काठमाडौं उपत्यकामा मात्र वार्षिक करिब १ हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान छ । तर नियमावली बनेको ८ वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनामा मृगौला र ५ जनामा कलेजो गरी जम्मा १८ जनामा मात्र प्रत्यारोपण भएको छ ।
रमिला दाहाल मृगौलासम्बन्धी बिरामी हुन् । उनी १७ वर्षदेखि दुवै मृगौलाको डायलसिस गराउँदै आइरहेकी छिन् । ४४ वर्षीया रमिला डायलसिसकै लागि हप्तामा ३ पटक वीर अस्पताल धाउँछिन् ।
२६ वर्षकै हुँदा उनको मृगौलामा खराबी देखिएको थियो । ‘केही रोग थिएन । गर्मी जस्तो हुने, टाउको दुख्ने भएपछि जनकपुरको हस्पिटल गएकी थिएँ,’ उनले भनिन्,‘त्यहाँबाट काठमाडौं आएँ । पछि दुवै मृगौलामा खराबी छ भनेर डाक्टरले भन्नुभयो ।’
रमिलालाई परिवारकै सदस्यले मृगौला दिन पनि खोजेका थिए तर 'म्याचिङ' भएन । अहिले उनी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मृगौला पाइन्छ कि भन्ने आशमा छिन् ।
२०७४ असोजमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लागू भएपछि मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएकाहरूको अंगलाई बिरामीमा प्रत्यारोपण गर्न कानुनी बाटो खुलेको थियो । रमिलाले दुईपटक अंग प्रत्यारोपण गर्ने अवसर पनि पाएकी थिइन् । तर विविध कारणले उनले प्रत्यारोपण गर्न पाइनन् । उनी भन्छिन्,‘दुईपटकसम्म हस्पिटलबाट फोन आएको थियो । एक पटक सबै कर्न्फम भएको थियो । अन्तिममा एउटा टेस्ट मिलेन र फालिएँ,’उनले भनिन्,‘अर्को पटक भने मेरो लडेर खुट्टामा समस्या भएको कारणले म नै जान सकिनँ ।’
अहिले उनी भाइबुहारीसँग लोकन्थलीमा बस्दै आएकी छिन् । रमिला अब भने सबै कुरा मिलोस् र सहजताका साथ मृगौला प्रत्यारोपण होस् भन्ने चाहन्छिन् । उनी भन्छिन्,‘भगवान्सँग यही प्रार्थना गरेकी छु,’ उनले भनिन्,‘अब भने मेरो पनि स्वास्थ्य राम्रो होस् र मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग प्रत्यारोपण गर्न पाऊँ भन्ने छ ।’
***
मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगले जिन्दगी बचाउने सपनामा रमिलाजस्तै सयौँ बिरामी पर्खिरहेका छन् । मस्तिष्क मृत्यु भएका व्यक्तिकै अंगबाट केहीले जीवनदान पनि पाएका छन् । केही भने मृगौला, कलेजो पाउने आशामा बस्दै गर्दा अस्ताइसकेका छन् । प्रत्यारोपण केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार गत साउनसम्म १ हजार ५९ जनाले मृगौला प्रत्यारोपणका लागि नाम दर्ता गराएका थिए । कलेजो प्रत्यारोपणका लागि ५९ जनाले नाम टिपाएका छन् ।
मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो पाएर नवजीवन पाउनेमध्येका एक हुन् ३८ वर्षीय संकल्प खड्का । ५ वर्ष अगाडिको कुरा हो । रगत बान्ता भएपछि संकल्पलाई परिवारले अस्पताल पुर्याए । कलेजो बिग्रिएकाले ५ महिनाभन्दा बाँच्न कठिन छ भने डाक्टरले । 'एक्कासि डाक्टरले पाँच महिना भन्दा बाँच्ने चान्स छैन भनेको सुन्दा कस्तो हुन्छ ? अहिले सम्झिँदा पनि निकै गाह्रो हुन्छ,' उनले भने ।
आईटी क्षेत्रमा कार्यरत संकल्प डेंगी संक्रमणपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका थिए । प्लेटलेट्सको मात्रा कमी देखिएपछि जाँज गर्दा रगतमै खराबी देखिएको थियो । उनलाई त्यसबेला लिभरसियोसिस भएको पनि परीक्षणपछि पत्ता लाग्यो । संकल्पकी पत्नी विनया ज्ञवाली पेसाले शिक्षक हुन् । डाक्टरको सल्लाह, परामर्श र खोजबिनपछि श्रीमान्लाई बचाउन सकेको उनी बताउँछिन् । उनी भन्छिन्,'धेरै नै डाक्टरको परार्मशमा एक डाक्टरले फुटेको नसा बाँध्न सकिने भन्नुभएको थियो । त्यसको उपचारपछि रगत बान्ता हुन छोडेको थियो । '
बान्ता हुन छोडे पनि कलेजो प्रत्यारोपण जसरी पनि गर्नुपर्ने डाक्टरले सुझाव दिएका थिए । आफ्नै परिवारका सदस्य दिन तयार भए पनि कसैसँग पनि मिलेन । चिकित्सकले मस्तिक मृत्यु भएपछि अंगदान गर्ने दाता भेटिएमा प्रत्यारोपण सम्भव हुने बताए । अब भने विनयालाई श्रीमान् बचाउन सकिन्छ भन्ने आशा जाग्यो । उनी भन्छिन्,'हामीले भक्तपुर प्रत्यारोपण केन्द्रमा रजिस्टर मात्र गरेनौँ । ब्रेनडेथको कुनै केस आयो कि आएन भनेर निरन्तर अस्पताल धाइरहन्थ्यौँ ।'
गत साउन ३१ गते सुमेरु अस्पतालबाट फोन आयो, 'ब्रेनडेथ भएका व्यक्तिको अंग आएको छ ।' त्यत्ति सुन्नासाथ उनको परिवार प्रत्यारोपण केन्द्र पुगे । 'ब्रेन डेथ' भएका व्यक्तिको अंगसँग संकल्पको सबै कुरा 'म्याच' भयो । टेस्टमा स्कोर पनि बढी आयो । सबै टेस्ट मिलेपछि त्यही दिन संकल्पको कलेजो प्रत्यारोपण भयो । ‘बिरामी भएपछि सकारात्मक नै सोचे पनि कहिलेकाहीँ के-के कुरा खेल्थ्यो । मलाई मेरा लागि, सानो छोरीका लागि र परिवारका लागि बाँच्नुपर्छ भन्ने सधैँ लाग्यो,’ संकल्प भन्छन्,‘आफूलाई गरेको विश्वासले गर्दा नै मैले अहिले दोस्रो जीवन पाएको छु ।’
विनया अंगदानलाई सहजीकरण गरेमा मृगौला साथै कलेजोपीडितले अर्को जीवन पाउने बताउँछिन् । उनी भन्छिन्,‘संकल्प जसरी नै अंग पाउने आशामा कति धेरै बिरामी हुनुहुन्छ । सहजीकरण भएमा कति राम्रो हुन्थ्यो ।’
अहिले पनि नेपालमा अंगदान पाइने पर्खाइमा धेरै बिरामी छन् । तर मस्तिष्क मृत्युपछि गरिने अंग प्रत्यारोपण भने न्यून अवस्थामा रहेको स्वास्थ्य विज्ञ बताउँछन् । अंग प्रत्योरोपणका लागि पालो कुरिरहेका बिरामीले सहज रूपमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग पाउन पनि मुस्किल रहेको समेत जिकीर गर्छन् । साथै मस्तिष्क मृत्युपछिको अंग प्रत्यारोपण सबैका लागि व्यवहारिक हुन नसकेको उनीहरूको भनाइ छ ।
पश्चिमा मुलुकमा हुने अंग प्रत्यारोपणमध्ये करिब ८० प्रतिशत मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको देखिन्छ । तर नेपालमा भने प्राय: परिवारका सदस्यबाटै अंगदान हुने गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार नेपालमा प्रत्येक दिन सडक दुर्घटनामा ४ देखि ६ जनाको मृत्यु हुने गरेको छ । काठमाडौं उपत्यकामा मात्र वार्षिक करिब १ हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान गरेको छ । तर नियमावली बनेको ८ वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनामा मृगौला र ५ जनामा कलेजो गरी जम्मा १८ जनामा मात्र प्रत्यारोपण भएको छ ।
मस्तिष्क मृत्युपछिको अंग प्रत्यारोपण प्रभावकारिता कम देखिएको कलेजो तथा ग्यास्ट्रो सर्जन, प्रा.डा.रमेशसिंह भण्डारी बताउँछन् । उनी भन्छन्,‘मस्तिष्क मृत्युपछि जुन अंगदान गरिन्छ । तुलनात्मक हिसाबले हेर्ने हो भने यो कम हो । टिचिङ, वीरजस्ता ठूला-ठूला सरकारी अस्पतालहरूमा पनि यो सेवा उपलब्ध हुनु पर्ने हो,’ उनले भने,‘यससम्बन्धी सबै प्रक्रियाको जिम्मेवारी प्रत्यारोपण केन्द्रलाई दिइएको छ । त्यसैले अन्य ठूला सरकारी, प्राइभेट अस्पताल र स्वास्थ्य संस्था सक्रिय नभएको देखिन्छ ।’
सरकारले मस्तिष्क मृत्युपछि हुने अंग प्रत्यारोपणलाई प्रभावकारी बनाउनपर्ने उनी बताउँछन् । उनी भन्छन्,‘अंग वितरण गर्ने जस्तो विषय कुनै पनि एउटा हस्पिटललाई मात्र जिम्मा दिन मिल्दैन । त्यसमा पनि जो आफैं ट्रान्सप्लान्ट गर्छ,’ उनले भने,‘स्वतन्त्र रूपले, कुनै हस्पिटल, बिरामी, डाक्टर कसैको पनि प्रभाव नपर्नेगरी नै यसलाई अगाडि बढाउन आवश्यक छ । त्यसरी मात्र न्यायपूर्ण, प्रभावकारी हिसाबले चल्न सक्छ । कुनै पनि एक हस्पिटलले जिम्मेवारी लिने भन्ने अन्य देशमा प्राय: हुँदैन ।’
मस्तिष्क मृत्युपछि प्रत्यारोपण गरिने अंगलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयमातहतमा कुनै एउटा स्वतन्त्र निकाय बनाउनुपर्ने डा.भण्डारी बताउँछन् । उनी भन्छन्,‘स्वास्थ्य मन्त्रालयमातहतमा स्वतन्त्र निकाय भयो भने, जसले यसको सबै डेटा राख्नेदेखि लिएर, सिस्टमलाई चलाउने गर्नुपर्छ,’ उनी थप्छन्,‘मृगौला प्रत्यारोपणका लागि देशभरका अंग आवश्यक परेका बिरामीको अस्पतालहरूमा लिस्ट मागेर त्यसको एउटा सेन्ट्रल रजिस्ट्री बनाउनुपर्छ ।’
नेपालको जुन अस्पतालमा उपचाररत बिरामी भए पनि सोही अस्पतालबाट उपचार गर्न मिल्ने र फर्म भर्न मिल्ने बनाउनुपर्ने उनी बताउँछन् ।
उनी भन्छन्,‘कुनै हस्पिटलमा बिरामी छ । तर त्यो बिरामी फर्म भर्न प्रत्यारोपण केन्द्र नै जानुपर्ने ? जुन हस्पिटलमा उपचाररत छ त्यहाँ काम गर्न नमिल्ने ? यसले त्यहीँको बिरामी र उनीहरूको मात्र प्रत्यारोपण केन्द्र भन्ने जनाउँछ,’उनले भने,‘कि सरकारले सोही हस्पिटलले मात्र प्रत्यारोपण गर्छ भनेर भन्न पर्यो, होइन भने भने त्यस्तो गर्न मिल्दैन ।’ अंग प्रत्यारोपणबारे धेरैमा जानकारी नभएर पनि प्रत्यारोपण सहज हुन नसकेको डा. भण्डारीको भनाइ छ ।
मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सरकारले मस्तिष्क मृत्युपछिको अंगदानबारे प्रभावकारी ऐन नबनाएकाले प्रत्यारोपण कार्यक्रम आशा गरेअनुरूप अघि नबढेको बताउँछन् । ‘मस्तिष्क मृत्युपछि प्राप्त हुने अंग भनेको सरकारको स्वामित्वमा पाउने कुरा हो । स्वामित्व भएको कुरा कसलाई दिने, कसले पाउने भन्ने जस्तो ठूलो विषय एउटा अस्पताललाई दिइएको छ,’ उनले भने,‘प्रत्यारोपण केन्द्रले राम्रो काम गरेको छ त्यो आफ्नो ठाउँमा छ । त्योभन्दा अगाडि अंग प्रत्यारोपण गर्ने ठूला सरकारी अस्पताललाई सरकारले बिर्सियो ।’
डा. भण्डारीझैं उनी पनि मस्तिष्क मृत्युबारे जनचेतना फैलाउन नसकिएको बताउँछन् । ‘सर्वसाधारणले मस्तिष्क मृत्यु भनेको के हो भन्ने पनि बुझेका छैनन् । जबसम्म उनीहरू मस्तिष्क मृत्यु भनेको के हो बुझ्दैनन्, तबसम्म अंग प्राप्त हुँदैन,’ उनले भने,‘हामीले अंग प्राप्त भयो भने कस-कसलाई बाँड्ने भनेर लिस्ट लिएर बसेका छौँ । तर ऐन बनेको ८ वर्षमा १३ जनाको मृगौला र ५ जनामा कलेजो प्रत्यारोपण भयो । यो न्यून हो ।
सरकारले कुनै पनि अंग प्रत्यारोपण गर्दा लाग्ने शुल्क निर्धारण गरिदिएमा सबै अस्पताललाई उपयुक्त हुने बताउँछन् । डा.काफ्ले अंग प्रत्यारोपण गर्न प्रोत्साहन नगरेकाले पनि निजी अस्पतालहरू पछि हटेको बताउँछन् ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्वकार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ भने मापदण्डअनुसार नै काम भएको बताउँछन् । उनी भन्छन्,‘देशमा कुनै गतिविधि नै नहुँदा, फोकल सेन्टर नहुँदा प्रत्यारोपण केन्द्रलाई नेपाल सरकारले ऐनमा अहिलेको लागि समन्वयन गर्ने युनिट भक्तपुरलाई राख्ने भनेर सरकारले नै निकालेको कुरा हो,’ उनले भने,‘सरकारी संस्थामा समन्वयन एकाई छ र त्यसले राम्रो काम गरेको छ भने त्यसमा नराम्रो गर्नु हुँदैन ।’
८ जनाको बच्न सक्छ जीवन
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार मस्तिष्क मृत्युपछि खेर जाने अंगको दानबाट ८ जनासम्मलाई नयाँ जीवन दिन सकिन्छ । केन्द्रका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मृगौला २ जना, मुटु एक, सानो आन्द्रा एक जना, फोक्सो २ जना, कलेजो एक जना र प्याङ्क्रियाज १ जनामा प्रत्यारोपण गर्न मिल्छ ।
