स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री

असार ३०, २०८२

कान्तिपुर संवाददाता

The health insurance sector will be reconsidered: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको बताउँदै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने जनाएका हुन्।

उनले ‘निरोगी नेपाल’ अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे।

नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्तमता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा अझै सफलता हासिल गर्दै जानुपर्नेमा उनले जोड दिए।

'मानिसहरू बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन्। अस्पताल पुगेपछि बिरामीले ‘बाँच्छु’ भन्ने आशा राखेको हुन्छ। त्यो विश्वास पूरा गर्नु तपाईँहरूको दायित्व हो,' प्रधानमन्त्री ओलीले भने, 'नर्सहरूको हातमा जादु हुन्छ। बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि निको पार्छ। ठीक औषधि, ठीक मात्रामा र ठीक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधि खुवाउने र स्याहार–सुसार गर्ने काम नर्सहरूको हो।'

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरे। अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै सो नयाँ सेवा भवनको उद्घाटन प्रधानमन्त्री ओलीबाट गरिएको थियो।

कान्तिपुर

Link copied successfully