काठमाडौँ — स्नायु विज्ञानसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन– २’ बिहीबार सम्पन्न भएको छ । नेपालमा आधुनिक स्नायु स्वास्थ्य विज्ञानका अंग्रणी मानिएका प्रा.डा. उपेन्द्र देवकोटाको ७ औं पुण्य तिथि पारेर उपेन्द्र देवकोटा फाउन्डेसनले ‘स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ भन्ने मूल नारासहित स्नायुसम्बन्धी दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन– २’ आयोजना गरेको थियो
फाउन्डेसनका अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले स्ट्रोक, पार्किन्सन, छारेरोग, अल्जाइमर जस्ता रोगहरू बढ्दो क्रममा भएकाले समयमै पहिचान र उपचारका विधि माथि विमर्शका लागि सम्मेलन महत्वपूर्ण भएका बताइन् । उनले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको प्राविधिक दक्षतालाई सम्मेलनले सुधार गर्ने अवसर प्रदान गरेको विचार व्यक्त गरिन् ।
सम्मेलनमा स्नायु विज्ञानका विभिन्न विधा न्युरो सर्जरी, न्युरो–मेडिसिन, न्युरो–रेडियोलोजी, न्युरो–इन्टरभेन्सन, न्युरो–ओटोलोजी, न्युरो–एनेस्थेसिया, न्युरो–साइक्याट्री, न्युरो नर्सिङ एवं पुनस्र्थापनाका बारेमा देश तथा विदेशका विशेषज्ञ, चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गरेको आयोजक समितिका सभापति डा. सुरेश थुलुङले जानकारी दिए ।
सम्मेलनमा अमेरिकाको बोस्टन चिल्ड्रन अस्पताल (हार्वर्ड युनिभर्सिटी), लण्डनको किङ्स कलेज, भारतको अल इण्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेज र क्रिस्टियन मेडिकल कलेज, भेलोरसहित इजिप्ट, फ्रान्स, पाकिस्तान लगायत देशका विशेषज्ञ चिकित्सक सहभागी थिए । सम्मेलनको २५ वटा सत्रमा १ सय ३५ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
बेलायतका डा. बसेल जेबियन, डा. फ्रान्सेस्को भर्गानी, डा. जोसे पेड्रो लाभाडोर, भारतका डा. आनन्द बाल सुब्रमनियम र डा. आदित्य गुप्ता लगायत ३१ जना विज्ञहरुले स्नायुको बनोट, फंसनल न्युरोसर्जरी, इन्डोस्कोपबाट ढाड र दिमागको शल्यक्रिया, न्युरो इन्डो भास्कुलर तालिमका साथै न्युरोलोजीको वोटुलिन्म टक्सिनको प्रयोगबारे कार्यपत्र साथै अनुभव आदानप्रदान गरिएको सम्मेलनको वैज्ञानिक समितिका संयोजक डा. सुरेश विश्वकर्माले जानकारी दिए ।
सम्मेलनको उद्धघाटनमा उपेन्द्र देवकोटा फाउन्डेसनले वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरेको थियो । बेलायतको क्विन्स मेडिकल सेन्टर, नटिङहम युनिभर्सिटीमा वरिष्ठ स्नायु शल्यचिकित्सकबाट सेवा निवृत्त भएका होपले नेपालमा १५ बर्षभन्दा बढी समयदेखि स्नायु शिक्षा प्रदान गर्न मद्धत गर्दै आएका छन् । प्रा. डा. उपेन्द्र देवकोटाका सहकर्मी समेत रहेका होपले वीर अस्पताल, नाम्स देखि न्युरो अस्पताल बाँसबारीमा समेत सेवा प्रदान गरेका थिए ।
