नियन्त्रणको प्रयासबीच वीरगन्जमा हैजा विस्तार हुँदै, ९३ जनामा संक्रमण

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा आउने झाडापखाला तथा हैजाका बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् ।

भाद्र ९, २०८२

शंकर आचार्य

Cholera spreading in Birganj amid control efforts, infection in 93 people

What you should know

पर्सा —  झाडापखाला तथा हैजा नियन्त्रणका लागि ठूलो प्रयासका बीच वीरगन्ज महानगरमा हैजाका बिरामीको संख्या दैनिक बढ्दो छ । सोमबार साँझ ६ बजे सम्ममा महानगरका विभिन्न अस्पतालमा गरी हैजा संक्रमितको संख्या ९३ पुगेको छ । संक्रमित पुष्टि भएका व्यक्ति वीरगन्ज महानगरपालिका वडा नं. ३, ११, १२, १३ र १६ का हुन् ।

नारायणी र तराई अस्पतालमा ३२/३२ जना हैजा संक्रमित पुष्ट भएका छन् । नेशनल मेडिकल कलेजमा १२, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३/३ जना संक्रमित पुष्टि भएका छन् । अली अर्थो अस्पतालमा २, नारायणी सेन्टर, एडवान्स मेडिकेयर, नेपाल इन्डो, निलकण्ठ, नेपाल मेडिसिटी बयोधा र सर्वोत्तम अस्पतालमा १/१ जना संक्रमित पुष्टि भएका छन् ।

मन्त्री पौडेलले बिरामीलाई निःशुल्क उपचार गर्न दिए निर्देशन

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा आउने झाडापखाला तथा हैजाका बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् । सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा आयोजित अस्पतालकर्मी तथा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

Cholera spreading in Birganj amid control efforts, infection in 93 people‘नारायणी अस्पतालमा उपचारका लागि आउने झाडापखाला र हैजाका बिरामीले कुनै पनि प्रकारको शुल्क तिर्नु नपरोस्,’ उनले भने, ‘अस्पतालमा केही औषधि निःशुल्क र केही खरिद गर्न लगाएको पाइयो ।’ यसका साथै प्रयोगशाला परीक्षण पनि निःशुल्क गर्न उनले निर्देशन दिएका छन् ।

प्रकोपको समयमा औषधिको अभाव नहोस् भन्ने सुनिश्चित गर्न तिनै तहको सरकार प्रतिबद्ध रहने बताए मन्त्री पौडेलले । प्रभावित क्षेत्रका अस्पतालमा जनशक्ति अभाव नहोस् भन्ने कुरामा पनि आफू लागिपरेको बताए ।

उनले निजी अस्पतालहरुलाई संकटको समयमा मानवता देखाउन आग्रह गरे । ‘मन्त्रालयले निजी अस्पतालहरुलाई किट उपलब्ध गराउनेछ,’ उनले भने, ‘अन्य औषधि पनि उपलब्ध गराउनेछ, त्यसबापत बिरामीलाई उपचारमा छुट दिनु पर्छ, विपद्को बेला सबैले सहयोग गर्नु पर्छ ।’

वीरगन्जमा हैजाको प्रकोप देखिने कारण अझै पत्ता लाग्न नसक्नु चिन्ताको विषय भएको बताउँदै मन्त्री पौडेलले समयमै हैजाको प्रकोपको कारण पत्ता लगाउन सके यसले बढी फैलिन नपाउने बताए । खानेपानीको पाइप ढलमा डुबेको छैन भनी खानेपानी संस्थानका अधिकारीले दाबी गरे पनि कुन पाइप डुबेको छ त्यो यकिन गरी तीनमा रहेको चुहावट तत्काल पत्ता लगाउन जरुरी रहेको उनले बताए ।

‘नागरिक आफैं आफ्नो स्वास्थ्यप्रति सचेत भएर उमालेको पानी खाने, हात धुने बानी बसाल्ने हो भने प्रकोप आफैं घट्दै जानेछ,’ उनले बताए । संकटको समयमा सञ्चारजगत र सञ्चारकर्मीले संयमित भई कलम चलाउनु पर्ने कुरामा पनि उनले जोड दिए ।

नियन्त्रणमा प्रभावकारीता ल्याउन एकद्वार नीति अवलम्बनमा जोड

हैजाको संक्रमण नियन्त्रणमा प्रभावकारिता ल्याउन प्रभावित क्षेत्रमा जथाभावी औषधिजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न सरोकारवालाले जोड दिएका छन् । सोमबार वीरगन्जमा आयोजित सरोकारवालाको अन्तरक्रियात्मक छलफलमा सहभागीहरूले यस्तो जोड दिएका हुन् ।

स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल कार्यक्रममा वीरगन्ज महानगर प्रमुख सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिए । उनले हैजालाई हौवा बनाएर व्यापार नगर्न सबैलाई आग्रह गरे ।

निजी अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको देखिएको भन्दै सिंहले सरकारले नै किट निःशुल्क उपलब्ध गराउने बताए । छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिए । उनले निजी स्वास्थ्य संस्थाले झाडापखालाजन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनु उपयुक्त हुने बताए ।

महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र त्यहाँ आइसियुमा उपचाररत बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।

स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखाका प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको बताए । उनले एउटा बिरामीमा हैजाको पुष्टि भइसकेपछि त्यस्तै लक्षण देखिएका अन्य बिरामीको परीक्षण दोहोर्याइरहनु नपर्ने बताए । यस प्रकारको बिरामीको सिधा उपचारमा ध्यान दिनुपर्ने उनले बताए । स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली आइतबारदेखि वीरगन्जमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारका गतिविधि अनुगमन गरिरहेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully