अस्पतालको ६६ औं वार्षिक उत्सवमा आयोजित समारोहमा उनले अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक’ ले नवजात शिशुको मृत्युदर घटाउन भूमिका खेल्ने र बन्द भइसकेको आईभीएफ पुनः सञ्चालनले निःसन्तानहरुले सर्वसुलभ रूपमा सेवा पाएको बताए ।
What you should know
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रसूति गृह केबल अस्पताल मात्र नभई, लाखौं आमा र शिशुको जीवन जोड्ने धरोहर पनि भएको बताएका छन् ।
अस्पतालको ६६ औं वार्षिक उत्सवमा आयोजित समारोहमा उनले अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक’ ले नवजात शिशुको मृत्युदर घटाउन भूमिका खेल्ने र बन्द भइसकेको आईभीएफ पुनः सञ्चालनले निःसन्तानहरुले सर्वसुलभ रूपमा सेवा पाएको बताए ।
‘निकट भविष्यमै काठमाडौंका दुई नगरपालिकामा २५/२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माण गरेर उपत्यकाको बढ्दो बिरामीको चाप व्यवस्थापन गर्ने तयारी छौं,’ उनले भने ।
अस्पतालमा २०६८ सालमा सञ्चालित मुलुकै पहिलो आईभीएफ सेवा २०७२ सालको भूकम्प पश्चात बन्द भएको थियो । जर्मन विकास बैंक (एफ डब्लु) को सहयोगमा चन्द्रागिरि नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकामा २५–२५ शय्याको प्रसूति तथा नवजात शिशु अस्पतालको निर्माणको सम्झौता भइ कार्यान्वयनको चरणमा रहेको अस्पतालले जनाएको छ ।
समारोहमा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पुर्याएको योगदानको समीक्षा गरिएको छ ।
अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले दूरबिन (ल्याप्रोस्कोपीक/हिस्टेरोस्कोपी) प्रविधिमार्फत शल्यक्रिया गर्न सुरु गरिएको र बिरामीको चापलाई मध्यनजर गरेर थप उपकरणको व्यवस्था गर्दै लैजाने तयारीमा रहेको बताए । ‘भ्रूण तथा गर्भमा रहेको शिशुको आनुवांशिक रोगको निदान गर्न पहिलोपटक नियोनेटल स्क्रिनिङ टेस्टको सुरु गरेका छौं,’ उनले भने, ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम छेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाइ उद्धार सेवाबाट उद्धार गरी ल्याएका ४१ जना महिलाहरूको उपचार गरेका छौं ।’
अस्पताल २०१६ साल भदौ १० गते श्रीकृष्ण जन्माष्टमीमा पारेर ४० शय्याबाट सुरु भएको अस्पताल हाल ४ सय ८९ शय्या सञ्चालनमा छ ।
अस्पतालका अनुसार २०८१/८२ मा २० हजार ९ सय ८ जनाले प्रसूति सेवा लिए । भने २१ हजार १ सय ४१ जना शिशुको जन्म भएको तथ्यांक छ ।
