काठमाडौँ — नेपालमा यौनजन्य लागूऔषध प्रयोगले युवाहरू जोखिममा रहेको एक अध्ययनले देखाएको छ। लागूऔषध प्रयोगकर्ता र तेस्रो लिङ्गीमा यौन सम्बन्धको लागि लागूऔषधको प्रयोगबारे पहिलो पटक भएको अध्ययनले ९.२० प्रतिशतले यौनजन्य लागूपदार्थ प्रयोग गरिरहेको देखाएको छ।
उनीहरूमध्ये अधिकांश १८ देखि २९ वर्ष उमेर समूहका युवाहरू छन्। ब्लु डाइमन सोसाइटी र रिकभरिङ नेपालले १४ जिल्लाका ४०२ जनामा लागूऔषध प्रयोगकर्ता र तेस्रो लिङ्गी माझ यौन सम्बन्धको लागि लागूऔषध प्रयोगबारे अध्ययन गरेको थियो।
अध्ययनमा कोशी प्रदेशबाट मोरङ, सुनसरी र झापा, मधेश प्रदेशबाट पर्सा र धनुषा, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर र भक्तपुर, गण्डकी प्रदेशबाट कास्की, लुम्बिनी प्रदेशबाट बाँके र रूपन्देही, कर्णाली प्रदेशबाट सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट कैलाली समावेश गरिएको थियो ।
अध्ययनकर्ता प्रभुराज पौडेलले एचआइभीसँग सम्बन्धित व्यक्तिहरूमा यौनिक रुपमा प्रयोग गरिने ड्रगहरुको बारेमा जानकारी लिने उद्देश्यले सो अध्ययन गरिएको बताए । यौनजन्य लागूऔषध प्रयोगमा संलग्न ८३ प्रतिशतले कन्डम प्रयोग गरेको बताएका थिए भने १६ प्रतिशतले भने कहिल्यै कन्डम प्रयोग नगरेको बताएका थिए। यसले गर्दा यौनजन्य रोग र अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याले जोखिम बढाएको अधिकारीहरू बताउँछन्।
नेपालमा 'सेक्सुअलाइज्ड ड्रग युज' बारे पहिलो अध्ययन भएको र यसले नीति निमार्णकै क्षेत्रमा ठुलो प्रभाव पार्ने उनले बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले लागूऔषध प्रयोग कर्ता र तेस्रो लिङ्गी युवामा सेक्सुअलाइज्ड ड्रग प्रयोग हुनु चुनौतीको विषय भएको बताए । उनले सेक्सुअलाइज्ड ड्रग प्रयोगकर्तालाई भावी दिनमा कसरी कम गर्ने भन्ने मुख्य समस्या भएको स्पष्ट पारे ।
'सेक्सुअलाइज्ड ड्रग युज' बारे नेपालमा पहिलो पटक अध्ययन भएको भन्दै यसलाई थप प्रभावकारी रुपमा अगाडि लैजान आवश्यक भएको निर्देशक शर्माले बताए । उनले अन्तर्राष्ट्रिय समुदायमा समेत नेपालमा भएको अध्ययन र यसको नतिजाबारे जानकारी हुन आवश्यक रहेको औँल्याए ।
