गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

महिलालाई गर्भावस्थाका साथै सुत्केरीमा श्रीमान् मात्र होइन घरका सबै सदस्यको सहयोग चाहिन्छ । शारीरिक रूपमा महिलाले नै सबै जिम्मेवारी लिनुपर्ने भए पनि अरु कुरामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने डाक्टरहरूको सुझाव छ ।

पुस १६, २०८२

बुनु थारू/रासस

Mental health during pregnancy and childbirth: Neglect increases risk

What you should know

काठमाडौँ — गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ । 

सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान हुन सकेका छैनन् । यसको असर आमा मात्र होइन, बच्चा र समग्र परिवारमा समेत पर्न थालेको छ ।

एक ३४ वर्षीया महिलाको दुईपटक गर्भपतन भइसकेको थियो । यही कारण यसपटकको गर्भावस्थामा उनी अत्यन्तै मानसिक दबाबमा थिइन् । ‘अहिले त जसरी पनि बच्चा हुनैपर्छ’ भन्ने सोचले उनलाई निरन्तर सताइरहेको थियो । उमेर ढल्किँदै गएको, करिअरमा ढिलाइ हुने डर र गर्भावस्थापछि जागिर के हुन्छ भन्ने चिन्ताले उनमा एन्जाइटी बढायो । अहिले उनी परामर्शपश्चात् सामान्य अवस्थामा फर्किएकी छिन् । 

साथै अर्की २९ वर्षे महिलाको समस्या पनि उस्तै छ । उनले बच्चा जन्माइसकेपछि डिप्रेसनको सामना गरिन् । आर्थिक अभाव, श्रीमान्‌को अस्थिर व्यवहार, घरमा पहिले नै अन्य बच्चाको जिम्मेवारी र अन्तरजातीय विवाहका कारण परिवारबाट अस्वीकृतिले उनको मानसिक अवस्था झन् कमजोर बनायो । पोस्टपार्टम अवधिमा उनलाई पटक-पटक आत्महत्याका विचार आउन थाले । उपचार नपाएको भए अवस्था अझ खतरनाक हुन सक्थ्यो । अन्ततः उनमा एन्टी–डिप्रेसनको समस्या देखियो । 

२३ वर्षीया सुत्केरीमा भने फरक केही समस्या देखियो । बच्चाको हेरचाह गर्न मन नलाग्ने, कहिलेकाहीँ बच्चालाई क्षति पुर्‍याउने सोचसमेत आउने गरेको थियो । श्रीमान्‌ले ‘बच्चा नहेरेको’ भन्दै कुटपिटसमेत गर्थे । वैवाहिक सम्बन्ध नै धरमराउँदै गएको थियो । पोस्टपार्टम डिप्रेसनको अवस्थालाई श्रीमान्‌ले नबुझ्दा हिंसा थपिएको थियो । अहिले भने उनलाई औषधि र परामर्शले क्रमशः सुधार भइरहेको छ । 

एक कामकाजी महिलाले त बच्चा जन्मिएपछि जागिर नै छाड्नुपर्‍यो । बच्चा जन्मिएपछि उनी माइतीमै बसिन् । घर फर्किएपछि सबै काम आफैं गर्नुपर्ने, त्यसमाथि काम छोड्दाको नयाँ दैनिकीले उनलाई तनाव दिइरहेको थियो । त्यसकै कारण मानसिक अवस्था बिग्रिँदै गइरहेको थियो । उनी पोस्टपार्टम डिप्रेसन मात्र होइन, व्यक्तिगत तथा पारिवारिक डिस्फ्याक्टरबाट पनि गुज्रिराखेकी थिइन् ।

माथिका चार घटना प्रतिनिधि मात्रै हुन् । यी घटनाले गर्भावस्था तथा सुत्केरी अवस्थामा महिलाले भोग्नुपरेका मानसिक स्वास्थ्यको अवस्था देखाउँछन् । उदाहरणले गर्भावस्था र प्रसूति शारीरिक मात्र विषय होइन यो मातृत्वसँग जोडिएको मानसिक स्वास्थ्यको अनिवार्य हिस्सा हो भन्ने देखाउँछ ।

आमामा मानसिक स्वास्थ्य समस्या 

पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी बहस र पैरवी बढ्दै गए पनि गर्भावस्था र सुत्केरी अवस्थासँग जोडिएको मानसिक स्वास्थ्यबारे भने कमै मात्र चर्चा हुने गरेको छ । यस्तो अवस्थाको मानसिक स्वास्थ्य समस्याले गर्भमा रहेको भ्रुणको वृद्धि–विकासमा असर पार्न सक्छ । 

बच्चाको शारीरिक, बौद्धिक र भावनात्मक विकासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ । समयमै पहिचान र उपचार नहुँदा यस्ता समस्याले साइकोसिस, आत्महानि, आत्महत्या तथा अन्य जटिल स्वास्थ्य समस्याको रूप लिन सक्ने विज्ञहरू बताउँछन् । यसले बच्चाको स्याहार–सुसारमा नकारात्मक असर पार्नुका साथै आमा–बच्चाबीचको आत्मीय सम्बन्ध विकासमा कठिनाइ सिर्जना गर्न सक्छ । दाम्पत्य जीवन र पारिवारिक सम्बन्धमा समेत समस्या देखिन सक्छ ।

धेरैमा गर्भावस्था र सुत्केरी अवस्थाका विभिन्न शारीरिक तथा सामाजिक परिवर्तनका कारण तनाव देखिन सक्छ, जुन केही हदसम्म सामान्य मानिन्छ । यदि यस्तो तनाव लामो समयसम्म निरन्तर रहन्छ र यसले शारीरिक स्वास्थ्य, दैनिक क्रियाकलाप, पारिवारिक तथा दाम्पत्य सम्बन्ध र कार्यस्थलमा समेत नकारात्मक असर पार्न थाल्छ भने त्यो गर्भवती वा सुत्केरी अवस्थासँग सम्बन्धित मानसिक स्वास्थ्य समस्याको संकेत हुनसक्छ ।

श्रीमान् तथा परिवारबाट आवश्यक साथ–सहयोग नपाउनु, सानै उमेरमा वा किशोरावस्थामै गर्भवती हुनु, अनियोजित वा अनिच्छित गर्भधारण, हाल वा विगतमा हिंसाबाट प्रभावित हुनु, आर्थिक अभाव, व्यक्तिगत वा पारिवारिक दुःखद् घटना भोग्नु, गर्भवती हुनुअघि नै मानसिक स्वास्थ्य समस्या हुनु, तथा अघिल्लो गर्भावस्थाको दुःखद वा डरलाग्दो अनुभव (गर्भपतन, नवजात शिशुको स्वास्थ्य समस्या, बच्चाको मृत्यु वा अन्य जटिलता) जस्ता कारणले गर्भवती तथा सुत्केरी अवस्थामा मानसिक समस्या निम्त्याउन सक्छन् ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको मानसिक स्वास्थ्य ओपिडीमा कार्यरत मनोचिकित्सक डा. प्रतिष्ठा घिमिरेका अनुसार गर्भवती तथा सुत्केरी धेरै महिलामा एन्जाइटी र डिप्रेसनको समस्या देखिने गरेको छ । अस्पतालले २०८१ साल असोज २० गतेदेखि गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी सेवा सुरु गरेको छ । यो सेवा सरकारीस्तरमा यो अस्पतालमा मात्र उपलब्ध छ । ओपिडीमा दैनिक ६ देखि ७ जना परामर्शका लागि आउने गरेका छन् भने हरेक दिन १५ देखि २० जना सुत्केरी भइसकेका आमालाई मनोसामाजिक परामर्श दिने गरिएको छ । 

सेवाग्राहीसँग दैनिक कुरा गर्ने नर्स, मिडवाइफलाई यस्ता लक्षणबारे तालिम दिने, तनाव व्यवस्थापनका तालिम, रेफरल केसलाई काउन्सिलिङ र उपचार गर्ने, सघन कक्षमा बच्चा भएका आमाहरुको स्क्रिनिङ गर्ने काम अस्पतालले गर्दै आएको छ ।  

गर्भावस्थामा तनाव र एन्जाइटीका केस देखिन्छन् भने डेलिभरीपछि एन्जाइटी र डिप्रेसनका केस ओपिडीमा बढी आउने गरेका छन् । डर लाग्ने, मन आत्तिने, छटपटी हुने, भविष्यप्रति नकरात्मक सोच आउने, बच्चालाई पेटमा केही पो भएको छ भन्ने डर लाग्ने, निद्रा नलाग्ने, जिउ भारी भएजस्तो हुने लक्षण लिएर आउने धेरै हुने डा. घिमिरेका बताउँछिन् ।

मनोविद्हरूका अनुसार ‘सो–कल्ड बेस्ट आमा’ बन्नैपर्छ भन्ने सामाजिक दबाब पनि महिलाले थेग्न नसक्दा मानसिक समस्या बढिरहेको छ । कतिपय अवस्थामा आत्महत्या गर्ने सोचसमेत आउने गरेको पाइएको छ । 'धेरै महिलाले सहयोग माग्नै चाहँदैनन् । गाह्रो भए पनि भन्न सक्दैनन् । मानसिक समस्या व्यक्त गर्दा आफू खराब आमा ठहरिने हो कि, कर्तव्य पूरा गर्न नसकेको दोष लाग्ने हो कि भन्ने डरले उनीहरू अझ बढी तनावमा पर्ने गरेका छन्,' डा. घिमिरे बताउँछिन् ।

धेरैको समस्या : एन्जाइटी 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूचओ) का अनुसार विश्वभर करिब १० प्रतिशत गर्भवती र सुत्केरी भइसकेका १३ प्रतिशत महिला कुनै न कुनै मानसिक समस्याबाट प्रभावित हुन्छन् । विकासोन्मुख देशहरूमा यो अवस्था अझ गम्भीर छ । त्यहाँ गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवधिमा १९.८ प्रतिशत महिलामा मानसिक समस्या देखिन्छ ।

गम्भीर अवस्थामा आमाको पीडा अत्यन्तै बढ्न सक्ने भएकाले आत्महत्यासम्म गर्ने अवस्था पनि आउन सक्छ । यसका साथै, प्रभावित आमाले आफ्नो दैनिक भूमिका र जिम्मेवारी ठीकसँग निर्वाह गर्न सक्दैनन् । परिणामस्वरूप, बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्न सक्छ । तर गर्भावस्था तथा मातृत्वको अवस्थामा देखिने मानसिक समस्याको उपचार सम्भव छ । 

नेपालमा गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक समस्याबाट पीडित हुने दर उच्च देखिन्छ । डब्लुएचओकै तथ्याङ्कअनुसार गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवधिमा १९.८ प्रतिशत जसका कारण प्रजनन उमेरका महिलामध्ये आमाको आत्महत्या मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ । यसैगरी जानीजानी आत्म–हानि (इन्टेन्सनल सेल्फ हार्म) आमासम्बन्धी कुल मृत्युको करिब ६ प्रतिशत हिस्सा ओगटेको छ ।

समस्या कसरी थाहा पाउने ? 

यस विषयमा चर्चा र बहस पनि कम हुने गरेकाले नै जटिलता थपिएपछि मात्र महिलाहरु अस्पतालसम्म आइपुग्छन् । सुत्केरीपछि ३ महिनादेखि एक वर्षसम्म महिलाहरुमा मानसिक समस्या देखिन सक्छन् । लगनखेलस्थित मानसिक अस्पतालकी मानसिक रोग विशेषज्ञ डा. तृष्णा विष्ट ९९ प्रतिशत महिला ‘पोस्टपार्टम ब्लुज’सँग गुज्रिने बताउँछिन् । त्यो भनेको कहिले खुसी त कहिले दुःखी महसुस हुने, बिसन्चो, चिडचिडाहट, ‘मुड स्वीङ’ भइराख्ने लक्षण हुन् । पोस्टपार्टम डिप्रेसन देखिन भने मध्यमदेखि जटिलताको अवस्थाबाट गुज्रनुपर्ने उनको भनाइ छ । 

'बच्चा र आफूलाई हानि पुर्‍याउन मन लाग्ने, अनौठो स्वभाव देखाउने, मनमा कुरा खेलाएर बस्ने, अनौठो खालको आभास हुने जटिल खालको लक्षण हुन सक्छन्,' डा. विष्ट भन्छिन् । उनका अनुसार दुई हप्ताभन्दा बढी समयदेखि लक्षण महसुस भइरहेको छ भने सकेसम्म छिटो स्वास्थ्यकर्मीसँग भेट्नुपर्छ । धेरै चिन्तित हुने र सोचिरहने, पहिले रमाइलो लाग्ने कुरामा चाख नलाग्ने, निराशा, बेसहारा र मूल्यहिन महसुस हुने, डर लाग्ने, आत्तिने र छटपटी हुने यसका लक्षण हुन् । निद्रामा गडबडी आउने, खान मन नलाग्ने, जीवनमा आउने सामान्य तनावको पनि सामना गर्न नसक्ने, कुनै पनि प्रतिकूल अवस्थाका लागि आफैँलाई दोषी देख्ने, रुन मन लाग्ने वा रोइरहने, निरन्तर थकित महसुस हुने, बच्चालाई वा आफैंलाई हानि गर्ने सोच आउने, घरका र कार्यस्थलका नियमित क्रियाकलाप गर्न गाह्रो हुने भएमा स्वास्थ्यकर्मीलाई भेटिहाल्नुपर्ने उनको सुझाव छ । 

मानसिक तथा शारीरिक परिवर्तनले स्वभाविक रूपमै महिलालाई पहिलेभन्दा गाह्रो बनाइराखेको हुन्छ । बच्चापछि मानसिक समस्या देखिनुमा त्यसअघि उसको स्वभाव कस्तो थियो भन्नेमा पनि भर पर्ने बताउँछिन् डा. विष्ट । 'आत्तिइराख्ने, तनाव लिइराख्ने, समाधान गर्न नसक्ने खालको स्वभाव थियो कि ? उसको आचरण र स्वभाव कस्तो थियो भन्नेमा पनि भर पर्छ ।  सामाजिक, आर्थिक अवस्थासँगै श्रीमान्–श्रीमतीको सम्बन्धले पनि मानसिक स्वास्थ्यमा देखिन सक्ने सम्भावनालाई बढावा दिन्छ,' उनले भनिन् ।  

खाँचो छ श्रीमान् र परिवारको साथ 

महिलालाई गर्भावस्थाका साथै सुत्केरीमा श्रीमान् मात्र होइन घरका सबै सदस्यको सहयोग चाहिन्छ । शारीरिक रूपमा महिलाले नै सबै जिम्मेवारी लिनुपर्ने भए पनि अरु कुरामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने जानकार बताउँछन् । 

डा. प्रतिष्ठा घिमिरे भन्छिन्, 'अप्ठ्यारो भएको बेला कुरा बुझिदिने र सुनिदिनुपर्छ । नयाँ जिम्मेवारी थपिँदा आमाको दैनिकी फेरिएको हुन्छ । आमालाई सुत्न र आराम गर्न दिनुपर्छ । बच्चासँगै आमाको पनि ख्याल राख्नुपर्छ । साथै गर्भवती तथा सुत्केरी महिलाले पनि सहयोग माग्न सिक्नुपर्छ ।'

नियमित तालिकामा बाँधिनुपर्दा सकस महसुस हुनसक्ने भएकाले आफूलाई अरु क्रियाकलापमा पनि लगाउनुपर्ने उनको सुझाव छ । 'बाहिर हिँडडुल गर्ने, पोषिला खानेकुरा खाने, ध्यान र योग गर्ने गर्नुपर्छ । हर्मोन परिवर्तन भइराखेको हुन्छ । कति कुरा सामान्य लक्षण हुन सक्छन् त्यो म आफैंले सामना गर्न सक्छु भनेर अठोट लिनुपर्छ । आफूमा आएको परिवर्तनलाई कसरी आत्मसाथ गर्न सक्नुपर्छ भनेर बुझ्नुपर्ने हन्छ,' उनी भन्छिन् ।  

विज्ञका अनुसार परिवारका सदस्य र विशेषगरी श्रीमान्को साथ भएमा महिलालाई त्यस्ता समस्याबाट जुध्न सजिलो हुन्छ । कामकाजी महिलाले विशेषगरी धेरै कुरामा सम्झौता गर्नुपरेको हुन्छ । पहिले संयुक्त परिवारमा बस्दा बा/आमाले बच्चा हेरिदिन्थे, जसले गर्दा दम्पतीलाई सहज बनाउँथ्यो । डा. तृष्णा विष्ट भन्छिन्, 'हामीले महिलामा मात्र बच्चापछि मानसिक समस्याबाट गुज्रिनुपरेको भन्छौँ तर पुरुषहरुले पनि भोगिरहेका हुन्छन् । दुवैको निद्रा डिस्टर्ब हुन्छ, अनि खानपिन र सम्पूर्ण दैनिकीमा नै परिवर्तन आएको हुन्छ ।'

अभिभावकीय भूमिकामा महिलाले मात्र सम्झौता गरेका हुँदैनन्, पुरुषले पनि त्यो जिम्मेवारी निभाइरहेका हुन्छन् । महिलाले साथ नदिएको खण्डमा त्यहाँ पुरुष पनि समस्यामा पर्न सक्छन् । यो अवस्थामा दुवैले एकअर्कालाई साथ दिनुपर्छ । 'यथार्थपरक लक्ष्य राख्नुस्,' डा. विष्टको सुझाव छ, 'जीवनमा सबै कुरा प्राप्त हुन्छ भन्ने पनि हुँदैन । केही न केही सम्झौता गर्नेपर्ने हुन्छ । आफूलाई पनि समय दिने प्रयास गर्नुस् । जुन क्षण छ त्यसमा रमाउन सिक्नुस् । मलाई यो समस्या भयो भनेर भन्न सिक्नुस् ।'

पहिला त गर्भावस्थामा मुख्य आकर्षण महिला हुन्छिन् । सबैको सोधीखोजीको विषय हुन्छ । बच्चा भएपछि सबै ध्यान बच्चामै जान्छ, जसले गर्दा आमालाई एक्लो महसुस हुन सक्छ । यस्तो समस्या पनि धेरै महिलामा देखिएको छ । डा. विष्ट भन्छिन्, 'तपाईँ मानसिक रुपमा तयार नहुँदासम्म बच्चा नजन्माउनुस् । समाजको प्रभाव र दबाबमा नआउनुस् ।'

डा. घिमिरेका अनुसार गर्भावस्था र त्यसपछिका दिनमा मानसिक स्वास्थ्य समस्या देखिन सक्छ भन्ने विषयमा अझै पर्याप्त जनचेतना छैन । 'मानसिक स्वास्थ्य आफैंमा प्राथमिकतामा पर्दैन, त्यसमाथि गर्भावस्था र सुत्केरी अवस्थाको मानसिक स्वास्थ्यको त झनै बेवास्ता हुन्छ । यसलाई सामान्य ठानेर गम्भीर रूपमा नलिँदा दुर्घटना हुनसक्छ,' उनी भन्छिन् । 

डा. घिमिरे तनाव व्यवस्थापनका तरिका, खानपानमा ध्यान दिने, सन्तुलित भोजन र पोषिलो खाने, शारीरिक रूपमा सक्रिय हुने, आफ्ना कुरा विश्वासिलो व्यक्तिलाई सेयर गर्ने, सोसलाइज हुने, एकोहोरो नहुने, आइसोलेटेड नहुने गर्दा यी समस्या नआउन सक्ने बताउँछिन् । 

कसरी समाधान गर्न सकिन्छ ? 

बुनु थारू/रासस

Link copied successfully