वीर अस्पतालमा महिलालाई निःशुल्क क्यान्सर परीक्षण सुरू

महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । 

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Free cancer screening for women begins at Bir Hospital

काठमाडौँ — आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क क्यान्सर परीक्षण सुरू गरिएको छ ।   

काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा सोमबार अस्पतालमा आयोजित कार्यक्रममा महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण सुरू गरिएको हो ।

क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षण शुभारम्भमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने बताइन् । 'जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ,' उनले भनिन् । सोही क्रममा उनले आफ्नो पनि क्यान्सर परीक्षण गराइन् । 

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको उल्लेख गरे । 

अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिलिप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए । 

महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले देशभरिका जोसुकै महिलाले अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सक्ने बताए । उनका अनुसार क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण (रिफर) पुर्जी लिएर अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सकिनेछ । महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । 

कान्तिपुर

Link copied successfully