स्थानीय, प्रदेश र संघीय सरकारले समेत हैजाको प्रकोप नियन्त्रणका लागि प्रयास गरेपनि व्यवहारमा भने अहिलेसम्म न त हैजाको संक्रमण नियन्त्रण भएको छ, न त संक्रमणको स्रोत नै पत्ता लागेको छ।
What you should know
पर्सा — पर्सामा हैजाको संक्रमण देखा परेको दुई साता बितेको छ। तर यहाँ फैलिएको संक्रमणको श्रोत भने अहिलेसम्म पनि पत्ता लागेको छैन। स्थानीय, प्रदेश र संघीय सरकारले समेत हैजाको प्रकोप नियन्त्रणका लागि प्रयास गरेपनि व्यवहारमा भने अहिलेसम्म न त हैजाको संक्रमण नियन्त्रण भएको छ, न त संक्रमणको स्रोत नै पत्ता लागेको छ।
सुरुवातमा वीरगन्ज महानगरपालिकाको सीमित क्षेत्रमा मात्र देखिएको हैजा अहिले वीरगन्जबाट करिब २० किमी पश्चिम पोखरिया नगरपालिका क्षेत्रमा पनि देखिएको छ। महानरपालिका कार्यालयले बुधबार साँझ साढे ५ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार, वीरगन्जमा मात्रै हैजा संक्रमितको सख्ंया १ सय ८२ पुगेको छ ।
ती मध्ये १ सय ८२ उपचारपछि अस्पतालहरुबाट घर फर्किसकेका छन् । १० हैजा संक्रमित अझै उपचाररत छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार, पोखरिया अस्पतालमा हाल सम्म १३ हैजा संक्रमित पुष्टि भएका छन् । वीरगन्ज र पोखरियाको समेत गरी जिल्लामा हाल सम्म हैजा संक्रमितको संख्या १ सय ९५ पुगेको छ ।
वीरगन्जका विभिन्न अस्पतालहरुमा गरी हाल सम्म ९ सय ६५ झाडापखाला तथा हैजाका बिरामी सम्पर्कमा आएका छन् । ती मध्ये ९ सय ६५ डिस्चार्ज भई घर फर्केका छन् । ५५ बिरामी अझै बिभिन्न अस्पतालमा उपचाररत छन् । २४ घण्टामा झाडापखाला तथा हैजाका ५१ नया बिरामी थपिएका छन् ।
हाल पनि ८ बिरामी आइसियु, १ एचडियु र ४६ जेनरल वार्डमा गरी ५५ बिरामी उपचाररत नै छन् । प्रकोप फैलिन नदिन भन्दै वीरगन्ज महानगरपालिकाको कार्यालयले डेढ साता देखि बन्द गराएको यहाँका शिक्षण संस्था बुधबारदेखि आंशिक रुपमा सन्चालनमा आएका छन् । कक्षा ८ देखि माथिको मात्र पठन पाठन सुरु भएको छ ।
चिकित्सकहरु सुरुवाती दिनहरुको जस्तो हैजा संक्रमण दर उच्च नरहेको दाबी गर्छन् । नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह हैजा सुरु भएको पहिलो साताको पहिलो चार दिन सम्म अस्पतालमा आउने कूल झाडापखालाका बिरामीमध्ये ५० प्रतिशतमा हैजा संकक्रमण पुष्टि हुने गरेकोमा डेढ साता यता यसरी हैजा संक्रमण पुष्टि हुने दर १० प्रतिशत हाराहारीमा रहेको बताउँछन् । उनले हाल आत्तिनु पर्ने अवस्था नहरेपनि सर्वसाधारणले सावधानी अपनाउन भने आवश्यक रहेको बताए ।
