नेपालमा हरेक वर्ष विषालु जंगली च्याउ सेवनबाट तीन दर्जनभन्दा बढी मानिसको मृत्यु हुने र सयौं बिरामी पर्ने अनुमान गरिएको छ ।
What you should know
काठमाडौँ — दुई दिनअघि झापामा एउटै परिवारका नौ बालबालिकासहित ११ जना नजिकैको जंगलबाट टिपेर ल्याइएको च्याउ खाएपछि बिरामी परे । उनीहरूलाई तत्काल अस्पताल पुर्याइएपछि मानवीय क्षति भने हुन पाएन ।
मनसुन नजिकिँदै जाँदा जंगल र घाँसे मैदानमा उम्रिने जंगली तथा विषालु च्याउ खाँदा हुने विषाक्तता र मृत्युका घटना बढ्न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् ।
‘यो त सुरुवात मात्र हो, जंगली च्याउ खाएर मानिस बिरामी पर्ने र अस्पताल भर्ना हुने क्रम सुरु भइसकेको छ,’ च्याउ विज्ञ डा. हरिप्रसाद अर्यालले भने, ‘आगामी दिनमा जंगली च्याउका कारण हुने विषाक्तता र मृत्युका घटना अझ बढ्नेछन् ।’
नेपालमा हरेक वर्ष विषालु जंगली च्याउ सेवनबाट तीन दर्जनभन्दा बढी मानिसको मृत्यु हुने र सयौं बिरामी पर्ने अनुमान गरिएको छ । तर, सरकार वा सम्बन्धित निकायले यस विषयलाई गम्भीर रूपमा लिएको देखिँदैन ।
अझ विशेष चिन्ताको विषय त के छ भने जंगली च्याउका कारण हुने मृत्यु, अस्पताल भर्ना तथा विषाक्तताका घटनालाई विपद्को परिभाषाभित्र राखिएको छैन । त्यसैले यस्ता घटनाको छुट्टै अभिलेखसमेत राखिँदैन ।
‘हामीले जंगली च्याउको विषाक्तता र त्यसबाट हुने मृत्युको अभिलेख नराख्ने भएकाले वर्षमा कति मानिस मर्छन् वा बिरामी पर्छन् भन्ने तथ्यांक नै छैन,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्, ‘विषालु च्याउ र त्यसबाट हुने मृत्यु पनि विपद्का घटना हुन्, तर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ मा समावेश गरिएको छैन ।’
विज्ञहरूका अनुसार विषालु च्याउ खाएर बिरामी पर्ने वा ज्यान गुमाउने अधिकांश मानिस अत्यन्त गरिब समुदायका हुन्छन् । यही कारण राज्यले यसलाई प्राथमिकतामा नराखेको हुनसक्ने उनीहरूको भनाइ छ ।
‘यस्ता मानिस जंगल आसपास बस्छन् र प्रायः घरमा खाद्यान्न अभाव हुन्छ,’ जंगली च्याउमा हुने विषाक्तताबारे विस्तृत अध्ययन गरेका अर्यालले भने, ‘यस्ता घटना पूर्वदेखि पश्चिमसम्म जहाँसुकै पाइन्छन् । उनीहरू परिणामको ख्याल नगरी आफैं र आफ्ना परिवार तथा बालबालिकालाई पनि जंगली च्याउ खुवाउँछन् ।’
अध्ययनअनुसार नेपालमा १ हजार २ सय ९१ प्रजातिका जंगली च्याउ पाइन्छन्, जसमध्ये १ सयभन्दा बढी विषालु छन् । गरिब तथा सीमान्तकृत समुदायमा रहेको खाद्य असुरक्षाले उनीहरूलाई मृत्युको उच्च जोखिममा पारेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
विज्ञहरूका अनुसार जंगली च्याउ सेवनको जोखिमबारे जनचेतना अभियान सञ्चालन गर्न सके विषाक्तताका घटना घटाउन सकिन्छ । साथै, मानिसहरूले ज्यानकै जोखिम मोलेर किन जंगली च्याउ खान बाध्य छन् भन्ने मूल कारण पनि खोज्नुपर्ने उनीहरूको सुझाव छ ।
‘हरेक वर्ष यति धेरै मृत्यु र अस्पताल भर्नाका घटना हुँदा पनि हाम्रो कानुनले जंगली च्याउ विषाक्ततालाई विपद्का रूपमा मान्दैन,’ महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकारी डा. अमृत पोखरेलले भने, ‘यसलाई जनस्वास्थ्यसम्बन्धी घटना मान्न सकिन्छ, तर विपद् भने होइन ।’
पोखरेलका अनुसार उपचारको सफलता बिरामी कति छिटो अस्पताल पुग्छ, च्याउ कति विषालु थियो, कति मात्रामा खाइयो र स्वास्थ्य संस्थाको अवस्था कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ ।
‘विषालु च्याउका विषाक्त तत्व पकाएपछि पनि नष्ट हुँदैनन्, किनभने ती तापप्रतिरोधी हुन्छन्,’ पोखरेलले भने, ‘जंगली च्याउ कहिल्यै नखानुहोस्, यो जोखिमपूर्ण र घातक हुन सक्छ ।’
विज्ञहरूका अनुसार रंगीचंगी च्याउ विषालु हुने सम्भावना बढी हुन्छ । अध्ययनले च्याउले दूषित माटोबाट हाइड्रोकार्बन, पारा र सिसाजस्ता विषाक्त तत्व सजिलै सोस्ने क्षमता राख्ने देखाएको छ । एक समय खानयोग्य मानिएका च्याउ पनि माटोमा भारी धातुको प्रदूषणका कारण विषालु बन्न सक्ने विज्ञहरूको भनाइ छ ।
विषालु च्याउ सेवनपछि बिरामीमा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने र शरीर काम्ने समस्या देखिन्छ । केहीमा भ्रम देखिने, मिर्गौला फेल हुने समस्या पनि हुन सक्छ । गम्भीर अवस्थामा कलेजो फेल भएर मृत्यु समेत हुन सक्छ ।
चिकित्सकहरूले च्याउ खाएपछि बान्ता वा पेट दुख्ने समस्या देखिए घरमै बसेर लक्षण कम हुने प्रतीक्षा नगर्न आग्रह गरेका छन् । उपचारमा ढिलाइ हुँदा मृत्युको जोखिम बढ्ने उनीहरूको चेतावनी छ ।
