउने बालबालिका ९२ प्रतिशत पुगेका छन् । स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ९० प्रतिशत रहेका छन् । सन् २०११ मा ३५ प्रतिशत महिलाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने गरेको तथ्यांक थियो । कम्तीमा ४ पटक गर्भ जाँच गराउने गर्भवती महिलाको संख्या सन् २०११ मा ५० प्रतिशत रहेकोमा हाल ८८ प्रतिशत पुगेको सर्वेक्षणमा उल्लेख छ । ‘शिशु मृत्युदर सन्न २०११ को ४६ (प्रति हजार जीवित जन्ममा) बाट २०२५ मा २७ मा घटेको छ । त्यसैगरी ५ वर्षमुनिको बाल मृत्युदर ५४ बाट २०२५ मा ३१ मा (प्रति हजार जीवित जन्ममा) घटेको छ,’ आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
२०८१ फागुनदेखि २०८२ फागुनसम्म २ सय ३० वटा सरकारी स्वास्थ्य संस्था थप भएको छ । त्यतिबेला ८ हजार ७ सय ४६ सरकारी स्वास्थ्य संस्था रहेकोमा २०८२ फागुनसम्म ८ हजार ९ सय ७६ पुगेको छ । अस्पतालको संख्या ३४५ बाट ४२० पुगेको छ । त्यस्तै, प्राथमिक स्वास्थ्य चौकीको संख्या १४९ बाट १८१ पुगेको छ । स्वास्थ्य चौकीको संख्या भने घटेको छ । ३ हजार ७ सय ४१ बाट ३ हजार ६ सय ३ वटा भएको हो ।
