सर्ट भिडियो अत्यधिक प्रयोग गर्ने बानीले एकाग्रता र आवेग नियन्त्रण कठिन हुने
काठमाडौँ — आजकल धेरै मानिसहरु मोबाइलमा सर्ट भिडियो वा रिल्स स्क्रोल गर्न रुचाउँछन् । तर, नयाँ अनुसन्धानले यो बानीले हानी गर्नसक्ने देखाएको छ ।
फ्रन्टियर्स इ ह्युमन न्युरोसाइन्समा प्रकाशित ‘मोबाइल फोनको सर्ट भिडियो प्रयोगले एकाग्रतामा नकारात्मक असर’ शीर्षकको इइजी प्रतिवेदनले कमजोर एकाग्रता र धैर्यताको कमीलाई सर्ट भिडियो हेर्ने बानीसँग जोडेको हो । यस्ता कन्टेन्ट हानिकारक छैनन् भन्ने दृष्टीकोणलाई यस अध्ययनले चुनौती दिएको छ ।
चीनको झेजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ४८ स्वस्थ व्यक्तिको इलेक्ट्रोइन्सेफालोग्राम (ईईजी) डाटा विश्लेषण गर्दै ध्यान परीक्षण गरे । जसले छोटो भिडियो हेर्ने बानी बढ्दै जाँदा स्वः नियन्त्रण (योजना, ध्यान र विचलनबाट रोक्ने क्षमता) कमजोर हुने देखायो ।
निरन्तर एकाग्रता र आवेग नियन्त्रण कठिन हुने जोखिम अनुसन्धानले उजागर गरेको छ ।
भारतको निमहान्सका क्लिनिकल साइकोलोजी प्राध्यापक क्लिनिक प्रमुख डा. मनोजकुमार शर्माले भने, ‘छोटो भिडियोले मस्तिष्कको प्रणालीलाई पटक–पटक उत्तेजित गर्छ । यसले वास्तविक कामहरूलाई खल्लो बनाइदिन्छ । यसको प्रयोग नियन्त्रण नगरे समस्या देखिन्छ ।
अनुसन्धानकर्ताहरुले मोबाइलको सिमित प्रयोग गर्न, सुत्नुअघि स्क्रोल नगर्न, माइन्डफुलसेनजस्ता मानसिक तालिम लिन सुझाएका छन् ।
