बिरामीको उपचारमा पोषणको महत्त्वलाई थप विस्तार गर्न नेस्पेन गठन

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Nespan formed to further expand the importance of nutrition in patient treatment

काठमाडौँ — उपचाररत बिरामीहरुलाई दिइने पोषणमा एकरूपता ल्याउनका लागि नेप्लिज सोसाइटी फर प्यारेन्टेरल एण्ड इन्टरल न्युट्रिसन नेस्पेन गठन भएको छ ।

वरिष्ठ शल्यचिकित्सक डा. सुनिलकुमार शर्माको अध्यक्षतामा गठन गरिएको नेस्पेनको औपचारिक अनावरण प्राडा महेश खकुरेलले गरे ।

उद्घाटन सत्रमा बोल्दै प्राडा खकुरेलले बिरामीको उपचारमा पोषणको ठूलो महत्त्व रहे पनि यो विधा उपेक्षित रहेको बताउँदै भने,  'बिरामीको उपचार औषधिले मात्रै हुँदैन उसलाई राम्रो पोषणको आवश्यकता पर्छ । यसको महत्त्वलाई स्पष्ट पार्न नेस्पेनले भुमिका खेल्छ भन्ने मलाई लागेको छ । '

उद्घाटन सत्रमा बोल्दै डा. शर्माले बिरामीको उपचारमा पोषणको महत्वलाई थप विस्तार गर्न समाजको आवश्यकता रहेको बताए । 'बिरामीलाई एन्टिबायोटिक्सले मात्रै निको बनाउँदैन पोषण पनि आवश्यक पर्छ । उपचारमा पोषणको महत्त्वलाई विकास र विस्तार गर्न नेस्पेनले महत्त्वपूर्ण भूमिका खेल्ने छ,' उनले भने, 'हामीले निकट भविष्यमा नै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पोषणसम्बन्धी तालिम प्रदान गर्ने छौं ।' उनले नेस्पेनमा कुनैपनि विधाका चिकित्सक सदस्य हुन मिल्ने पनि जानकारी दिए ।

नवगठित नेस्पेनका महासचिव सघन उपचार विशेषज्ञ डा. किशोर खनालले आगामी दिनमा सोसाइटीले पोषण सम्बन्धी विश्वस्तरको मापदन्ड तयार पार्ने जानकारी दिए । उनका अनुसार बिरामीको उपचारमा आवश्यक पर्ने पोषणसम्बन्धी मान्यता र प्रयोगमा एकरूपता ल्याउनका लागि सोसाइटीले माण्दन्ड तयार पारेर सरोकारवालाहरुलाई तालिम दिने व्यवस्था मिलाउने छ ।

नवगठित नेप्लिज सोसाइटी फर प्यारेन्टेरल एण्ड इन्टरल न्युट्रिसनको अध्यक्षमा शल्य चिकित्सक डा. सुनिल कुमार शर्मा, उपध्यक्षमा सघन उपचार विशेषज्ञ डा. हेमराज पनेरु, महासचिवमा सघन उपचार विशेषज्ञ डा. किशोर खनाल र कोषाध्यक्षमा डा. पुण्य खरबुजा रहेका छन् ।

यस्तै, सदस्यहरुमा डा. प्रनिल राई, डा. राहुल पाठक, ‍डा. क्षेतेन योन्जन तामाङ, डा. सविन कोइराला र डा. शुभकल्याण श्रेष्ठ रहेका छन् । सोसाइटीको सल्लाहकारमा भने डा. रोमियो कंसाकार र डा. सुभाष आचार्य रहेका छन् ।

कान्तिपुर

Link copied successfully