महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा म्याद गुज्रिनेगरी अस्पतालमा औषधि थन्किएको भेटिएको हो ।
काठमाडौँ — अस्पतालका गोदाममा ९ करोड ७ लाख रुपैयाँबराबरको औषधि म्याद गुज्रिएको अवस्थामा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा म्याद गुज्रिनेगरी अस्पतालमा औषधि थन्किएको भेटिएको हो ।
स्वास्थ्य सेवा विभागमा अघिल्ला वर्षहरूमा खरिद गरिएका २८ प्रकारका औषधिको म्याद सकिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसअन्तर्गत,४ करोड ७२ लाख २० हजार मूल्य बराबरका औषधि रहेको जनाइएको छ । साथै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पनि ६ प्रकारका औषधिको म्याद सकिएको पाइएको छ । जसको मूल्य ४७ लाख ७० हजार रुपैयाँ रहेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का ६०१ प्रकारका औषधि म्याद सकिएको छ । जसको मूल्य १ करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ करोड १९ लाख ९६ हजार रुपैयाँबराबरको औषधिको म्याद गुज्रिएको छ ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका १ करोड २३ लाख ५६ हजार मूल्य बराबरका औषधि तथा कीट म्याद समाप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्य संस्थाहरूले आपूर्तिकर्ताबाट खरिद गरेका औषधिहरू म्याद समाप्त भई, फुटफाट भई वा अत्यधिक मौज्दातका कारण प्रयोग हुन नसक्ने अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ । सम्झौताअनुसार यस्ता औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गरिनुपर्ने हुन्छ ।
