कार्यक्रममा स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा.राधिका थपलियाले सुर्तीजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनमा अवरोध आउन सक्ने भएकाले सबैजना सचेत हुनुपर्ने बताइन् ।
What you should know
काठमाडौँ — सुर्तीजन्य पदार्थमा कर बढाउने र चुरोटका प्याकेटमा सय प्रतिशत चित्रात्मक स्वास्थ्य चेतावनी (पीएचडब्ल्यूएस) सन्देश छाप्ने कानुन कार्यान्वयन विषयमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्य खबर फाउन्डेसनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान समयमा देशमा देखिएको राजनीतिक अस्थिरताका कारण सुर्ती उद्योगले मौका छोप्न सक्ने हुँदा सबै सचेत रहनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
कार्यक्रममा स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा.राधिका थपलियाले सुर्तीजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनमा अवरोध आउन सक्ने भएकाले सबैजना सचेत हुनुपर्ने बताइन् । उनी भन्छिन्,‘१८ वर्ष नपुगेकालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने, देखाएर बेच्न नपाइने, र एक पिसमात्र बेच्न नपाइने जस्ता नियम कार्यान्वयन भइरहेको छैन ।’
सात प्रदेशमा पुगेर अनुसन्धान गर्दा मधेशको अवस्था चिन्ताजनक रहेको उनले बताएकी छिन् । ‘मधेशका कुनै स्कुलका साना विद्यार्थीको खल्तीबाट गुट्खा भेटियो र उनीहरुले त्यसलाई चकलेट जसरी नै खाइरहेका थिए,’ उनले भनिन्,‘स्कुलको क्यान्टिनमा यसरी राख्न पाइँदैन भनेपछि एक हप्ता पछाडि जाँदा त्यहाँ हटाएको देखियो । त्यसैले स्वास्थ्य चेतावनी एउटा तरिकाबाट भन्दा पनि धेरै तरिका अपनायौ भने यसको रोकथाम गर्न सकिन्छ ।’ यस्ता पदार्थमा कर बढाउँदा प्रयोगदर घट्ने गरेको अध्ययनले देखाएको उनले बनाइन् ।
पहिलाको तुलनामा अहिले सार्वजनिक स्थलमा धुम्रपान गर्ने प्रविधि हटेको थपलियाले जनाएकी छन् । ‘केही वर्ष अगाडिसम्म सार्वजनिक स्थलहरुमा, टेम्पोमा हिँड्दासमेत धुम्रपान गरेको देखिन्थ्यो । अहिले त्यो हटेको छ,’ उनले भनिन्,‘होटल, क्याफेमा भने अहिले पनि धुम्रपान गर्नेको संख्या भने धेरै देखिन्छ । समुदायका मान्छेमा विकास भएमा मात्र यस्ता कार्यक्रमरु सफल हुन्छन् ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थरहित देश बनाउन सबैको लक्ष्य रहेको बताएका छन् । साथै गत वर्ष माघ २१ गते मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार सुर्तीजन्य पदार्थको प्याकेजिङमा सय प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने व्यवस्था ल्याइएको उनले बताए । तर उद्योगीहरुले त्यसविरुद्ध मुद्दा हालेकोले कार्यान्वयनमा ढिलाई भएको जनाएका छन् ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपालमा सुर्तीजन्य पदार्थका नियन्त्रणका लागि बनाइएको कानुनमाथि भएको अवरोधहरुलाई परास्त गर्दै यहाँसम्म आइपुगेको बताएका छन् । ‘अदालतमा मुद्दा हालेर ढिलासुस्ती गर्ने काम विश्वव्यापी हो,’ उनले भने,‘उद्योगीहरु कानुनविरुद्ध मुद्दा हाले पनि सर्वोच्च अदालतले प्राय: स्वास्थको पक्षमा निर्णय गरेको पाइएको छ ।’
चन्दका अनुसार ९० प्रतिशत चित्रात्मक प्रभावकारी भएको छ, त्यसैले नेपालमा १०० प्रतिशत चित्रको नीति सफल बनाउनुपर्छ ।
यसरी नै जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले सूर्तीजन्य पदार्थमा सतप्रतिशत चित्रांकन र ‘प्लेन प्याकेजिङ’ प्रणालीबारे प्राविधिक जानकारी साथै कार्यान्वयनको वर्तमान स्थिति प्रस्तुत गरेका थिए ।
स्वास्थ्य खबर फाउन्डेशनका अध्यक्ष प्रवीण ढकालले जेन-जी आन्दोलनपछि जनस्वास्थ्यका मुद्दा ओझेल परेकाले पुन: केन्द्रमा ल्याउन उक्त कार्यक्रम गरेको जानकारी गराएका थिए ।
सरकारले गत माघमा ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’परित गरेको थियो । चित्रात्मक स्वास्थ्य चेतावनी कार्यान्वयनको वर्तमान स्थिति कस्तो छ भनी प्रस्तुत गरिएको थियो ।
चित्रात्मक स्वास्थ्य चेतावनीले मानिसलाई कसरी प्रभाव पारेको छ । पीएचडब्ल्यूएस प्रभावकारी बनाउन खोज्दा उद्योगहरुबाट कस्ता खालका चुनौतीहरु सामना गर्नुपर्यो भन्ने विषय बिभिन्न व्यक्तिहरुले आफ्नो बिचार प्रस्तुत गरेका थिए ।
के हो साधा (प्लेन) प्याकेजीङ भनेको ?
यसको मुख्य उद्देश्य
विशेषगरी युवाहरुमा सुर्तीजन्य पदार्थको आकर्षण घटाउने र स्वास्थ्य चेतावनीलाई अझ प्रभावकारी बनाउने रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर सुर्तीजन्य पदार्थको सेवनले हरेक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये ७० लाखभन्दा बढीको मृत्यु सुर्तीजन्य पदार्थजस्तै चुरोट, बिडी, सुर्ती आदिबाट हुने गरेको छ । साथै धुम्रपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुम्रपानको धुँवा (सेकेन्ड ह्यान्ड स्मोक) ले गर्दा १२ लाखभन्दा मानिसको हरेक वर्ष मृत्यु हुने गरेको छ ।
