काठमाडौँ — काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्या समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन भएको छ ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी पनि दिएको छ ।
समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा. डा. मनोज हुमागाई, स्कुल अफ ‘ल’ का डीन डा. ऋषिकेश वाग्ले र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा. डा राजीव श्रेष्ठ रहेका छन् ।
विश्व विद्यालयले अस्पतालको आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी एकपक्षीय रूपमा निर्णय गरेकोलगायत विषयमा दुई संस्थाबीच असन्तुष्टि छ ।
