स्वास्थ्य बीमाको विषय मेरो प्राथमिकतामा छ : मन्त्री गौतम

‘चुनाव गराउनु छ, जलेका घरहरु बनाउनु छ । नयाँ कार्यक्रम पनि ल्याउनु छ । बीमालाई पैसा पनि दिनु छ । तर स्रोत कम छ । कता-कता दिने ? कता-कता पुर्‍याउने’

मंसिर २१, २०८२

रमेशकुमार पौडेल

Health insurance is my priority: Minister Gautam

What you should know

चितवन — स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले स्वास्थ्य बीमाको उचित व्यवस्थापनलाई प्राथमिकतामा राखेर आफूले काम सुरु गरेको बताएकी छन् । 

भरतपुर अस्पतालको ट्रमा सेन्टर उद्घाटन कार्यक्रममा आइतबार बोल्दै मन्त्री डा.गौतमले भनिन्, ‘स्वास्थ्य प्रणाली सुधारका लागि मेरा तीनवटा क्षेत्र छन् । जसमा पहिलो प्राथमिकता स्वास्थ्य बीमाको विषय रहेको छ ।’

कार्यक्रममा मन्तव्य राख्दै भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट (मेसु) डा.कृष्णप्रसाद पौडेलले गत वर्ष अस्पतालले बीमामार्फत गरेको उपचारको भुक्तानीका लागि एक अर्ब रुपैयाँभन्दा बढी दाबी गरेकोमा आधा रकम मात्रै प्राप्त भएको बताएका थिए । यस्तो भए अस्पताल राम्रोसँग चल्न नसक्ने मेसु पौडेलको भनाइ थियो । 

स्वास्थ्यमन्त्री डा.गौतम पनि मेसु डा. पौडेलको कुरामा सहमत भइन् । ‘बीमा ठीकसँग चलेको छैन । यसरी चल्ने हो भने डाक्टर सापले भने जसरी अस्पताल धारासायी हुन सक्छन् भन्ने कुरा साँचो हो पनि । हामीले करोडौं रुपैयाँ तिर्न सकेका छैनौं,’ उनले भनिन् । 

बीमा भुक्तानीका लागि दिनमै ६० हजार क्लेम आउने गरेको उनले बताइन् । ‘बीमामा यति बोझ छ कि ६० हजार क्लेम आउँदा मुश्किलले पाँच हजार क्लेम भेरीफाइ र फर्छ्योट हुन्छ,’ उनले भनिन् । 

डा.गौतमले ३५ सय रुपैयाँमा बीमा गरेपछि सबैले एक लाख रुपैयाँ बराबरको सुविधा लिइ हालौं भन्ने मान्यता नराख्न अनुरोध गरिन् । ‘बीमाको सिद्धान्त त यो हो कि रोगी निरोगी सबैले पैसा राख्ने तर आवश्यक परे मात्रै सेवा लिने हो । ३५ सय रुपैयाँ तिरेको छु । एक लाख रुपैयाँ बराबरको सुविधा लिइहालौं भनेर अनावश्यक उपचार र परीक्षण नगराउँ,’ उनले अपिल गरिन् ।

उनले हेल्थपोष्ट र आधारभूत स्वास्थ्य केन्द्रहरुमा आधारभूत स्वास्थ्य उपचार पूर्णरुपमा निःशुल्क भएकोले त्यस्ता सेवाहरु त्यही लिने बानी बसाल्न सुझाव दिइन् । ‘त्यहाँ सम्भव नहुने उपचारका लागि अस्पतालमा आउने हो भने भीड कम हुन्छ । जति पैसा दिए पनि नपुग्ने बीमाको चाप कम हुन्छ । प्रहरी, प्रशासन, स्थानीय तह र जनप्रतिनिधिहरुले यसका बारेमा प्रचारप्रसार गरौं,’ उनको भनाइ थियो । 

स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरुसँग यस बारेमा निरन्तर संवादमा रहेर समाधानका विधिहरु तयार गर्न सुरु गरेको उनले सुनाइन् । केही समयभित्रै यसमा परिणाम नि आउने उनको भनाइ छ । ‘चुनाव गराउनु छ, जलेका घरहरु बनाउनु छ । नयाँ कार्यक्रम पनि ल्याउनु छ । बीमालाई पैसा पनि दिनु छ । तर स्रोत कम छ । कता कता दिने ? कता कता पुर्‍याउने,’ उनले सोधिन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully