सल्यानको दार्माका ५१ जनालाई स्क्रब टाईफसको संक्रमण पुष्टि

गाउँपालिकाका दुई वटा वडाका १२८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५१ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भएको हो।

कार्तिक १७, २०८२

विप्लव महर्जन

51 people from Darma, Salyan confirmed to be infected with scrub typhus

सल्यान — सल्यानको दार्मा गाउँपालिकाका ५१ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भएको छ। गाउँपालिकाका दुई वटा वडाका १२८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५१ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भएको हो।

गत दुई साताको अवधिमा उच्च ज्वरोका कारण चार महिलाको मृत्यु र गाउँमा बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको थियो। गाउँपालिकाले मंगलबार अन्य वडाहरूमा पनि स्वास्थ्य परीक्षण शिविर गर्ने भएको छ।

गाउँपालिकाले त्रसित नहुन र लक्षण देखिएका बिरामीहरूलाई शिविरमा आएर स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ। ज्वरोका बिरामी बढेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान, दार्मा गाउँपालिका र जेन-जी समूहले आइतबार र सोमबार मात्र संयुक्त रुपमा वडा नं ३ र ५ मा शिविर संचालन गरेका हुन्।

वडा नं ३ मा ६७ जनालाई स्वास्थ्य परीक्षण गर्दा २३ र ५ मा ६१ जनाको परीक्षण गर्दा २८ लाई स्क्रब टाईफसको संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकामध्ये एक जनालाई थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरिएको छ।

गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले धेरै जनामा स्क्रब टाईफसको संक्रमण भएको पुष्टि भएपछि शंकास्पद सबै बिरामीहरूको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको बताए। उनका अनुसार मंगलबारदेखि दार्माकोट, ढाकाडाम र भल्चौर स्वास्थ्यचौकीबाट नियमित रुपमा स्वास्थ्य परीक्षण गरिने छ।

दुई वडामा परीक्षण सम्पन्न भइसकेकाले थप चार वडाका स्थानीयका लागि तीन स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । पालिकाभरि ६ सय भन्दा बढी बिरामी रहेका उनले बताए।

‘स्क्रब टाईफसले महामारीको रुप लिन थालेपछि स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण मात्र नभई पालिकाबासीको ज्यान बचाउन र स्वास्थ्यकर्मीको समुह बनाएका छौँ । प्रभावित क्षेत्रमा गएर रोगबाट कसरी बच्न सकिन्छ भन्ने सचेतना फैलाउने काम गर्छौ,' उनले भने ‘रोगको संक्रमणबाट बालबालिका प्रभावित हुन नदिन विद्यालयमा गएर सचेत गराउँछौँ ।' 

यता स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले प्रदेश सरकारले पठाएको किट सकिएकाले तत्काल सहयोग गर्न नसकेपनि शिविर संचालन गर्दा प्राविधिक सहयोग गर्ने बताए। प्रदेश सरकारसंग किट माग गरिएको र आएमा पठाउने उनले बताए ।

स्वास्थ्य सेवा कार्यालयमा बजेट प्रयाप्त नभएकाले अहिले सबैलाई पालिकालाई आफ्नै स्रोतबाट किट खरिद गर्न सल्लाह दिएको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully