स्वास्थ्य बिमा दाबी पुनरावलोकन समितिमार्फत गर्न बोर्डको निर्देशन

स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै सबै संस्थालाई दाबी माग गर्दा अनिवार्य रुपमा रियल टाइम प्रणलीमार्फत विवरण पेस गनुपर्ने जनाएको हो ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Board directs to conduct health insurance claims review through a committee

काठमाडौँ — स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दाबी भुक्तानीहरु पुनरावलोकन समितिमार्फत प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

प्रदायक स्वास्थ्य संस्थालाई दाबी भुक्तानीसम्बन्धी प्रक्रिया थप कडाइका साथ पालना गर्नुपर्ने निर्देशन दिएको छ । स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै सबै संस्थालाई दाबी माग गर्दा अनिवार्य रुपमा रियल टाइम प्रणलीमार्फत विवरण पेस गनुपर्ने जनाएको हो । 

स्वास्थ्य बिमा नियमावली,२०८० अनुसार तय गरिएको दाबी दर्ता तथा मूल्यांकन प्रक्रियाअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी पेस गर्नुअघि अनिवार्य रुपमा बोर्डको स्वीकृति लिनुपर्नेछ । 

यस व्यवस्थाको उद्देश्य दाबी मूल्यांकन प्रक्रियालाई वैज्ञानिक,पारदर्शी र प्रभावकारी बनाउने बोर्डले जनाएको छ । सूचनामा उल्लेख गरिएअनुसार तोकिएको मापदण्ड  र प्रक्रिया अनुसार पूर्वस्वीकृति नलिई सेवा प्रदान गरी पेस गरिएको दाबीहरु भुक्तानीयोग्य नहुने जनाएको छ । साथै, दाबी माग खर्च समितिको निर्णयअनुसार मात्रै दाबी भुक्तानी प्रक्रिया अघि बढाउने जनाएको हो । 

स्वास्थ्य बिमा बोर्डको सेवा प्रदायक स्वास्थ्य सबै संस्थाहरुलाई प्रचलित नियम,मापदण्ड तथा प्रक्रियाको पूर्ण पालना गर्न आग्रह गरेको छ । मापदण्ड विपरीतका दाबीहरु भुक्तानी गर्न स्वास्थ्य बिमा बोर्ड बाध्य नहुने वा भुक्तानी अस्वीकृत हुने जनाएको छ । 

कान्तिपुर

Link copied successfully