स्वास्थ्य संस्थामा सुत्केरी नगराउनेको घरमा ‘कालो टीका’

माघ ७, २०८१

प्रकाश बराल

बागलुङ — गत कात्तिक १४ गते घरमै सुत्केरी भएकी निसीखोला गाउँपालिका–६ को तिर्खापानीकी निरुता बुढाको घरमा आमा समूहले कालो टिका लगाइदिएको छ । घरमा हुने सुत्केरी (होम डेलीभरी) शून्यमा झार्ने अभियानमा रहेको आमा समूहले स्वास्थ्य संस्थामा नआएर सुत्केरी हुनेका घरमा कालो टिका लगाइदिने गरेको हो ।

पति सन्तोष बुढासहित घरपरिवारले जान नदिएपछि निरुता घरमै सुत्केरी भएकी थिइन् । त्यसपछि गाउँको आमा समूहले तयार पारको सामाजिक नक्सामा उनको घरमा कालो टिका लगाइदिएको हो ।

तिर्खापानीकै मनदेवी घर्तीले पनि घरमै सन्तान जन्माइन् । भिडियो एक्सरे गर्नुपर्ने भएपछि निसी स्वास्थ्य चौकीले उनलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरेको थियो । तर घर फर्केर जोखिम मोल्दै कात्तिकको १२ गते उनले छोरालाई जन्म दिइन् । पति देवीराज गोठ जानु परेकोले उनलाई घर कुर्न राख्दा स्वास्थ्य संस्था नगएकी हुन् ।

अहिले मनदेवीको घरमा पनि कालो टिका लागेको छ । उनको यो पटकको चौथो सन्तान हो । यसअघिका तीन सन्तान पाउने बेला त उनी झन् गर्भ जाँचमा पनि आएकी थिइनन् । गर्भवती भएपछि ८ पटकसम्म गर्भ जाँच गराउनु पर्ने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी मापदण्ड उनीहरुले उल्लंघन गरेपछि महिला स्वासथ्य स्वयंसेविकासहितको आमा समूहको बैठकले घरमा कालो टिका लगाउने गरिएको छ ।

यो समस्या गाउँपालिकाका अधिकांश वडामा देखिन्छ । कतिपयले मापदण्ड पूरा गर्नै खोज्दैनन् भने कतिपयले भौगोगिक कठिनाइ देखाएर समस्या परेको गुनासो गर्छन् । ‘कालो टिका लाग्नुलाई नराम्रो संकेत मानिन्छ,’ निसी स्वास्थ्य चौकीकी अनमि ज्ञानकुमारी बुढाले भनिन्, ‘होम डेलीभरी घटाउने यो सामाजिक विधि हो ।’

घरमै सुत्केरी भएको थाहा पाएपछि तत्काल स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्था बुझ्ने र उपचार समेत गराएको बुढाले बताइन् । उच्च रक्तचाप भएका, बच्चा उल्टो भएका वा अन्य कुनै जटिल समस्या आउने देखिएमा रिफर गर्ने र नभए पनि उनको शारिरीक अवस्था हेरेर सुझाव दिने काम स्वास्थ्य चौकीमा हुने गरेको छ । आमा समूहमा पनि स्वास्थ्यकर्मीहरु पालो गरेर पुग्ने समेत गरेका छन् ।

निसीको तिर्खापानी, लुप्राङसहित अधिकांश वडाका ग्रामीण बस्तीका महिला गर्भ अवस्थामा पनि खेतीपाती, लेकको गोठमा जाने चलन समेत छ । डिंगाबाच्छा (गाइभैंसी) चराउन लेकमा जाने चलनले पनि मापदण्ड अनुसार गर्भ जाँचमा नआउनेहरु धेरै भएको बुढाले बताइन् । घरपरिवारले चासो नराख्ने, कामले फुर्सद पनि नपाउनेहरु बढी मात्रामा होम डेलिभरीमा परेको उनले बताइन् ।

होम डेलीभरीलाई अन्त्य गर्ने र आमा तथा शिशुको स्वास्थ्यलाई गुणस्तरीय बनाउने प्रयास स्वरुप घरमै सुत्केरी हुने र स्वास्थ्य प्रोटोकल उल्लंघन गर्नेको घरमा कालो टिका लगाउने चलन छ । कालो टिका नलाग्नका लागि सुत्केरीपछि पनि ५ वर्षसम्मका बालबालिकालाई सबै खोप पूरा गर्ने र आमाले आइरन चक्की खाने समेतका प्रावधान पूरा गर्नुपर्छ । स्वास्थ्य प्रोटोकल पूरा नगर्नेलाई दबाव पर्ने भएकोले कालो टिका लगाउने गरिएको निसीखोला–३ को स्कुलटोल आमा समूहकी अध्यक्ष कौशीला चन्दले बताइन् ।

अघिल्ला वर्ष कालो टिका लगाए पनि यो वर्ष उनको समूहमा भने कालो टिका नलागेको बताइन् । ‘मेरो समूहमा कालो टिका त लागेको छैन, तर किशोर अवस्थामै गर्भवती भएकाहरु छन्,’ चन्दले भनिन्, ‘सुत्केरी हुँदा समस्या हुने डरले अहिलेदेखिनै नियमित सल्लाह दिएर स्वास्थ्य संस्था जान लगाएकी छु ।’

फेयरमेड फाउण्डेसन र बिवाईसी बागलुङले जिल्लाभर संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार कार्यक्रमले आमा समूहमा ‘टिकाटिकुली’ कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम मार्फत पहिलो पटक गर्भवती भएकी महिलाको घरमा रातो टिका लगाइन्छ । त्यसपछि ८ पटकसम्म गर्भ जाँच गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएमा हरियो टिका लगाउने चलन छ । यो विधिलाई स्वास्थ्य कार्यालय बागलुङले हरेक वडा र टोलका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि लागू गर्न सुझाव दिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।

निसीमा घरमै सुत्केरी हुने र गर्भ जाँच नगर्नेको संख्या अत्याधिक छ । स्वास्थ्य चौकीले पनि लागत राख्नै कठिन भएको इन्चार्ज गणेश खड्काले बताए । खड्काका अनुसार २०७९/०८० मा १ सय ८ जना सुत्केरी हुने लक्ष्य राखेकोमा २८ जना मात्रै स्वास्थ्य संस्थामा आएका थिए । त्यसपछि २०८०/०८१ मा स्वास्थ्य चौकीले लक्ष्य समेत घटाएर ६३ बनायो । उक्त वर्ष यहाँ ४७ जना सुत्केरी भए । १२ जना घरमै सुत्केरी भएको पत्ता लागेको उनले बताए ।

चालु आर्थिक वर्षमा १६ जना मात्रै संस्थामा आएर सुत्केरी भएका छन् भने २ जना घरमै सुत्केरी भएको उनले बताए । गत वर्षको कात्तिकमा वडा–३ बोहोरागाउँकी एक महिलालको घरमा सुत्केरी हुँदा मृत्यु भएको थियो । नियमित गर्भ जाँच गरे पनि सुत्केरी हुन गोठमा गएपछि रक्तस्रावले उनको ज्यान गएको थियो । अत्यधिक रक्तस्रावले बेहोस भएपछि मात्र परिवारले उनलाई अस्पताल लगेका थिए । त्यतिबेलासम्म उनको निधन भैसकेको थियो । बोहोरागाउँ स्वास्थ्य चौकीले भने यो वर्ष ‘होम डेलीभरी शून्य’ बनाउने लक्ष्य राखेको प्रमुख टोपबहादुर चन्दले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully