निपाह भाइरसको जोखिम बढेपछि सरकारले बढायो सीमा नाकाहरूमा निगरानी

स्वास्थ्य मन्त्रालयले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको बताउँदै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकेको छ ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Government increases surveillance at border checkpoints as Nipah virus risk increases

What you should know

काठमाडौँ — छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ।

भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको हो। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए। उनले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको बताउँदै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको बताए।

प्रवक्ता बुढाथोकीले निपाह भाइरसको संक्रमण चमेरो, सुंगुर र संक्रमित व्यक्तिबाट फैलिने बताउँदै भने, 'यी तीन चीजलाई मध्यनजर गरेर नागरिकलाई पनि निपाह भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसलाई केही समय क्वारेन्टाइनमा राख्ने र उनीहरूको सम्पर्कमा नजाने भनेर सचेतना फैलाइरहेका छौँ।'

केही दिनअघि मात्रै महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई निपाह भाइरसका लक्षण देखिएका बिरामी र त्यस्ता लक्षणबाट मृत्यु भएका व्यक्तिको विषयमा जानकारी दिन निर्देशन दिएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार निपाह भाइरस लागेका व्यक्तिमा ३ देखि १४ दिनसम्म लक्षणहरू विकास भइसकेको हुन सक्छ। यस अवधिमा ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या लगायत लक्षण देखिन सक्छन्। केही व्यक्तिमा मस्तिष्क सुन्निने पनि हुनसक्छ। गम्भीर अवस्थामा भ्रम, थकान र सिजर पनि हुन सक्छ।

केही घटनामा बिरामीहरू २४ देखि ४८ घण्टासम्म कोमामा पुग्न पनि सक्ने चिकित्सकहरूले बताएका छन्। यस रोगले ज्यान लिने जोखिम ४० देखि ७० प्रतिशतसम्म रहेको डब्ल्युएचओले जनाएको छ। कोरोना भाइरसजस्तै निपाह भाइरस पनि जोनोटिक भाइरस भएको डाक्टरहरूले बताउँछन्। तर, कोरोना भाइरसको तुलनामा यो धेरै प्राणघातक छ। प्रायः अवस्थामा संक्रमित जनावरमार्फत मानिसमा यो रोग सर्न सक्छ। संक्रमित जनावरको मासु खानाले पनि रोग फैलिन्छ। चमेरोबाट यो भाइरस सर्नसक्ने जोखिम बढी रहन्छ।

सन् १९९९ मा पहिलोपटक निपाह भाइरसको पहिचान भएको थियो। मलेसिया र सिंगापुरमा संक्रमित सुंगुरसँगको सम्पर्कमा पुगेका मानिसमा श्वासप्रश्वास र मस्तिष्क सुन्निने समस्या देखिएको थियो।

भारतको पश्चिम बंगालमा सन् २००१ मा निपाह भाइरसको महामारी फैलँदा ६६ जना संक्रमित भएका थिए। ४५ जनाको निधन भएको थियो। सन् २००७ मा फेरि यो महामारी दोहोरियो। यस पटक ५ जना संक्रमितमध्ये सबैको मृत्यु भएको थियो। सन् २०१८ मा केरलामा यस भाइरसले १७ जनाको ज्यान लिएको थियो।

कान्तिपुर

Link copied successfully