स्तन क्यान्सरबाट बचेका महिलाहरूलाई आत्मसम्मानका साथ जीवनयापन गर्न प्रोत्साहित गर्ने उद्देश्यले नारायणी सामुदायिक अस्पताल भरतपुरमा ‘प्याडेड ब्रा सपोर्ट’ कार्यक्रम आयोजना गरिएको हो ।
What you should know
काठमाडौँ — इनर व्हिल क्लब अफ बुद्धनगर (क्यान्सर सर्भाइभर्स समूह) ले स्तन क्यान्सरबाट बचेका महिलाहरूका लागि नेपालमै पहिलोपटक ‘प्याडेड ब्रा सपोर्ट’ कार्यक्रम नारायणी सामुदायिक अस्पताल भरतपुरमा सम्पन्न गरेको छ ।
‘लिभ विथ डिग्निटी’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रम स्तन क्यान्सरबाट बचेका महिलाहरूलाई आत्मसम्मानका साथ जीवनयापन गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो ।
क्लबका पदाधिकारीका अनुसार, सर्जरीपछि शरीरमा आउने शारीरिक परिवर्तनका कारण धेरै महिलामा आत्मविश्वास घट्ने समस्या देखिने भएकाले यस्तो सहयोगले उनीहरूलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि सहज बनाउने विश्वास गरिएको छ ।
कार्यक्रममा डा. भक्तमान श्रेष्ठले व्यक्तिगततर्फबाट क्लबलाई रु १ लाख सहयोग गरे । त्यस्तै, नारायणी सामुदायिक अस्पतालले पनि रु १ लाख ५० हजार सहयोग गरेको छ ।
डा. भक्तमान श्रेष्ठले २०५३ सालमा आफूले पहिलो पटक स्तन शल्यक्रिया (ब्रेस्ट अपरेसन) गरेको अनुभव सुनाउँदै भने, 'परिवार र समाजको माया र हौसला भए, रोगसँग लड्न सकिन्छ र लामो आयु बाँच्न पनि सम्भव हुन्छ ।' २९ वर्षअघि आफ्नो पहिलो बिरामी बबी शाक्य अहिले पनि स्वस्थ र सक्रिय जीवन बाँचिरहेको र अरुलाई प्रेरणा दिँदै हिँडेको देख्दा खुसी व्यक्त गरे । डा. भक्तमान श्रेष्ठले आजसम्म दुई हजार सात सयभन्दा बढी महिलाको स्तन क्यान्सर अपरेसन गरेको बताए ।
कार्यक्रममा सहभागी एक क्यान्सर सर्भाइभरले पनि रु २१ हजार सहयोग गर्दै सकारात्मक सोचले जीवनमा नयाँ उत्साह ल्याउने सन्देश दिए ।त्यसैगरी, गैंडाकोटकी देवीकुमारी आचार्यका अनुसार, उनलाई क्यान्सरसँगै कोलेस्ट्रोल, प्रेसर र थाइराइडका औषधि पनि नियमित रूपमा खानुपर्छ । तर उनी अझै पनि सक्रिय जीवन बाँचिरहेकी छन् । उनका अनुसार, स्वस्थ खानपान, सकारात्मक सोच र खुसी मनले नै जीवनलाई सहज बनाउँछ ।
इनर व्हिल क्लब अफ बुद्धनगरकी अध्यक्ष नानीमाया तामाङका अनुसार, क्लब तीन वर्षअघि स्थापना भएको हो ।उनका अनुसार, क्लबले स्तन क्यान्सरबाट बचेका महिलाहरूको पुनःस्थापनाका लागि नियमित रूपमा सहयोग र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
संस्थापक अध्यक्ष तारा अमात्यले क्यान्सरपछि अपनाउनुपर्ने जीवनशैली र व्यवहारबारे सचेतना फैलाउने अभियानलाई निरन्तरता दिइरहेको बताइन् ।
क्लबकी सचिव बबी शाक्य स्तन क्यान्सरसँगको लामो संघर्षपछि निको हुन सफल भएकी उदाहरणीय सर्भाइभर हुन् । करिब २९ वर्षअघि उनको पहिलो स्तन शल्यक्रिया डा. भक्तमान श्रेष्ठद्वारा गरिएको थियो । त्यसको १० वर्षपछि अर्को स्तनमा पुनः क्यान्सर देखा पर्यो, उक्त अपरेसन पनि डा. भक्तमानले नै गरे । दुई वर्षपछि रोग हड्डीसम्म फैलिँदा केमोथेरापी गर्नुपरेको र त्यसपछि हड्डी निको भएको उनले बताए । केही समयपछि छालामा असर देखिए पनि २०६७ सालमा गरिएको अन्तिम उपचारपछि रोग पूर्ण रूपमा नियन्त्रणमा आई अहिले स्वस्थ जीवन बाँचिरहेकी छन् ।
सचिव शाक्यका अनुसार, आर्टिफिसियल ब्रेस्ट वा प्याडेड ब्रा आवश्यक स्थानमा उपलब्ध गराउनु क्लबको प्रमुख उद्देश्य हो ।
आयोजकका अनुसार, यस कार्यक्रमले स्तन क्यान्सरबाट बचेका महिलामा आत्मविश्वास र आत्मसम्मान बढाउँदै, समाजमा क्यान्सरप्रतिको डर र गलत धारणा तोड्ने उद्देश्यसहित 'क्यान्सर अन्त्य होइन, नयाँ जीवनको सुरुवात हो' भन्ने सकारात्मक सन्देश दिएको छ ।
कार्यक्रममा १८ जना ब्रेस्ट क्यान्सर सर्भाइभर सहभागी भएका थिए । तीमध्ये अधिकांशको अपरेशन डा. भक्तमान श्रेष्ठले गरेका थिए ।
