४० वर्षमाथिका ४ हजार ९ सय ९० मानिसहरुमा यो अध्ययन गरिएको थियो । छनोट भएकाहरुलाई तिलगंगा अस्पतालमा आँखाको पूर्ण जाँच तथा समग्र स्वास्थ्य परीक्षणका लागि बोलाइएको थियो ।
What you should know
काठमाडौँ — हाइपरटेन्शन र मधुमेहजस्ता नसर्ने रोगहरुले आँखाको समस्या बढाइरहेको काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानको नयाँ अध्ययनले देखाएको छ ।
गत साता प्रकाशित प्रतिवेदनले अध्ययनमा सहभागी ९७.७ प्रतिशतलाई आँखाको कुनै न कुनै समस्या देखिएको औल्याएको छ ।
४० वर्षमाथिका ४ हजार ९ सय ९० मानिसहरुमा यो अध्ययन गरिएको थियो । छनोट भएकाहरुलाई तिलगंगा अस्पतालमा आँखाको पूर्ण जाँच तथा समग्र स्वास्थ्य परीक्षणका लागि बोलाइएको थियो ।
सहभागीमध्ये ६९.४ प्रतिशत हाइपरटेन्सन र ४७.२ प्रतिशत मधुमेहबाट पीडित रहेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘हाइपरटेन्शन भएका सहभागीमध्ये एक प्रतिशतलाई हाइपरटेन्सिभ रेटिनोप्याथी भएको थियो । त्यस्तै,मधुमेह भएका मध्ये ७.३ प्रतिशतलाई डाइबेटिक रेटिनोप्याथी, ’ प्रतिवेदनमा उल्लेख छ ।
चिकित्सकहरुका अनुसार दीर्घकालीन उच्च रक्तचापले रेटिनाहरु बिग्रिएर हाइपर्टेन्टिभ रेटिनोप्याथी हुन्छ । त्यस्तै, उच्च ब्लड सुगरका कारण रेटिना खराब भएर डाइबेटिक रेटिनोप्याथी हुन्छ ।
काठमाडौं उपत्यकामा टाइपरटेन्शन र मधुमेहसँगै अत्यधिक तौल र मोटोपन गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको पनि चिकित्सकहरुले बताए । चिकित्सकहरुका अनुसार आँखाको समस्या बढाउने असंक्रामक रोगमध्ये यी पनि पर्छन् ।
अध्ययनमा सहभागीमध्ये ४३.५३ प्रतिशत व्यक्ति बढी तौलको र २३ प्रतिशत व्यक्ति मोटोपनबाट गुज्रिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
‘काठमाडौंमा ४० वर्षमाथिका मानिसमा धेरै मानिसहरुमा हाइपरटेन्सन र मधुमेहजस्ता नसर्ने रोगको जोखिम भयावह देखिएको छ,’ तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले भनिन्, ‘उच्च रक्तचाप र उच्च ब्लड सुगरले आँखासहित समग्र स्वास्थ्यलाई असर गर्छ । ’
नेपालमा पछिल्ला वर्षहरुमा नसर्ने रोगले धेरैको ज्यान लिइरहेको छ सन् २०१७ को एक प्रतिवेदनअनुसार नेपालमा कुल मृत्युमध्ये नसर्ने रोगबाट ज्यान गुमाउनेको संख्या ६६ प्रतिशत थियो ।
सन् २०१९ मा यो संख्या बढेर ७१ प्रतिशत पुगेको थियो । विश्वव्यापी अध्ययनअनुसार २०२१ मा कुल मृत्युमध्ये ७३ प्रतिशत नसर्ने रोगकै कारण भएको थियो ।
पछिल्लो समय मेडिकल जर्नल लान्सेटमा प्रकाशित एक अध्ययनले २०५० भित्र नेपालको वयस्क जनसंख्याको आधाभन्दा धेरै जनसंख्या मोटोपनको शिकार हुने चेतावनी दिएको थियो ।
आँखा सम्बन्धी समस्या भएका १० व्यक्तिमध्ये एकजना परामर्श लिन समेत नआउने गरेको अध्ययनले देखाएको छ । यस प्रतिवेदनले आँखाको उपचारलाई आधारभूत स्वास्थ्य प्रणालीसँग जोड्नुपर्ने र समय समयमा बिस्तृत आँखा परीक्षण कार्यक्रम राख्नुपर्ने खाँचो पनि औल्याएको छ ।
त्यस्तै, निश्चित समुदायलाई लक्षित गरेर सचेतनामुलक कार्यक्रम गरिनुपर्ने पनि देखाएको छ । ‘स्वास्थ्य प्रवद्र्धन रणनीतिले मोटोपन, हाइपर्टेन्सन, मधुमेहजस्ता नसर्ने रोगहरुलाई सम्बोधन गर्नका लागि ध्यान दिनुपर्छ,’ रिपोर्टमा उल्लेख छ ।
