अपरेसन थिएटरमा रोबोटको जादु 

रोबोटिक सर्जरीमा रोबोट आफैंले बिरामीको शल्यक्रिया गर्ने होइन, यस प्रकियाका क्रममा सर्जनको हातको चाललाई कम्प्युटर प्रणालीमार्फत अत्यन्तै सटिक रूपमा बिरामीको शरीरभित्र दोहोर्‍याइन्छ ।

पुस १५, २०८२

प्रकृति दाहाल

The magic of robots in the operating theater

What you should know

काठमाडौँ — सेतो कोटमा सजिएका डा. प्रतीकमान सिंह गुरुङ अपरेसन थिएटरमा प्रवेश गर्दा उनको हातले प्रत्यक्ष रूपमा बिरामीको शरीर छुँदैन । तर कम्प्युटर कन्सोलमा बसेर उनले चलाउने सर्जनका ती चालहरू केही सेकेन्डमै बिरामीको शरीरभित्र रोबोटिक हातमार्फत घुम्न थाल्दछन् । बिरामीलाई नछोइकनै चिकित्सकहरूले प्रविधिमार्फत अपरेसन सफल बनाइदिन्छन् ।

यही अत्याधुनिक प्रविधिलाई भनिन्छ रोबोटिक सर्जरी । नेपालमा यस प्रविधिलाई संस्थागत रूपमा स्थापित गर्ने खटिरहेका चिकित्सकमध्ये डा. गुरुङ एक हुन् । उनी युरोलोजी तथा रोबोटिक सर्जन हुन् । 

युनिभर्सिटी कलेज लन्डनबाट एमबीबीएस तथा पीएचडी उपाधि हासिल गरेका उनले अमेरिकन युरोलोजी एसोसिएसन र एन्डोयुरोलोजी सोसाइटीबाट मान्यता प्राप्त रोबोटिक सर्जरी फेलोसिप पूरा गरेका छन् । उनले विदेशी भूमिमा सिकेको ज्ञान र अनुभव नेपालमै प्रयोग गर्दै शल्यक्रियाको परम्परागत धारणा बदलिरहेका छन् । चितवन मेडिकल कलेजको रोबोटिक सर्जरी कार्यक्रमका निर्देशकका रूपमा कार्यरत छन् उनी । चितवन मेडिकल कलेजबाट गत कात्तिकदेखि यो सेवा सुरु भइसकेको हो । यस दौरानमा २० वटा अपरेसन रोबटबाट गर्न सफल भइसकेका छन् ।

रोबोटिक सर्जरीको सुरुवात सन् २००० मा अमेरिकाबाट भएको हो । सुरुमा जनावरमा परीक्षण गरिएको यो प्रविधिले मानव शरीरमा प्रयोगको अनुमति पाएपछि बिस्तारै विश्वभर फैलियो । अमेरिका हुँदै युरोपमा स्थापित भइसकेको यो प्रविधि पछिल्ला वर्षहरूमा भारत, चीन, थाइल्यान्ड र सिंगापुरमालगायत देशमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ । जीआई सर्जन, युरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिस्ट, जनरल सर्जनलगायतले रोबोटिक सर्जरी गर्न सक्दछन् । 

कसरी हुन्छ सर्जरी ? 

अमेरिकी कम्पनी दा–भिन्चीको सर्जरी रोबट प्रसिद्ध छ । यसमा चारवटा रोबोटिक हात हुन्छन्, जसलाई ‘रोबोटिक आर्म्स’ भनिन्छ । एउटा हातमा क्यामेरा हुन्छ भने बाँकी हातमा विभिन्न सर्जिकल उपकरण जडान गरिन्छ । स–साना प्वाल पारेर ती पोर्टमार्फत रोबोटिक हातहरू बिरामीको शरीरभित्र प्रवेश गराइन्छ ।

सर्जन अपरेसन थिएटरमै राखिएको छुट्टै कन्सोलमा बसेर स्विच र कन्ट्रोल प्रयोग गरी रोबोटिक सिस्टम सञ्चालन गर्छन् ।

सर्जनले बाहिर गर्ने हरेक चाल कम्प्युटराइज्ड प्रणालीमार्फत ठ्याक्कै त्यही रूपमा बिरामीको शरीरभित्र चलाइन्छ । रोबोटिक सर्जरीमा सानो प्वाल मात्रै पारिने भएकाले शरीरमा शल्यक्रियाको दाग निकै सानो हुन्छ । बिरामी छिटो निको हुन्छन् र अस्पताल बसाई पनि कम हुन्छ ।

अत्याधुनिक कम्प्युटर प्रणालीका कारण सर्जनका गतिविधि छरिता र सहज हुन्छन्, जसले ठूलो अपरेसनमासमेत राम्रो नतिजा दिने गुरुङको तर्क छ । उनका अनुसार, रोबोटिक सर्जरी भनेको रोबोटले आफैं शल्यक्रिया गर्ने प्रक्रिया होइन । सर्जनको हातको चाललाई कम्प्युटर प्रणालीमार्फत अत्यन्तै सटिक रूपमा बिरामीको शरीरभित्र दोहोर्‍याउने प्रविधि हो ।

डा. गुरुङ भन्छन्,‘हामीले आँखाले जति देख्छौं, क्यामेराले त्योभन्दा धेरै देखाउँछ । टाउको जहाँ पुग्दैन, क्यामेरा त्यहाँ पुग्छ । अँध्यारा र साँघुरा स्थानमा पनि स्पष्ट दृश्य देखिन्छ ।’ उनका अनुसार रोबोटिक हातमध्ये एउटा हातमा रहेको क्यामेराले थ्रीडी दृश्य देखाउँदछ, जुन धेरै प्रभावकारी हुन्छ जसका कारण के राख्ने र के हटाउने भन्ने निर्णय झन् सहज हुन्छ । 

प्रोस्टेट क्यान्सरजस्ता जटिल अपरेसनमा रोबोटिक सर्जरी अत्यन्तै उपयोगी भएको डा. गुरुङले बताए । पहिले चिरेर गरिने प्रोस्टेटको अपरेसनपछि पिसाब चुहिने, संक्रमण हुनेजस्ता समस्या धेरै देखिन्थे । तर रोबोटिक सर्जरीमा साना प्वालबाटै अपरेसन हुने भएकाले शरीरमा कम क्षति पुग्छ र जटिलता पनि न्यून हुन्छ ।

अमेरिकामा प्रोस्टेट क्यान्सरको उपचारमा यो प्रविधि व्यापक रूपमा प्रयोग हुँदै आएको उनको भनाइ छ । मिर्गौलाको क्यान्सरमा पनि रोबोटिक सर्जरी प्रभावकारी मानिन्छ ।

यस प्रविधिमा मिर्गौला नै फाल्नुपर्दैन, बिग्रिएको भाग मात्रै हटाएर बाँकी मिर्गौला सुरक्षित राख्न सकिन्छ । ल्याप्रोस्कोपीमार्फत गर्दा यस्ता अपरेसनमा धेरै समस्या देखिने भए पनि रोबोटिक सर्जरीले बिरामीलाई सहज बनाएको छ ।

रोबोटिक सर्जरी सामान्य शल्यक्रियादेखि जटिल अपरेसनसम्म प्रयोग गर्न सकिन्छ । पित्तथैली हटाउने, हर्निया, आन्द्रासम्बन्धी शल्यक्रिया, पाठेघर निकाल्ने, पाठेघरमा पलाएको मासुको डल्लो मात्र हटाउने, इन्डोमेट्रिओसिस, प्रोस्टेट, मिर्गौला र मूत्रथैलीका शल्यक्रियामा यो प्रविधि उपयोगी छ । मुटुको भल्ब मर्मत, कोरोनरी धमनी बाइपास, खाद्यनलीको क्यान्सर, आन्द्रा समस्याको उपचार पनि रोबोटिक प्रणालीमार्फत गर्न सकिन्छ । 

नेपालमा रोबोटिक सर्जरीको सुरुवात 

नेपालको स्वास्थ्य प्रणालीमा ऐतिहासिक मोड ल्याउँदै बी एन्ड बी अस्पतालले पहिलोपटक रोबोटिक सर्जरी प्रविधि भित्र्याएको छ । २०८१ असारमा अस्पतालले भारतीय कम्पनीको रोबोटिक प्रणाली प्रयोगमा हो । 

एकैदिन तीन जना महिलाको सफल शल्यक्रिया गरेर यो प्रविधिलाई औपचारिक रूपमा नेपालमा चिनाएको हो । देशमै पहिलोपटक रोबोटको सहायतामा शल्यक्रिया गरिएकाले यो दिन नेपाली चिकित्सकीय इतिहासमा विशेष रूपमा दर्ज भएको छ । 

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले रोबोटको माध्यमबाट तीन महिलाको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेकी थिइन् । डा. शर्माले ५२ वर्षीया महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिस्ट र ३४ वर्षीया महिलाको पाठेघरको ट्युमर रोबोटिक प्रविधिबाट हटाएकी हुन् । 

सबै शल्यक्रिया सफल भएको र बिरामीहरू छिट्टै सामान्य अवस्थामा फर्किएको उनले बताइन् । उनले भनिन् ‘ यो मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो । बिरामीहरूले त मलाई ‘सर्टिफिकेट’ दिनुपर्‍यो नि भन्नुभयो ।’ 

देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड राख्न पाउनु झन् गर्वको कुरा  रहेको उनले बताइन् । डा. शर्माका अनुसार रोबोटिक सर्जरी परम्परागत ल्याप्रोस्कोपीभन्दा एडभान्स प्रविधि हो । 

रोबोटिक सर्जरी गरेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘यसमा थ्री–डी भ्यु पाइन्छ मेरो हात धेरै कोणमा घुम्न सक्छ । कुन ठाउँमा कति गहिरो जाने, कुन एंगल मिलाउने सबै कुरा नियन्त्रणमा हुन्छ । यसले सर्जरीलाई धेरै सहज र सुरक्षित बनाउँछ ।’ रोबोटिक सर्जरी ल्याप्रोस्कोपीभन्दा महँगो पर्छ । बिरामीहरूले आर्थिक अवस्था अनुसार कुन प्रकारको सर्जरी गर्ने भन्ने निर्णय गर्न सक्ने उनले बताइन् । आर्थिक कारणले रोबोटिक सर्जरी सबैको रोजाइ नहुने उनको भनाइ छ । 

चितवन मेडिकल कलेजमा रोबोटिक सेवा 

उपत्यका बाहिर पनि रोबोटिक सर्जरी सेवाको बिस्तार भएको छ । चितवन मेडिकल कलेजमा डा. गुरुङको नेतृत्वमा गत कात्तिकदेखि रोबोटिक सर्जरी सेवा सुरु गरिएको हो । हालसम्म त्यहाँ २० भन्दा बढी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेका छन् । डा. गुरुङका अनुसार नेपालमा अमेरिकी ‘दा–भिन्ची’ रोबोट भित्र्याउने प्रयास गरिएको थियो । तर करिब ३० करोड रुपैयाँ लागत पर्ने भएपछि त्यो सम्भव भएन । त्यसपश्चात चिनियाँ ‘माइक्रोपोर्ट’ कम्पनीको रोबोटिक सिस्टम चितवन मेडिकल कलेजमा भित्राइएको हो । यसको लागत करिब २० करोड रुपैयाँ रहेको गुरुङले बताए । 

यो प्रणाली युरोपियन मापदण्डअनुसार सुरक्षित मानिन्छ र पाकिस्तान, बंगलादेश तथा भारतमासमेत प्रयोग भइरहेको छ । डा. गुरुङको नेतृत्वमा काठमाडौं इन्टरनेसनल अस्पताल पनि आगामी छ महिनाभित्र सञ्चालनमा आउने तयारीमा छ । जहाँ बिरामीहरुले रोबटिक सर्जरीको सुविधा पाउनेछन् । 

यस सर्जरीमा संलग्न गाइनेकोलोजिस्ट तथा गाइनेअंको सर्जन वीरेन्द्र भगत भारतस्थित मेदान्ता अस्पतालमा कार्यरत छन् । उनी रोबोटिक अपरेसनका लागि विशेष रूपमा चितवन आउने गर्छन् । उनी भन्छन्,‘सुरुमा चितवनको सिस्टममा बिरामीदेखि स्टाफसम्मलाई बुझाउन समय लाग्यो,’ डा. भगत भन्छन्, ‘तर बिस्तारै सबै कुरा सहज हुँदै गएको छ ।’ 

डा. भगतका अनुसार विदेशमा रहेका आफन्त भएका बिरामीलाई रोबोटिक सर्जरीबारे बुझाउन अझ सजिलो हुन्छ । विदेशी मुलुकमा बसेका आफन्तहरूले नै नेपालमा रोबोटिक सर्जरी गराउन सुझाव दिन थालेका छन् । एक अनुभव सुनाउँदै उनले भने,‘रोबोटिक अपरेसन गराएर फर्किनु भएको एक बिरामीका छोरा अस्ट्रेलियामा हुनुहुँदो रहेछ । उहाँले खोजेरै नेपालमै रोबोटिक सर्जरी गराउनुभएको थियो ।’

यो सर्जरी बिस्तारै बुझ्दै जाने र नेपालमै सहज हुने उनको विश्वास छ । यस किसिमको उपचारका लागि पहिला धेरै बिरामी भारत जाने बिरामी अब नेपालमामै उपचार गर्ने उनी विश्वास व्यक्त गर्दछन् । डा. भगत रोबोटिक सर्जरीको भविष्यप्रति आशावादी छन् । ‘पहिले मिर्गौला प्रत्यारोपण नहुँदा बिरामी बाहिर जान्थे,’ उनी भन्छन्, ‘नेपालमै यो सेवा सुरु भएपछि बिरामी यहीँ उपचार गराउन थाले । रोबोटिक सर्जरी पनि त्यही बाटोमा जानेछ ।’

न्युरो सर्जरीमा पनि रोबोटको प्रयोग

अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्क तथा स्नायु प्रणालीसँग सम्बन्धित जटिल शल्यक्रियामा पनि रोबोटिक प्रणाली प्रयोग हुँदै आएको छ । ‘रेमिबोट’ नामक रोबोट ब्रेन सर्जरीमा प्रयोग भइरहेको अस्पतालले जनाएको छ । कन्सल्टेन्ट न्युरो सर्जन तथा मेडिकल डाइरेक्टर डा. सुदन ढकालका अनुसार यस प्रक्रियामा सर्जनले नै अपरेसन गर्छन्, रोबोटले उपचारमा सहयोग मात्रै गर्छ । ब्रेनको भित्री भागमा पुग्न कठिन हुने भएकाले रोबोटले ठूलो मद्दत गर्ने उनी बताउँछन् ।

डा. ढकालका अनुसार स्टीरियोट्याक्टिक ईईजी(एसईईजी) प्रक्रियामा रोबोट अत्यन्त उपयोगी भएको छ । उनले भने, ‘ब्रेनभित्र थुप्रै निडल राखेर वेभ नाप्ने प्रक्रियामा रोबोट बिना एउटा निडल राख्न झन्डै दुई घन्टा लाग्थ्यो रोबोट आएपछि यही काम २० मिनेटमै सम्भव भएको छ । एक पटकमा पाँच ६ वटा निडल राख्नुपर्ने भएकाले समय र जोखिम दुवै घटेको उनले बताए ।

स्पाइनल सर्जरीमा पनि रोबोट प्रयोग गर्न सकिने डा. ढकालको भनाइ छ । यसले धेरै पटक एक्स–रे खिच्नुपर्ने अवस्था घटाउने र चिकित्सकहरूको रेडिएसन एक्सपोजर पनि कम उनले बताए । रोबोटिक सर्जरी प्रयोग गर्दा बिरामीलाई अनावश्यक रूपमा महँगो नपर्ने उनको दाबी छ । उनले भने,‘यो रोबोट सर्जरी गरेबापत बिरामीका लागि महँगो हुने होइन यो त सर्जनहरूका लागि काम सहज बनाउने उपकरण मात्रै हो ।’ 

सरकारले पनि भित्राउँदै रोबोट

रोबोटिक सर्जरी निजी अस्पतालहरुले सञ्चालन गरेपनि हालसम्म सरकारी अस्पतालमा छैन । रोबोटिक सर्जरी नेपालमा नयाँ प्रविधि भित्रिएकाले सकारात्मक मान्छन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी । यो प्रविधि उपचारमा छिटो छरितो मानिएकाले सरकारले पनि भित्राउने तयारी रहेको उनको भनाइ छ ।

सरकारले काठमाडौं र काठमाडौं बाहिर गरी दुई वटा भित्र्याउनका लागि ८८ करोड बजेट छुट्याएको उनले सुनाए । उनले भने, ‘यो उपचार पद्धतिलाई नियमन गर्ने निर्देशिका निर्माण गर्ने र सरकारले पनि भित्र्याउनका लागि तयारी रहेको छ ।’ उनका अनुसार यसको थप प्रभावकारिता बुझेर खरिद प्रक्रियामा जाने निर्णय गर्ने सरकारले लिनेछ । 

प्रकृति दाहाल दाहाल कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully