६ वर्षअघि सरकारले दुई चरणमा गरी ६५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने घोषणा गरे पनि अहिलेसम्म ८३ अस्पताल मात्रै बनेका छन् ।
What you should know
काठमाडौँ — स्थानीय तहमा आधारभूत अस्पताल बनाउन कति समय लाग्ला ? एक, दुई वा चार वर्ष ।
तर सरकारले ६ वर्षअघि दुई चरणमा गरी ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरे पनि अहिलेसम्म ८३ अस्पताल मात्रै बनेका छन् । समयमै अस्पताल निर्माण सम्पन्न नहुँदा त्यसको मूल्य भने आम सर्वसाधारणले चुकाइरहेका छन् ।
सरकारले २०७६/७७ मा आधारभूत अस्पताल नभएका स्थानीय तहमा दुई चरणमा अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । त्यतिबेला जनसंख्या र भूगोलका आधारमा ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको थियो । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल नै नभएको पृष्ठभूमिमा सरकारले यो योजना अघि सारको थियो ।
दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएर पहिलो चरणमा ३ सय ९६ पालिकामा अस्पताल शिलान्यास गरिएको थियो । दोस्रो चरणमा २ सय ४६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने घोषणा थियो । तर ६ वर्ष बित्दा ८३ वटा अस्पताल बनेका छन् भने ३ सय ५३ वटा निर्माणाधीन अवस्थामा छन् । आधारभूत अस्पताल निर्माण गर्न सरकारले ९२ अर्ब १६ करोड लागत अनुमान गरेकामा हालसम्म ३४ अर्ब खर्च भइसकेको छ ।
जग्गा प्राप्ति तथा विभिन्न समस्याका कारण अझै २ सय ३९ स्थानीय तहमा निर्माण नै सुर भएको छैन । विडम्बना त के छ भने बनेका अस्पतालबाट समेत पूर्ण रूपमा सेवा सञ्चालनमा आउन सकेका छैनन् । आधारभूत अस्पताल निर्माण गर्न सरकारले ९२ अर्ब १६ करोड लागत अनुमान गरेकामा हालसम्म ३४ अर्ब खर्च भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका प्रमुख डा कृष्ण पौडेलले अस्पताल निर्माणको काम स्थानीय तहलाई नै दिइएको बताउँदै भने, 'जग्गा प्राप्तिदेखि अरु काम स्थानीय तहले गर्ने हो । हामीले अहिले आधा पनि बजेट खर्च गर्न सकेका छैनौं । किनकि आधा पनि अस्पताल बनिसकेका छैनन् । ३३५ वटा अस्पताल विभिन्न चरणमा निर्माणाधीन छन् ।' उनले यो आर्थिक वर्षमा १ सय १६ वटा अस्पतालको निर्माण सकिने आँकलन सुनाए ।
सरकारले अस्पताल निर्माण गर्न नसक्दा समयमै रोगको निदान नहुने समस्याबाट आम नागरिक पीडित हुनुपरेको स्वाथ्य सेवा विभागका पूर्वमहानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले भने, 'समयमै आधारभूत अस्पताल नबन्दा ठूला अस्पतालमा बिरामीहरुको भिड बढेको छ ।'
