जनशक्ति अभावले कर्णाली अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा ठप्प

माघ ५, २०८१

तृप्ति शाही

Due to lack of manpower, kidney transplant service has stopped at Karnali Hospital

वीरेन्द्रनगर — जनशक्ति अभावले प्रदेश अस्पताल सुर्खेतमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा ६ महिनादेखि ठप्प भएको छ । गत असार २६ गते दुई जनाको सफल मिर्गौला प्रत्यारोपण भएपनि त्यसयता प्रदेश अस्पतालमा यो सेवा अवरुद्ध छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत बीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न तथा डायलाइसिस सेवालाई विस्तार गर्ने समझदारी भएर सेवा सुरु गरिएको थियो । त्यसपछि ४ जनाको मिर्गौला प्रत्यारोपण गरिए पनि प्रदेश अस्पतालमा जनशक्ति नहुँदा अहिले सेवा ठप्प भएको हो । 

राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका तत्कालीन निर्देशक डा. डम्बर खड्काले सेवा संचालन तथा सहकार्यको समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

२०७९ माघ २१ गते सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनमा आएको थियो । यससँगै कर्णाली प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्र अन्तर्गत जनशक्तिको तालिम, अध्यापनलगायत व्यवस्थापन गर्ने पनि समझदारी भएको थियो ।

प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि खुसी भएका कर्णाली सँगै आसपासका बिरामीमा फेरि निराशा छाएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रदेश अस्पताल पुगेका बिरामी फेरि काठमाडौं धाउनुपर्ने बाध्यतामा छन् । यो क्षेत्रका बिरामी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि पालो कुरिरहेका छन् ।

काठमाडौंमा मिर्गौला प्रत्यारोपणको पालो कुरिरहेका सुर्खेतका एक बिरामीले जिल्लामै प्रत्यारोपण गर्ने ठूलो आशा बोके पनि सेवा बन्द भएपछि निराश भएको बताए । ‘प्रदेश अस्पतालमै भएको भए आर्थिक भार कम र दौडधुप कम हुने सोचेको थिए,’ उनले भने, ‘फेरि काठमाडौं धाउनुपर्ने बाध्यता भयो । उपचारमै सम्पत्ति सकिन लाग्यो । काठमाडौं आउजाउ र बस्नमै धेरै खर्च भइरहेको छ ।’ सुर्खेतमै सेवा पाएको भए खर्च र यात्राको दौडधुप कम हुने उनले बताए ।

मिर्गौला प्रत्यारोपका लागि चाहिने पूर्ण जनशक्ति अभावमा अस्पतालले सेवा सुचारु गर्न नसकेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रत्यारोपण विशेषज्ञसँगै युरोलोजिस्ट, नेफ्रोलोजिस्ट लगायतका चिकित्सकको आवश्यकता हुन्छ । प्रदेश अस्पतालमा जनशक्ति नभएकाले सेवा रोकिएको हो । यो बाहेक आवश्यक हुने फिजियसियनलगायतको जनशक्ति भने प्रदेश अस्पतालमा उपलब्ध छ ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले दक्ष चिकित्सकीय जनशक्ति नभएकोले सेवा रोकिन पुगेको बताए । ‘पहिले भक्तपुरबाटै जनशक्ति आउने र केही यताको टिमले काम गर्ने गरेको थियो । तर यताको मात्र टिम नभएकोले काम रोकिएको हो,’ उनले भने, ‘हामी फेरि सेवा सुचारु गर्ने तयारीमा जुटेका छौं । माघभित्रै सेवा दिने प्रयासमा छौं ।’ मुख्य २ विधाका चिकित्सक नभएकाले सेवा रोकिन पुगेको उनले बताए ।

एक जना शल्यचिकित्सक (सर्जन) ले यो विषयमा फेलोसिपका लागि प्रवेश परीक्षा पनि दिएकाले जनशक्ति तयार पार्न अस्पताल लागेको उनले बताए । अस्पताल आफैसँग मिर्गौला प्रत्यारोपणको पूर्ण र दक्ष जनशक्ति नभएकोले नियमित सेवा दिन नसकिएको सूचना अधिकारी बस्नेतले बताए । बीचमा दुई जना बिरामीलाई अस्पताल विकास समितिबाटै खर्च व्यहोरेर मिर्गौला प्रत्यारोपण गरेको उनले बताए ।

प्रदेश अस्पताल मिर्गौला प्रत्यारोपण केन्द्रको रुपमा सूचिकृत भइसकेकोले प्रत्यारोपण पछि सरकारबाट ४ लाख रुपैयाँ अस्पतालले पाउने गरेको छ । तर केन्द्रबाट आएको टिमको यातायात र बस्ने खर्च भने अस्पतालले व्यर्होर्दै आएको छ । बिरामीको सुविधाका लागि अस्पताले यसरी सेवा सुरु गरेको बस्नेत बताउँछन् ।

अस्पतालका अनुसार यो सम्झौता हुनु भन्दा पहिलेबाटै अस्पतालमा डायलाइसिस सेवा भने उपलब्ध छ ।अहिले साताको २ पटक ५५ जनाले डायलाइसिस सेवा लिइरहेको अस्पतालले जनाएको छ । प्रदेश अस्पतालमा अहिले २ सय ९० शय्या सञ्चालन भइरहेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully