गत सोमबार पश्चिम बंगालस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको ल्याबमा चेकजाँच गर्दा निपाह भाइरसका कम्तिमा दुई शंकास्पद घटना पहिचान भएको थियो ।
What you should know
काठमाडौँ — भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको महामारी फैलिएको खबर बाहिरिएसँगै महामारी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार मताहतका सबै निकायलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार यस रोगको मृत्युदर ४०–७५ प्रतिशत छ ।
महाशाखाले बिहीबार दिउँसो परामर्शका लागि बैठक बोलाएको थियो । ‘भारतको पश्चिम बंगालमा महामारी फैलिएको घटनाले हामीलाई सतर्क बनाएको छ । हामीले आवश्यक मापदण्डबारे छलफल गरेका छौं,’ नाम नछाप्ने शर्तम महाशाखाका एक अधिकारीले भने,‘हामी सबै निकायलाई रोकथामका उपाय अपनाउनका लागि निर्देशन दिनेछौं र सतर्क गराउनेछौं ।’
गत सोमबार पश्चिम बंगालस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको ल्याबमा चेकजाँच गर्दा निपाह भाइरसका कम्तिमा दुई शंकास्पद घटना पहिचान भएको थियो । संक्रमित बिरामीहरु स्वाथ्यकर्मी रहेको बताइएको छ र उनीहरु ‘निकै गम्भीर’ अवस्थामा छन् ।
कोरोना भाइरसजस्तै निपाह भाइरस पनि जुनोकिट भाइरस रहेको डाक्टरहरु बताउँछन् । तर, यो कोरोना भाइरसको दाँजोमा यो धेरै प्राणघातक छ । प्रायजसोेः अवस्थामा संक्रमित जनावरमार्फत मानिसमा यो रोग सर्नसक्छ । संक्रमित जनावरको मासु खानाले पनि रोग फैलन्छ ।
तर भारतसहित केही देशमा मानिसबाट मानिसमा पनि यो रोग फैलिएको घटना देखिएको छ । चमेरोबाटयो भाइरस धेरैमा सर्ने जोखिम रहन्छ । नेपालमा पनि चमेरो पाइने भएकाले निपाह भाइरसको महामारी फैलने जोखिम छ ।
त्यस्तै, पश्चिम बंगालको सीमा नाका हुँदै नेपालको कोशी प्रान्तमा सयौं मानिस दैनिक ओहोर–दोहोर गर्ने गरेका छन् । चिकित्सकहरुले निपाह भाइरस र कोडिका धेरैजसो लक्षण मिल्दोजुल्दो रहेको बताएका छन् । तर, निपाह संक्रमण हुँदा मानिस अवस्था निकै चाडों बिग्रन्छ ।
सन् १९९९ मा पहिलोपटक निपाह भाइरसको पहिचान भएको थियो । मलेसिया र सिंगापुरमा संक्रमित सुुगुँरसँगको सम्पर्कमा पुगेका मानिसहरुमा श्वासप्रश्वास र मतिस्ष्क सुन्निने समस्या देखिएको थियो ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार अहिलेसम्म झन्डै ३ सय जनामा यो रोग देखिएको छ । त्यसमध्ये १ सय जनाले ज्यान गुमाएका छन् ।
भारतको पश्चिम बंगालमा २००१ मा निपाह भाइरसको महामारी फैलदाँ ६६ जना संक्रमित भएका थिए । ४५ जनाको निधन भएको थियो । सन् २००७ मा फेरि यो महामारी दोहोरियो । यतिबेला ५ जना संक्रमितमध्ये सबैको मृत्यु भएको थियो ।
२०१८ मा केरलामा यस भाइरसले १७ जनाको ज्यान गएको थियो । विज्ञहरुले यस समस्यालाई गम्भीर रुपमा लिइनुपर्ने बताएका छन् ।
‘यो भाइरस अन्य श्वासप्रश्वास सम्बन्धी भाइरसको दाँजोमा धेरै नै प्राणघातक छ,’ शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पताल काठमाडौंस्थित क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले भने, ‘यसको प्रारम्भिक होस्ट चमेरो र सुँँगुर हुन् । जो हाम्रो देशमा पाइन्छ । मानिसबाट मानिसमा पनि सर्नसक्छ ।’
समान वातावरण र निकटताका कारण भारतबाट चमेरो सहजै नेपाल छिर्नसक्ने पनि चिकितसकहरुले बताए । त्यस्तै, खुला सिमानाका कारण संक्रमित मानिस समेत छिर्नसक्ने जोखिम छ ।
अहिलेसम्म निपाह भाइरसको उपचारको व्यवस्था छैन । स्वास्थ्यकर्मीहरुले लक्षण हेरेर यसको उपचार गर्ने गरेका छन् । ४ देखि १४ दिनसम्मको अवधिमा यो भाइरसले संक्रमित गर्छ । यसक्रममा ज्वरोँ, टाउको दुखाई, श्वास प्रश्वास तथा स्नायुसम्बन्धी समस्या देखिनसक्छ ।
