तीन दिन सञ्चालन भएको यो परीक्षामा यो वर्ष बंगलादेश, भारत, नेपाल, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभ्स देशका ४६ परीक्षार्थीहरू सहभागी थिए ।
What you should know
काठमाडौँ — विश्वभरका चिकित्सकहरुको योग्यता, सिप तथा ज्ञानको परीक्षण गर्ने ‘एमआरसीपी युके पेसेस परीक्षा’ चौंथो पटक नेपाल मेडिसिटीमा सम्पन्न भएको छ ।
असोज २८ गतेदेखि सुरु भएर ३० गतेसम्म ३ दिन सञ्चालन भएको यो परीक्षामा यो वर्ष बंगलादेश, भारत, नेपाल, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभ्स देशका ४६ परीक्षार्थीहरू सहभागी रहेको डाक्टर नीरज जोशीले बताए । उनी यो परीक्षामा नेपालकोतर्फबाट प्रमुख परीक्षक हुन् ।
बिहीबार मेडिसिटीमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर जोशीले दक्षिण एसियाको परीक्षा केन्द्रमध्ये नेपाल पनि पर्ने तर नेपालको लागि भने नेपाल मेडिसिटी पहिलो र एकमात्र केन्द्र रहेको जनाए ।
‘एमआरसीपी भनेको नेपाल र इन्डियाको एमडी इक्विभ्यालेन्ट डिग्री हो । त्यो भनेको इन्टरनल मेडिसिनमा राम्रो तालिम लिएको छ भन्ने डिग्री हो । यो चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो,’ डाक्टर जोशीले भने, 'यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यसले साइन्स मात्रै होइन आर्टलाई पनि हेर्छ । बिरामी ठीक पार्न सक्नु मात्रै होइन, उनीहरूलाई बुझाउन सक्नु पर्यो, समानूभूत र सहानुभूति हुनुपर्यो । त्यसैले यो परीक्षाले आर्ट पनि परीक्षा गर्छ ।‘
यो परीक्षा मात्रै नभई सिकाइसमेत रहेको डाक्टर जोशीले बताए । सन् २०२४ देखि नेपालका लागि नेपाल मेडिसिटीले निरन्तर रुपमा परीक्षा केन्द्रका रुपमा परीक्षा सञ्चालन गर्दै आएको छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसीपी युकेबाट अनुमति पाएका जुनसुकै अस्पतालमा काम गर्न सक्दछन् । धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसीपी युके योग्यता पूरा गर्नका लागि विदेशिने गरेको हुँदा यो परीक्षालाई सुरु गरेको पनि डाक्टर जोशीले बताए । तर, यसको आवश्यक ठानेर नेपालमा ल्याउने काममा भने डा. सत्यन राजभण्डारीले अग्रणी भूमिका निभाएका छन् । सुरुवातदेखि नै नपाल मेडिसिटीकी डा. प्रगति कोइरालाले यस परीक्षाको लागि समन्वयन गर्दै आएकी थिइन् ।
अब भने नेपालका चिकित्सकहरूलाई आफ्नै देशमा यो परीक्षा दिने वातावरण बनेको छ । ‘एमडीमा छिर्न निकै महँगो छ । तर यो परीक्षा त्यति महँगो छैन । यो अन्तर्राष्ट्रिय योग्यता पनि हो,’ जोशीले भने, 'एमबीबीएस गरेका थुप्रै विद्यार्थी यही परीक्षाका लागि विदेश जान थालेका कारण यो परीक्षालाई नेपालमा सुरु गरिएको हो ।‘
परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १५ जना परीक्षकको उपस्थिति थियो । डा. डेभिड ब्ल्याक, डा. एलिनोर ग्रोगन, डा. अर्थर डकं, डा. क्याट्या एडि र डा. काथिर योगनाथन बेलायतबाट परीक्षा निरीक्षणका लागि रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग, रोयल कलेज अफ फिजिसियनस् एण्ड सर्जनस् अफ ग्लासगो र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् ।
त्यस्तै, नेपालबाट परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका डा.निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जित कृष्ण श्रेष्ठ र डा. लक्की शर्मा, नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबाट डा. सुदीप श्रेष्ठ, ह्याम्स अस्पतालबाट डा. रक्षा पाण्डे, नर्भिक अस्पतालबाट डा. यादव के. डि भट्ट, चितवन मेडिकल कलेजबाट डा. शीतल अधिकारी, आईओएमबाट डा. महेशराज सिग्देल, ओम अस्पतालबाट डा. रविन्द्र श्रेष्ठ, नेपाल मेडिकल कलेजबाट डा. प्रविन अधिकारी पाटन अस्पतालबाट डा. युवराज शर्मा र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डा. अरुण मास्के परीक्षकका रुपमा सहभागी थिए ।
