दुई वर्षमा बनिसक्नुपर्ने जिल्ला अस्पताल भवन चार वर्षसम्म अधुरै

गत पुस मसान्तमा म्याद सकिएपछि समय थपिएको छैन, ठेक्का सम्झौता रकम भ्याटबाहेक २५ करोड ९४ लाख ६४ हजार रुपैयाँ

चैत्र २१, २०८१

सन्तोष महतारा

The district hospital building, which was supposed to be completed in two years, remained incomplete for four years

गुल्मी — दुई वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता गरिएको जिल्ला अस्पतालको भवन अझै अधुरै छ । १५ शय्या सञ्चालित अस्पताललाई ५० मा विस्तारका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण सुस्त गतिमा चलेको छ । ठेक्काको दुई पटक म्याद थपिए पनि निर्माण सकिएको छैन ।

गत पुस मसान्तमा निर्माणको म्याद सकिएपछि थपिएको छैन । भारत सरकारको आर्थिक सहयोगमा पीएमसी कन्सल्टेन्ट सीएसआईआरमार्फत सघन सहरी तथा भवन निर्माण कार्यालय, रूपन्देहीअन्तर्गत निर्माणको काम भइरहेको हो ।

भवन निर्माणका लागि २०७८ असार १८ मा स्वच्छन्द/बानियाँ जेभी मकवानपुरले भ्याटबाहेक २५ करोड ९४ लाख ६४ हजार २ सय ३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० असार १७ भित्र काम भइसक्नुपर्ने निर्माण कम्पनीका इन्जिनियर अरविन्द चौधरीले बताए ।

‘जनशक्ति र निर्माण सामग्रीको अभाव छ,’ चौधरीले भने, ‘अब असारसम्म भवन निर्माण सक्ने लक्ष्य छ ।’ सम्झौता अवधिमा काम नसकिएपछि पहिलो पटक ६ महिना र दोस्रो पटक १ वर्ष म्याद थपिएको थियो । गत पुसमा सकिएको म्याद थपका लागि ठेकेदार कम्पनीले कार्यालयमा कागजात बुझाइसकेको छ ।

अहिले २५ जना कामदारमार्फत टायल, वाल, पेन्टिङ, इलेक्ट्रोनिक, आल्मुनियम पाटेसन र जिप्सनको काम भइरहेको छ । लक्ष्यअनुसार काम पूरा गर्न ५० जना कामदार आवश्यक रहेको निर्माण कम्पनीले जनाएको छ । भूकम्प प्रतिरोधी पाँच तलाको भवन लिफ्टसहितको अपांगमैत्री हुनेछ ।

भवन निर्माणको गुणस्तर, सुरक्षा र सम्झौताअनुसारको काम भए/नभएको निगरानी गरिरहेको दातृ निकायका तर्फबाट कन्सल्टेन्ट इन्जिनियर सतिशकुमार यादवले बताए । ‘हालसम्म सम्पन्न काममा कुनै कमजोरी छैन,’ उनले भने, ‘सामग्री नेपालमा नपाउँदा समस्या भइरहेको वास्तविक हो ।’

बारम्बार ताकेता गर्दा पनि सुस्त गतिमा काम भइरहेको सघन सहरी तथा भवन निर्माण कार्यालय रूपन्देहीका आयोजना प्रमुख राजु न्यौपानेको भनाइ छ । ‘दुई पटक म्याद थपियो, काम सुस्त गतिमा छ,’ उनले भने, ‘तत्काल म्याद थप्न सकिन्न ।’ खरिद नियमावलीको १३औं संशोधनबाट थपिएको अवधिभित्र काम नसकिएपछि म्याद थप्न मिल्दैन ।

कार्यालयका अनुसार अस्पताल भवनको ८५ प्रतिशत भौतिक काम सकिएको छ । यसअनुसार ८० प्रतिशत भुक्तानी निर्माण कम्पनीले लिइसकेको छ । २१ करोड ७३ लाख ४७ हजार रुपैयाँ भुक्तानी भइसकेको सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

भवन निर्माण पूरा नहुँदा सेवाग्राही र सेवाप्रदायक दुवैले सास्ती खेप्नुपरेको छ । साँघुरो भवनबाट सेवा प्रवाहमा सास्ती भइरहेको गुल्मी अस्पताल विकास समिति अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए । ‘बिरामीलाई यताउता हिँडडुल गर्नसमेत गाह्रो छ,’ उनले भने, ‘डाक्टरलाई पनि बिरामी जाँच्न समस्या छ ।’

अस्पतालमा अहिले विशेषज्ञ सेवाअन्तर्गत फिजिसियन, स्त्रीरोग, हाडजोर्नी र एमडीजीपीसहित डेन्टल दुई जना र सात मेडिकल अधिकृत गरी १ सय २५ जना जनशक्ति छन् । गुल्मी अस्पतालबाट स्वास्थ्य बिमासहित दैनिक २ सय ५० देखि ३ सय जना सेवाग्राहीले सेवा लिन्छन् ।

सन्तोष महतारा

Link copied successfully