पर्सामा घटेन हैजा संक्रमण दर : वीरगञ्जमा मात्रै १५९ संक्रमित

वीरगन्ज र पोखरियामा गरी जिल्लामा अब हैजा संक्रमितको संख्या १ सय ७५ पुगेको छ ।

भाद्र १५, २०८२

शंकर आचार्य

Cholera infection rate did not decrease in Parsa: 159 infected in Birganj alone

What you should know

पर्सा — पर्सामा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणमा आउन सकिरहेको छैन। सरोकारवालाहरूले संक्रमण दर घटेको दाबी गरेपनि बिरामीको संख्या भने दिनहुँ थपिँदो छ। वीरगन्ज महानगरपालिकाले आइतबार बिहान करिब १० बजे सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार, महानगरपालिकामा मात्रै हैजा संक्रमितको संख्या १ सय ५९ पुगेको छ।

उता पोखरिया अस्पतालमा सम्पर्कमा आएकाहरूमा मध्येमा पनि हैजा संक्रमितको संख्या १६ पुगिसकेको छ । वीरगन्ज र पोखरियामा गरी जिल्लामा अब हैजा संक्रमितको संख्या १ सय ७५ पुगेको छ ।

हैजाको प्रकोपबारे स्थलगत जानकारी लिन आउने संघीय सरकारका मन्त्रीहरू यहाँका हैजा तथा झाडापखालाका बिरामीहरूलाई भेटे लगत्तै अब यी रोगको प्रकोप घट्दै जाने दाबी समेत गर्छन् । प्रकोप फैलिन नदिन भन्दै महानगरपालिकाको कार्यालयले एक सातादेखि यहाँका सम्पूर्ण शिक्षण संस्थानै बन्द गराएको छ । महानगरले खानेपानीको शुद्धता र सरसफाईमा पनि देखिने गरी नै ध्यान दिएकै छ । तर अझै पनि हैजाको जीवाणु फैल्याउने मुख्य श्रोतको यकिन हुन सकेको छैन ।

सुरुमा अनुमान गरिए जस्तो विभिन्न प्रयोगशालाहरूको नतिजाले वीरगन्ज महानगरमा खानेपानी संस्थान र डिप बोरिङ दुबै पानीमा हैजाको जीवाणु भेटिएन । तर पानीबाहेक अन्य वस्तुमा हैजाको जीवाणु खोज्ने प्रयास पनि कुनै सरोकारवाला निकायबाट भएको छैन । यस्तो अन्योलको अवस्थामा सर्वसाधारण पनि अन्योलग्रस्त र सशंकित छन् ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाको पछिल्लो तथ्यांक अनुसार, वीरगन्जस्थित विभिन्न अस्पतालहरूमा आइतबार बिहानसम्म ८ सय ४ झाडापखाला तथा हैजाका बिरामी सम्पर्कमा आएका छन् । ती मध्ये ३० नयाँ बिरामी हुन् । ८ सय ४ मध्ये ६ सय ९ उपचार पछि घर फर्कीसकेका छन् । १ सय ९५ अझै पनि उपचाररत छन् । उपचाररत १ सय ९५ मध्ये ४७ हैजा संक्रमित नै छन् । हाल पनि  १ सय ७२ बिभिन्न अस्पतालको जेनरल वार्डमा उपचाररत छन् । ६ जना एचडीयुमा र १७ जना आइसियुमा भर्ना भई उपचाररत छन् ।

उता, पोखरिया अस्पतालमा आइतबार सम्म कूल ३० झाडा पखालाका र हैजाका बिरामी उपचारका लागि भर्ना भएकोमा १६ जनामा हैजा संक्रमण पुष्टी भइसकेको अस्पतालका मेसु डा. आनन्द रौनियारले जानकारी दिए। शनिबार देखि आइतबारसम्ममा थप २ नयाँ बिरामी उपचारका लागि आएका छन् । शनिबार आधा दर्जन बिरामीहरू उपचार पछि डिस्चार्ज भई घर फर्केका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully