काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले पृथ्वी राजमार्गको मुग्लिन- नागढुंगा क्षेत्रभित्र पर्ने १६ निजी, सहकारी तथा सरकारी अस्पतालहरुका साथै सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु तथा कुरिनटारमा आकिस्मक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरी २५ जनालाई आधारभूत आकस्मिक स्याहार–‘बीईसी’ तालिम प्रदान गरेको छ ।
सात दिनको तालिममा राजमार्ग क्षेत्रमा दुर्घटना हुँदा चोटपटक लागेकाहरूको उद्धार तथा आकस्मिक उपचारका बारेमा व्यवहारिक ज्ञान दिइएको थियो । स्वास्थ्य आपतकालीन एवं विपद व्यवस्थापनका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार आपत्कालीन अवस्थामा स्वास्थ्योपचार गर्दा अपनाउनुपर्ने सजगतालाई थप सुदृढ गर्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरिएको हो । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आकस्मिक उपचारको ज्ञान त हुने नै भयो । तर, यस प्रकारको तालिमलाई उहाँहरूको सीपलाई थप चुस्त बनाउन मद्दत गर्छ,’ उनले भने, ‘यो तालिमले उपचार मात्रै नभएर बिरामीलाई सुरक्षित रुपमा कसरी रेफर गर्ने भन्ने बारे पनि सिकाएको छ ।’ उनका अनुसार इकाईले हालसम्म आकस्मिक कक्षमा कार्यरत ९०१ ज्ना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रवक्तासमेत रहेका डा. बूढाथोकीका अनुसार आकस्मिक सेवामा सुधार गर्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई मात्रै नभएर लामो तथा मध्यम दुरीका चालक, सहचालक, सबै ट्राफिक प्रहरी लगायत सेकुरिटी गार्ड, स्वयंसेवीलगायत हरेक गाउँमा सामुदायिक स्वास्थ्य प्रतिकार्य उद्धारकर्ताको विकास गर्दे जीवन बचाउने सीपहरु सिकाउन गृहकार्य भइरहेको छ । बीईसी तालिम प्रशिक्षकहरु डा.राम प्रसाद न्यौपाने, डा.सानु कृष्ण श्रेष्ठ, डा.दिनेश भण्डारी, डा. गृष्मा श्रेष्ठ, गिताकुमारी सत्यालले प्रदान गरेको पनि उनले जानकारी दिए ।
तालिमको समापनपछि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिंहले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा रोड सेफ्टी काउन्सिलका सदस्य सचिव कृष्णराज पन्थ, सशस्त्र प्रहरी बल अस्पतालका प्रमुख डीआईजी डा.रुपक महर्जन, एसएसपी डा.शैलेन्द्र दुलाल श्रेष्ठ, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक यसोदा अर्यालले मन्तव्य राखेका थिए ।
