अमेरिकाको न्यूयोर्क विश्वविद्यालय ल्याङ्गोन हेल्थका वैज्ञानिकहरूले गरेको अध्ययनमा प्रोस्टेट क्यान्सर भएको ट्युमरभित्र माइक्रोप्लास्टिक भेटिएको हो ।
What you should know
काठमाडौं — प्रोस्टेट क्यान्सर ट्युमरको भित्री भागमा अनुसन्धानकर्ताहरूले माइक्रोप्लास्टिक भेटेका छन् । ट्युमरभित्र माइक्राेप्लास्टिक भेटिएसँगै प्रदूषणबाट जनस्वास्थयमा पर्ने असरलाई थप उजागर गरेको छ । अमेरिकाको न्यूयोर्क विश्वविद्यालय ल्याङ्गोन हेल्थका वैज्ञानिकहरूले गरेको अध्ययनमा प्रोस्टेट क्यान्सर भएको ट्युमरभित्र माइक्रोप्लास्टिक भेटिएको हो ।
अमेरिकी क्यान्सर उपचार तथा क्यान्सर विज्ञान विशेषज्ञहरूको संस्थाले आयोजना गरेको ‘मूत्र तथा प्रजनन् अङ्गसम्बन्धी क्यान्सर’ सम्मेलनमा अनुसन्धानबाट प्राप्त तथ्य प्रस्तुत गरिएको थियो । अनुसन्धानमा औसत ६५ वर्ष उमेरका प्रोस्टेट क्यान्सरपीडित १० जना पुरुषको नमूनाको विश्लेषण गरिएको थियो ।
उपचारका क्रममा शल्यक्रियाबाट निकालिएपछि क्यान्सर भएको ट्युमरकाे भाग र अर्को क्यान्सर नभएको भागबाट नमूना लिइएको थियो । क्यान्सर भएको ट्युमरमा क्यान्सर नभएको ट्युमरभन्दा औसत रूपमा करिब साढे दुई गुणा बढी प्लास्टिक फेला परेकाे जनाइएको छ । ट्युमरमा प्रतिग्राम करिब ४० माइक्रोग्राम माइक्रोप्लास्टिक भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा न्यूयोर्क विश्वविद्यालय ल्याङ्गोन स्वास्थ्य केन्द्रमा कार्यरत मूत्ररोग विशेषज्ञ डा. स्टेसी लोएबले ट्युमरमा यति धेरै माइक्रोप्लास्टिक भेटिनु ‘अत्यन्तै आश्चर्यजनक र चिन्ताजनक' भएको बताइन् । उनले भनेकी छन्, ‘यसले प्रोस्टेट क्यान्सर विकाससँग माइक्रोप्लास्टिकको सम्भावित सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ, यस विषयमा थप बिरामी समेटेर अध्ययन जारी राखिनेछ । ’
यसअघि सन् २०२४ मा ‘द ल्यान्सेट पत्रिका’मा प्रकाशित चीनका अनुसन्धानकर्ताहरूको अध्ययनले पनि प्रोस्टेट ट्युमरमा प्लास्टिक भेटिएको जनाएका थिए ।
एम डी एन्डरसन क्यान्सर केन्द्रका जिनोमिक चिकित्साशास्त्र विभागका सहप्राध्यापक डा. आन्द्रेआ भियालेले ट्युमरमै माइक्रोप्लास्टिक भेटिनु सार्वजनिक स्वास्थ्यका दृष्टिले गम्भीर विषय भएको बताएका छन् । उनले भनेका छन् ‘यसले के असर गरिरहेको छ भन्ने पूर्ण रूपमा नबुझे पनि शरीरभित्र यस्तो पदार्थ हुनु आफैमा चिन्ताको विषय हो ।’
अनुसन्धानकर्ताहरूका अनुसार माइक्रोप्लास्टिकले प्रोस्टेटका कोषिकामा सुजन बढाउन, अक्सिडेटिभ क्षति गराउन तथा प्लास्टिकमा पाइने सम्भावित क्यान्सरका कारक रसायनहरू शरीरभित्र पुर्याउन भूमिका खेल्न सक्छ । यद्यपि, प्लास्टिकका प्रकार, आकार र रासायनिक संरचना धेरै हुने भएकाले यसले क्यान्सरमा कस्तो भूमिका खेल्छ भन्ने यकिन गर्न थप विस्तृत अनुसन्धान आवश्यक रहेको उनीहरूको निष्कर्ष छ ।
अमेरिकी क्यान्सर समाजका अनुसार अमेरिकामा करिब आठमध्ये एक पुरुषलाई प्रोस्टेट क्यान्सर हुने सम्भावना रहन्छ । पछिल्लो दशकमा ढिलो चरणमा रोग पत्ता लाग्ने दर पनि निरन्तर बढ्दै गएको छ ।
