रोल्पामा आँखा शिविरमा १ सय १६ को शल्यक्रिया

फाल्गुन १२, २०८१

काशीराम डाँगी

116 surgeries at eye camp in Rolpa

रोल्पा — रोल्पास्थित तिलगंगा सर्जिकल आँखा केन्द्रको आयोजनामा रोल्पाको लिवाङमा भएको नि:शुल्क आँखा उपचार  शिविरमा १ सय १६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। आँखामा मासु पलाएको समस्याका ३ जनाको पनि अप्रेसन गरिएको छ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी रोल्पाले शिविर आयोजना गर्न सघाएका थिए । तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाका संयोजक खड्क भाटले  फागुन ७ र ८ मा सम्पन्न आँखा शल्यक्रिया शिविरमा वृद्धवृद्धा र बालबालिकाले समेत सेवा पाएको उनले बताए ।

शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. विवेक विष्ट, डा. लिनु रायमाझी र वरिष्ठ नेत्र अधिकृत राम सिंह तामाङसहितको प्राविधिक टोली खटिएको थियो। शिविरलाई सफल बनाउन रोल्पा उद्योग वाणिज्य संघ, रोल्पा नगरपालिका लगायतका निकायले आर्थिक एवं मानवीय सहयोग गरेका थिए । तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पालाई मोतिविन्दुको कारणले हुने अन्धोपन न्यूनीकरण अभियानमा थप सक्रिय बनाउनेतर्फ योजना अघि सारिएको संयोजक भाटले बताए ।

शिविर यसै वर्ष करिब करोडको लगानीमा लिवाङमै निर्माण गरिएको आँखा सर्जिकल केन्द्र रोल्पाको नयाँ भवनमा सम्पन्न गरिएको हो । केन्द्रलाई आँखा उपचार आवश्यक गुणस्तरीय औजार र साधन स्रोतले सम्पन्न बनाउन तिलगंगा आँखा प्रतिष्ठान प्रतिबद्ध हुँदै आएको छ । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully