काठमाडौँ — हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५ काठमाडौँमा सुरु भएको छ। नेपाल र नेपालजस्ता विकासशील देशहरूमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआई फर अल नेटवर्कले (हाइनेट) कन्फ्रेन्सको आयोजना गरेको हो।
हाइनेट नेटवर्कको सञ्चालक समितिमा तीन चौथाइ सदस्यहरू विकासशील र विकासउन्मुख देशका रहने गर्छन्। सोहीअनुरुप हाइनेटले विकासशील देशहरुले स्वास्थ्य सेवाको समस्या पहिचान गरि त्यसलाई स्वास्थ्य एआईको माध्यमबाट समाधान गर्ने उदेश्य लिएर विस्तृत छलफल गर्न कन्फ्रेन्स आयोजना गरेको हो।
नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरुमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतिर हाइनेट सुरु गरेको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डे बताउँछन् ।
उनका अनुसार, स्वास्थ्य सेवा वितरणमा महत्त्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुराउन स्वास्थ्य एआईले कसरी भूमिका खेल्छ भन्ने विषयमा कन्फ्रेन्समा छलफल हुनेछ। त्यसैगरी, नेपालजस्ता विकासशील देशहरूले सहकार्य गरेर स्वास्थ्यमा भएका आफ्ना समस्या पहिचान र स्वास्थ्य एआई विकास गर्न स्वामित्व लिन सहकार्य गर्ने विषय पनि कन्फ्रेन्स केन्द्रित रहनेछ। 'हाइनेट नेटवर्कले स्वास्थ्य एआईमा विकासशील र विकासोन्मुख देशहरूले आफ्नो वैज्ञानिक एजेन्डा स्थापित गर्न र आफ्नो आवश्यकता निर्धारण गर्ने काममा सहकार्य गर्नका निम्ति ज्ञान निर्माण, नीतिगत पहल र विज्ञान प्रविधी आदान प्रदान गर्ने काम गर्नेछ,' डा. पाण्डेले भने।
हाइनेटका संस्थापक सदस्य डा. विशेष खनाल विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिका उपभोक्ता मात्र नभइ उत्पादक पनि हुने सम्भावनाको प्रवर्द्धन गर्न यो नेटवर्कले काम गर्ने बताउँछन्। यो सम्मेलनमा विकास उन्मुख देशका स्वास्थ्य प्रणालीमा स्वास्थ्य एआई प्रविधिले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा पनि छलफल हुनेछ।
नेटवर्कका सदस्य तथा युनिभर्सिटी अफ एभर्डिनका सहप्राध्यापक विनोद भट्टराई पछिल्लो समय विकसित देशहरूमा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग व्यापक भइरहेको बताउँछन् । यद्यपि, नेपाल र नेपालजस्ता स्वास्थ्य सेवाको सट्ठमित स्रोत भएका स्थानमा रहेका बिरामीलाई एआई प्रविधिको लाभ नपाउने जोखिम पनि उस्तै रहेको उनको भनाइ छ । उनका अनुसार, हाइनेटले नेपालजस्ता विकासशील देशले आफ्नो स्वास्थ्य समस्याहरुको प्राथमिकता निर्धारण गरेर त्यसलाई समाधान गर्न स्वास्थ्य एआईको विकास गर्न स्वामित्व लिनका लागि यो कन्फ्रेन्सको महत्त्वपूर्ण भूमिका हुन्छ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एन्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको कन्फ्रेन्स २ दिनसम्म चल्नेछ। कन्फ्रेन्समा एसिया , अफ्रिका उत्तर तथा दक्षिण अमेरिकाबाट विज्ञ तथा वक्ताहरू सहभागी रहेका छन्।
