नेपालमा क्यान्सर सेवा प्रवाहमा गम्भीर कमजोरी : अध्ययन

अध्ययनले नेपालमा बिरामीले लक्षणलाई गम्भीर रूपमा नलिएको, स्वास्थ्य सेवामा पनि क्यान्सर पहिचानमा कमजोरी देखिएको, प्याथोलोजी तथा इमेजिङ जाँचमा पनि सीमित क्षमता, विशेषज्ञ परामर्श र उपचार सुरु गर्न संस्थागत प्रक्रिया ढिला जस्ता समस्या रहेको देखाएको छ ।

मंसिर १, २०८२

विवेक पोख्रेल

Serious weaknesses in cancer service delivery in Nepal: Study

What you should know

काठमाडौँ — नेपालमा क्यान्सर पहिचानदेखि उपचार सुरु हुने प्रक्रियामा ढिलाइ हुने गरेको अध्ययनले देखाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अन्तर्गतको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) मा कार्यरत नेपाली वैज्ञानिक डा. दीपेन्द्र सिंहको नेतृत्वमा १२ जनाको टोलीले गरेको अध्ययनमा यस्तो निष्कर्ष आएको हो। 

अध्ययन टोलीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा २०२२ मा दर्ता भएका १ हजार १८२ जना स्तन, फोक्सो, गर्भाशय, पेट, मुख, कोलोरेक्टल क्यान्सर बिरामीमाथि अध्ययन गरेको टिमको सहभागी समीक्षा अधिकारीले जानकारी दिइन् ।  

अध्ययनका अनुसार लक्षण देखा परेकोदेखि पहिलो पटक स्वास्थ्य सेवा लिन पुग्दासम्म दसदेखि ६३ दिन, स्वास्थ्य संस्थामा पुगेपछि क्यान्सर पुष्टि हुन २१  देखि १०४ दिनसम्म लाग्ने गरेको छ । अध्ययनले रोग पत्ता लागेपछि उपचार सुरु हुन ७ देखि ४० दिनसम्म लाग्ने गरेको देखाएको छ। यसरी हेर्दा लक्षण सुरुदेखि उपचार सम्मको कुल समय ६३ देखि २०४ दिनसम्म रहेको छ । 

‘५० प्रतिशत बिरामीहरूले पहिले स्वास्थ्य सेवा प्रदायकलाई देखाएपछि एक महिनाभन्दा बढी कुर्नुपर्‍यो, त्यसपछि निदान गर्न डेढ महिनाभन्दा बढी पर्खनुभयो, अर्थात् लक्षण देखा परेको ४ महिनापछि बिरामीहरूले उपचार सुरु गरे,’ अध्ययनका प्रमुख डा. सिंहले भने,‘२५ प्रतिशत बिरामीहरूले उपचार सुरु नभएसम्म ६ महिना भन्दा बढी पर्खिरहेका थिए। ’ उनका अनुसार यस्तो ढिलाइका कारण बिरामीमा जटिलता र दीर्घकालीन समस्या देखा परेको छ । अध्ययनमा पुरुषहरूमा महिलाभन्दा उन्नत चरणमा क्यान्सर जोखिम धेरै देखिएको थियो । क्यान्सरका प्रकारहरूमध्ये फोक्सोको क्यान्सरमा उन्नत चरणमा सम्भावना सबैभन्दा बढी, त्यसपछि पेटको क्यान्सर थियो । तुलनामा कोलोरेक्टल क्यान्सर सबैभन्दा कम देखिएको अध्ययनले बताएको छ । 

Serious weaknesses in cancer service delivery in Nepal: Studyअध्ययनले बिरामीले लक्षणलाई गम्भीर रूपमा नलिएको, स्वास्थ्य सेवामा पनि क्यान्सर पहिचानमा कमजोरी देखिएको, प्याथोलोजी तथा इमेजिङ जाँचमा पनि सीमित क्षमता, विशेषज्ञ परामर्श र उपचार सुरु गर्न संस्थागत प्रक्रिया ढिला जस्ता समस्या देखाएको छ ।  

क्यान्सरको लक्षण देखा परेपछि ढिलाइ नगरी उपचार लिनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।‘क्यान्सर उपचारमा हुने ढिलाइ घटाउनु क्यान्सरको नतिजामा सुधार ल्याउन मात्र होइन, नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पनि अत्यावश्यक छ,’ डा. सिंहले भने, ‘क्यान्सर उपचारका तीनवटै मुख्य चरण स्वास्थ्य सेवा खोज्ने, निदान पाउन लाग्ने समय र उपचार सुरु हुन लाग्ने समय सबैमा गम्भीर ढिलाइ भएको देखाएको छ। यसका लागि सार्वजनिक जागरूकता बढाउने,  स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थाको क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully