लिडले आईक्यु कमजोर हुने, व्यबहारजन्य समस्या देखिने, बालविकास विकास रोकिने, किड्नीमा क्षति पुग्ने, हाइपर्टेन्शन, बाँझोपनलगायत समस्या देखिने गरेका छन् ।
What you should know
काठमाडौँ — गाजल, सिन्दूर, दन्तमञ्जनसहित विभिन्न कस्मेटिक उत्पादनमा ठूलो परिमाणमा लिड भेटिएको जनस्वास्थ्य तथा वातावरणीय विकास केन्द्र (सिईपिएचईडी) को नयाँ अध्ययनले देखाएको छ ।
परीक्षण गरिएका नमुनामध्ये ३१ प्रतिशतमा पहिचान गर्न सकिनेगरी नै लिड देखिएको थियो । त्यस्तै २४ प्रतिशतमा अमेरिका र क्यानेडाले तय गरेका १ पीपीएमको सुरक्षा मापदण्डभन्दा धेरै लिड रहेको पाइयो । लिड एक हानीकारक धातु हो ।
२७ प्रतिशतले युरोपेली युनियनको मापदण्ड ० दशमलव ५ पीपीएम पार गरेको भेटियो । लिड पोइजनिङ एलिमिनेशन प्रोजक्ट (एलईईपी, अमेरिका) सँगको सहकार्यमा यो अध्ययन गरिएको थियो ।
शुक्रबार सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार १६ प्रतिशत नमुनाले नेपालको १० पीपीएम सीमाको गुणस्तर मापदण्डसमेत पार गरेको देखियो ।
‘हामीसँग यस्ता उत्पादनको नियमन गर्ने कुनै संयन्त्र छैन । जबकी, दशौं लाख मानिसले यसलाई प्रयोग गर्छन्,’ सिईपिएचईडीमा कार्यकारी निर्देशक रहेका वातावरण वैज्ञानिक राम चित्र शाहले बताए, ‘हाम्रो अध्ययनले अवस्था चुनौतीपूर्ण रहेको देखाउँछ । जनस्वास्थ्यको रक्षा गर्नका लागि अधिकारीहरुले पहल थाल्नुपर्ने जरुरी छ ।’
लिड र हेभी मेटलको विष नेपालमा एउटा गम्भीर समस्याका रुपमा देखिएको छ । लिडले आईक्यु कमजोर हुने, व्यबहारमा समस्या देखिने, बालविकास विकास रोकिने, किड्नीमा क्षति पुग्ने, हाइपर्टेन्शन, बाँझोपनलगायत समस्या देखिने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले लिडको प्रयोग सुरक्षित नहुने बताएको छ । विशेषगरी यसको प्रभाव बालबालिकामा खरा देखिने गरेको छ ।
यसअघि खाद्यान्न, आयुर्वेदिक औषधि र भान्छामा प्रयोग हुने बेसारजस्ता सामाग्रीमा मर्करी, आर्सेनिक, क्याडमियमलगायत पदार्थ भेटिएको थियो । यस रिर्पोटले चर्चित ब्रान्डहरुमा पनि उच्च स्तरको लिड रहेको देखाउँछ ।
परीक्षण भएका उत्पादनमध्ये सिन्दुरका अधिकांश नमुनामा लिड भेटियो । झन्डै ४० प्रतिशत नमुनामा लिड भेटिएको थियो । केहीमा १ सय २४ दशमलव ७३ पीपीएमसम्म लिड भेटियो ।
सिन्दूरका ८१ प्रतिशतभन्दा नमुना युरोपेली मापदण्डको ० दशमलव ५ पीपीएमभन्दा माथिका थिए । मम्ता सिन्दूर नामक ब्रान्डमा १ सय १५ दशमलव ९३ पीपीएम लिड भेटियो ।
परीक्षण गरिएका ४५ प्रतिशत टुथपेस्टमा लिड भेटियो । केहीमा ५१ दशमलव २८ पीपीएमसम्म लिड भेटिएको थियो । हिमालय किड्स अरेन्ज टुथपेस्टमा १ दशलमव २६ पीपीएमसम्म लिड भेटियो, जो तोकिएको मापदण्डभन्दा धेरै हो ।
कोलगेट, पेप्सोडेन्ट, डाबर रेड, दन्तकाली र क्लोभ क्याभिटी प्रोटेक्सन टुथपेस्टमा पनि तोकिएको मापदण्डभन्दा धेरै स्तरको लिड भेटियो ।
यस्ता टुथपेस्टले दुईपटक दैनिक ब्रस गर्दा दीर्घकालीन समस्या देखिने विज्ञहरुले चेतावनी दिएका छन् । विशेषगरी बच्चामा देखिन्छ, किनकी उनीहरुले ब्रस गर्दा टुथपेस्ट पनि निल्ने गर्छन् ।
‘दैनिक दुईपटक प्रयोग गर्दा हानी धेरै हुनछ । वयस्कको दाँजामो बालबालिकाले टुथपेस्ट, सिन्दुर र गाजल ४–५ गुणा धेरै सोस्छन् ,’ रिपोर्टले भनेको छ ।
गाजलका नमुनामध्ये एउटामा ३ दशमलव ४५ प्रतिशत लिड पोजेटिभ देखिएको छ । तर, अनुसन्धानकर्ताहरुले गाजलले धेरै जोखिम निम्त्याउने बताएका छन् । किनकी, यसलाई म्युकोजल सतहनजिक लगडाउने गरिन्छ
। नेपालमा लामो समयदेखि बालबालिकालाई अभिभावकले गाजल लगाइदिने गरेका छन् । प्रान्तका आधारमा हेर्दा बागमति प्रदेशमा लिडको संक्रमण सबैभन्दा धेरै देखिएको छ ।
काठमाडौं उपत्यकामा संकलन गरिएकामध्ये ४२ दशमलव ५ प्रतिशत नमुना लिड पोजेटिभ देखिएका छन् । त्यसैगरी गण्डकीमा २६ दशमलव ३ प्रतिशत, कोशीमा २१ दशमलव ७ प्रतिशत र मधेस प्रदेशमा २२ दशमलव २ प्रतिशत नमुना पोजेटिभ देखिएका छन् ।
विज्ञहरुले लिडसँगको लामो सम्पर्कले बालबालिकामा आईक्यु कमजोर हुने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, आक्रामक व्यवहार देखिने, वृद्धि विकासमा बाधा सिर्जना हुनेलगायत समस्या देखिने बताएका छन् । त्यसैगरी वयस्कमा हाइपर्टेन्शन, बाँझोपन, गर्भाअवस्थाको पूर्ण अवधि नपुग्दै बच्चा जन्मने, कम तौलको बच्चा जन्मनेलगायत समस्या देखिनसक्छ ।
सिन्दूरको दैनिक प्रयोग गर्दा छालाले लिडलाई शोषण गर्दछ । हड्डीहरूमा दशौं वर्षसम्म संग्रहित भएको लिड गर्भावस्था र स्तनपानको दौरान सक्रिय हुन सक्छ र यसले समस्या सिर्जना गर्दछ ।
सिईपिएचईडी सरकारलाई १ पीपीएम भन्दा कम लिड सीमा लागू गर्न, नियमित बजार अनुगमन गर्न, तेस्रो९पक्ष परीक्षण अनिवार्य गर्न र उच्च जोखिम भएका आयातहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ।'यी उत्पादनहरूमा लिडको उपस्थिति पूरै रोक्न सकिन्छ। सौन्दर्य सामाग्री वा टुथपेस्टमा लिड राख्नुपर्ने कुनै आवश्यकता नै छैन,' शाहले भने ।
