मन्त्री मेहताले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्न आग्रह गरिन्
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपन्छी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताएकी हुन् । 'मानव, पशुपंक्षी र वातावरणले एकअर्कासँग घनिष्ट रूपमा जोडिएको विषय भएकोले जबसम्म प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ रहँदैनन् तबसम्म हामी पनि पूर्ण रूपले स्वस्थ रहन सक्दैनौँ । त्यसैले जनस्वास्थ्य, कृषि तथा पशुपंक्षी र वातावरण क्षेत्रबीच सहकार्य अति नै जरुरी छ,' उनले भनिन् ।
वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धित रोगहरू, क्यान्सर, मुटुरोग, मस्तिष्कघात जस्ता नसर्ने रोगहरू बढिरहेको उनले बताइन् । त्यस्तै एन्टिमाइक्रोबियल औषधिको अत्यधिक र जथाभाबी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को ठूलो संकट निम्त्याएको भन्दै मन्त्री मेहताले यसको समाधानका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् ।
मन्त्री मेहताले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्न आग्रह गरिन् । यस वर्षको विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपन्छी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ ।
