भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता 

गत सोमबार पश्चिम बंगालस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको ल्याबमा चेकजाँच गर्दा निपाह भाइरसका कम्तिमा दुई शंकास्पद घटना पहिचान भएको थियो ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Nepal on alert after Nipah virus detected in India's West Bengal state

What you should know

काठमाडौँ — भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको महामारी फैलिएको खबर बाहिरिएसँगै महामारी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार मताहतका सबै निकायलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

 विश्व स्वास्थ्य संगठनका अनुसार यस रोगको मृत्युदर ४०–७५ प्रतिशत छ ।  

महाशाखाले बिहीबार दिउँसो परामर्शका लागि बैठक बोलाएको थियो । ‘भारतको पश्चिम बंगालमा महामारी फैलिएको घटनाले हामीलाई सतर्क बनाएको छ । हामीले आवश्यक मापदण्डबारे छलफल गरेका छौं,’ नाम नछाप्ने शर्तम महाशाखाका एक अधिकारीले भने,‘हामी सबै निकायलाई रोकथामका उपाय अपनाउनका लागि निर्देशन दिनेछौं र सतर्क  गराउनेछौं ।’ 

गत सोमबार पश्चिम बंगालस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको ल्याबमा चेकजाँच गर्दा निपाह भाइरसका कम्तिमा दुई शंकास्पद घटना पहिचान भएको थियो । संक्रमित बिरामीहरु स्वाथ्यकर्मी रहेको बताइएको छ र उनीहरु ‘निकै गम्भीर’ अवस्थामा छन् ।  

कोरोना भाइरसजस्तै निपाह भाइरस पनि जुनोकिट भाइरस रहेको डाक्टरहरु बताउँछन् । तर, यो कोरोना भाइरसको दाँजोमा यो धेरै प्राणघातक छ । प्रायजसोेः अवस्थामा संक्रमित जनावरमार्फत मानिसमा यो रोग सर्नसक्छ । संक्रमित जनावरको मासु खानाले पनि रोग फैलन्छ ।

तर भारतसहित केही देशमा मानिसबाट मानिसमा पनि यो रोग फैलिएको घटना देखिएको छ । चमेरोबाटयो भाइरस धेरैमा सर्ने जोखिम रहन्छ । नेपालमा पनि चमेरो पाइने भएकाले निपाह भाइरसको महामारी फैलने जोखिम छ । 

त्यस्तै, पश्चिम बंगालको सीमा नाका हुँदै नेपालको कोशी प्रान्तमा सयौं मानिस दैनिक ओहोर–दोहोर गर्ने गरेका छन् । चिकित्सकहरुले निपाह भाइरस र कोडिका धेरैजसो लक्षण मिल्दोजुल्दो रहेको बताएका छन् । तर, निपाह संक्रमण हुँदा मानिस अवस्था निकै चाडों बिग्रन्छ । 

सन् १९९९ मा पहिलोपटक निपाह भाइरसको पहिचान भएको थियो । मलेसिया र सिंगापुरमा संक्रमित सुुगुँरसँगको सम्पर्कमा पुगेका मानिसहरुमा श्वासप्रश्वास र मतिस्ष्क सुन्निने समस्या देखिएको थियो ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार अहिलेसम्म झन्डै ३ सय जनामा यो रोग देखिएको छ । त्यसमध्ये १ सय जनाले ज्यान गुमाएका छन् । 

भारतको पश्चिम बंगालमा २००१ मा निपाह भाइरसको महामारी फैलदाँ ६६ जना संक्रमित भएका थिए । ४५ जनाको निधन भएको थियो । सन् २००७ मा फेरि यो महामारी दोहोरियो । यतिबेला ५ जना संक्रमितमध्ये सबैको मृत्यु भएको थियो । 

२०१८ मा केरलामा यस भाइरसले १७ जनाको ज्यान गएको थियो । विज्ञहरुले यस समस्यालाई गम्भीर रुपमा लिइनुपर्ने बताएका छन्  ।

‘यो भाइरस अन्य श्वासप्रश्वास सम्बन्धी भाइरसको दाँजोमा धेरै नै प्राणघातक छ,’ शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पताल काठमाडौंस्थित क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले भने, ‘यसको प्रारम्भिक होस्ट चमेरो र सुँँगुर हुन् । जो हाम्रो देशमा पाइन्छ । मानिसबाट मानिसमा पनि सर्नसक्छ ।’

समान वातावरण र निकटताका कारण भारतबाट चमेरो सहजै नेपाल छिर्नसक्ने पनि चिकितसकहरुले बताए । त्यस्तै, खुला सिमानाका कारण संक्रमित मानिस समेत छिर्नसक्ने जोखिम छ । 

अहिलेसम्म निपाह भाइरसको उपचारको व्यवस्था छैन । स्वास्थ्यकर्मीहरुले लक्षण हेरेर यसको उपचार गर्ने गरेका छन् । ४ देखि १४ दिनसम्मको अवधिमा यो भाइरसले संक्रमित गर्छ । यसक्रममा ज्वरोँ, टाउको दुखाई, श्वास प्रश्वास तथा स्नायुसम्बन्धी समस्या देखिनसक्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully