जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म भएको आरडीटी परीक्षणबाट १ सय १४ जनामा हैजा पुष्टि भएको हो ।
What you should know
पर्सा — वीरगन्जमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । मंगलबार साँझसम्म थप २१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । योसँगै महानगरमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा संक्रमण दर घट्नुको साटो बढ्दै गएको छ । सोमबारसम्म ९३ जनामा हैजा देखिएको थियो ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म भएको आरडीटी परीक्षणबाट १ सय १४ जनामा हैजा पुष्टि भएको हो ।
नारायणी अस्पतालमा ४३ र तराई अस्पतालमा ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । नेसनल मेडिकल कलेजमा १५, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३/३ जनामा, अली अर्थो र एडवान्स मेडिकेयर अस्पतालमा २/२ जनामा तथा नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी वयोधा र सर्वोत्तम अस्पतालमा १/१ जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जनाएको छ ।
महानगरका विभिन्न अस्पतालमा १ सय ९९ जना झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । मंगलबार साँझसम्म २ सय २३ हैजा र झाडापखालाका बिरामी डिस्चार्ज भई घर फर्किसकेका छन् ।
सोमबारसम्म वीरगन्ज महानगर क्षेत्रमा मात्र देखिएको हैजा अब पर्साका अन्य पालिकामा पनि फैलिन थालेको छ । झाडापखाला लागेर पोखरिया नगरपालिकास्थित अस्पतालमा मंगलबार भर्ना भएका ४ जनामा हैजा संक्रमण पुष्टि भएको छ । उनीहरू विन्दवासिनी र धोबिनी गाउँपालिकाका बासिन्दा हुन् । चार जनामै हैजा संक्रमण पुष्टि भएको र तीमध्ये एक रेफर भई मंगलबार साँझ वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए ।
हैजाको प्रकोप समुदायस्तरमा फैलिन जोखिम बढेपछि वीरगन्ज महानगरपालिकाले थप तीन दिनका लागि सबै शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । हैजाको संक्रमण फैलन थाले पछि आइतबार र सोमबार दुई दिन पनि विद्यालय र कलेज बन्द गरिएको थियो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले मंगलबार जारी गरेको सूचनामा मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय भएको उल्लेख छ । लामिछानेका अनुसार विद्यालय बन्द रहेको अवधिमा शिक्षक र कर्मचारीहरूलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतना फैलाउन परिचालन गरिनेछ ।
यसैबीच महानगरपालिकाले होटल र मासु पसलहरूमा अनुगमन थालेको छ । मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी ट्यांकी, बसपार्क र नगवा क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूको सरसफाइ अवस्था जाँच गरेको हो । महानगर प्रमुख सिंहको निर्देशनअनुसार पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरीको टोलीले अनुगमन गरेको हो ।
महानगरले हैजा नियन्त्रणका लागि जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, संक्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियान पनि सुरु गरेको छ । स्थानीयवासीलाई पानी उमालेर पिउन, सफा खानेकुरा मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।
झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरले पानी परीक्षण सुरु गरेको छ । हैजा संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुन सक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो ।
माइक्रोबायोलोजिस्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले महानगरका वडा १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरेर परीक्षण कार्य सुरु गरेका छन् । महानगरले वडा १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै आधुनिक प्रयोगशाला स्थापना गरेको छ । युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षणसमेत सुरु गरिएको छ ।
