चार अस्पताललाई ३६ ‘हेमोडाइलासिस मेसिन’ प्रदान

चैत्र १८, २०८१

ज्योती श्रेष्ठ

36 Hemodialysis Machines provided to four hospitals

काभ्रेपलाञ्चोक — ४ अस्पताललाई ३६ वटा हेमोडायलाइसिस मेशिन प्रदान गरिएको छ । मिर्गौला रोगीहरूको उपचारलाई प्रभावकारी बनाउन जर्मन रोटरी क्लबको सहयोग र रोटरी क्लब अफ धुलिखेलको समन्वयमा आइतबार ४ अस्पतालको लागि ३६ वटा हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरिएको हो ।

धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा धुलिखेल अस्पताल धुलिखेललाई १० वटा, शिर मेमोरियल अस्पताल बनेपालाई १० वटा, कौशल्या मेमोरियल अस्पताल कोहलपुर बाँकेलाई १० वटा, र सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटलाई ६ वटा गरी ३६ वटा हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरिएको हो। 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगपति एवं सांसद विनोद चौधरीले नेपालमा स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सहयोगलाई सहज रूपमा समायोजन गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्नका लागि अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू र देशहरूको सहयोग अत्यन्त आवश्यक रहेको बताए ।

स्वास्थ्य क्षेत्रका चुनौतीहरू समाधान गर्न र उच्चतम स्वास्थ्य लाभ सुनिश्चित गर्न सरकार र निजी क्षेत्रको बीचमा सहकार्यको महत्वपूर्ण भूमिका रहेको उनको भनाई थियो । धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले नगरलाई ‘स्वस्थ शहर’ बनाउनका लागि शून्य गरिबी, बालमैत्री वातावरण, साक्षरता प्रवर्द्धन, हरित नगर, र छुवाछूत मुक्त समाज निर्माणको लक्ष्य रहेको  बताए । सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै यी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । 

पाँच करोडभन्दा बढी मूल्य पर्ने यी उपकरणहरूले मृगौला रोगीहरूको उपचारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको रोटरी क्लब अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैंजुले बताइन् । जर्मन रोटरी भोल्न्टर क्लबका प्रतिनिधिले नेपालका अस्पतालहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

सोही कार्यक्रमको अवसरमा रोटरी क्लब अफ धुलिखेल, धुलिखेल अस्पताल र नगरपालिकाबीच ब्लड बैंक स्थापना तथा विद्युतीय शवदाह गृह निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको थियो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully