घातक छ ब्युटी र बडी फिल्टर

‘आफूलाई कमजोरीको लेन्सबाट मात्र हेर्नेका लागि समाजबाट भ्यालिडेसन पाउने टुलजस्ता बनेका छ फिल्टर, यसको प्रयोगपछि वास्तविक रूप अझ मन पर्न छोड्छ, आत्मस्वीकारोक्ति झन् घट्छ’

पुस ६, २०८१

प्रविना पौडेल

Fatal Six Beauty and Body Filters

काठमाडौँ — केही दिनअघि मात्र टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ‘ब्युटी फिल्टर’ र ‘बडी फिल्टर’ मा नियन्त्रण गर्ने घोषणा गर्‍यो । बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो नीति अवलम्बन गर्न लागिएको टिकटकको प्यारेन्ट कम्पनी, बाइटडान्सले जनाएको छ ।

किशोरकिशोरीहरू यस्ता फिल्टर प्रयोग गर्दाको असरबारे जानकार नभएकाले कम्पनीले नै प्रयोगमा रोक लगाउन लागेको बताइएको हो ।

यस्तो नियन्त्रणले टिकटक प्रयोगकर्ताले भिडियोमा आँखा ठूला बनाउने, ओठको मोटाइ बढाउने, छाला चिल्लो देखाउने, छालाको रङ बदल्ने, अनुहारको बनोट नै फेरबदल गर्ने र मेकअप गरिएको जस्तो अनुहार बनाउने ‘ब्युटी फिल्टर’ प्रयोग गर्न नपाउने भएका हुन् ।

टिकटक वा अन्य फिल्टरका लागि प्रयोग गरिने एपहरूले पार्ने मानसिक असरबारे प्रयोगकर्ताको ठूलो समूह अनविज्ञ देखिन्छ । नियन्त्रण गर्न लागिएको ‘बोल्ड ग्लामर फिल्टर’ को टिकटक भिडियोमा प्रयोग हालसम्म २६ करोड ४० लाखभन्दा बढी भएको तथ्यांकले देखाउँछ ।

तर, यसरी फिल्टर प्रयोग गर्दा प्रयोगकर्तामा कस्तो असर पर्छ त ? ब्युटी र बडी फिल्टरले मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे ‘सिटी युनिभर्सिटी अफ लन्डन’ का केही अनुसन्धानकर्ताले सन् २०२० मा अध्ययन गरेका हुन् ।

अध्ययनले छालाको रंग गोरो बनाउने, छाला चम्किलो बनाउने, दाँत सेतो बनाउने, शरीर पातलो देखाउने, चिउँडोको आकार मिलाउने, नाक सानो बनाउने, आँखा, ओठ ठूलो देखाउनेजस्ता फिल्टरको अत्यधिक प्रयोग हुने गरेको उल्लेख गरेको छ ।

औसत २० वर्ष उमेर भएका १ सय ७५ युवतीमा गरिएको उक्त अध्ययनमा ९० प्रतिशतले आफ्नो फोटोमा फिल्टर प्रयोग गर्ने वा फोटोमा ‘इडिट’ गर्ने गरेको र त्यसमा पनि ९४ प्रतिशतले राम्रो देखिनुपर्ने दबाबका कारण यसो गर्ने गरेको बताएका छन् ।

सन् २०२१ मा पनि ‘प्यारेन्टस् टुगेदर’ नामक संस्थाले अमेरिकाका १३ देखि २१ वर्ष समूहका २ सय किशोरकिशोरीमा गरिएको एक सर्वेक्षणले पनि ४८ प्रतिशतले सातामा कम्तीमा एक पटक ‘ब्युटी फिल्टर’ प्रयोग गर्ने गरेको निष्कर्ष प्रस्तुत गरेको थियो । जसमा पाँच जनामा एक जनाले हरेक पोस्टमा यस्ता फिल्टर प्रयोग गर्ने गरेको बताएका थिए ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/mXaKECzslZU?si=UZCeZ22kSTvMcjkw" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

६३ प्रतिशत किशोरकिशोरीले आफ्नो वास्तविक अनुहारभन्दा राम्रो देखिन, ५८ प्रतिशतले आफूलाई मन नपर्ने अनुहारको भाग लुकाउन र ५२ प्रतिशतले अनुहारको बनोट नै परिवर्तन गर्न फिल्टर प्रयोग गर्ने गरिएको सर्वेक्षणले देखाएको छ ।

यो सर्वेक्षणले ब्युटी फिल्टरले किशोरकिशोरीको आत्मविश्वासमा नकारात्मक असर पारेको पनि उल्लेख गरेको छ । ६१ प्रतिशतले ब्युटी फिल्टर प्रयोग गर्दा आफूलाई वास्तविक जीवनमा झन् नराम्रो देख्ने गरेको बताएका छन् । ‘टिकटक र स्न्यापच्याटका फिल्टरले मलाई आफू नराम्रो भएको महसुस गराउँछ’, एक किशोरीले बताएकी छन् ।

वास्तविक सौन्दर्यभन्दा कृत्रिम सौन्दर्यलाई महत्त्व दिइने यस्ता फिल्टरको प्रयोगले किशोरकिशोरीको दिमागमा असन्तुष्टि र दबाब सिर्जना गरिरहेको देखिन्छ । जसले उनीहरूको मानसिक स्वास्थ्यमा असर गरेको छ ।

‘जब म माध्यमिक विद्यालयमा थिएँ, समाजले बनाएको सुन्दरताको मापदण्डअनुसार मेरो आत्ममूल्य खोज्न थालें । म हरेक दिन फिल्टरहरू प्रयोग गर्थें र पर्फेक्ट शरीर बनाउन आफूलाई दबाब दिन्थें,’ १६ देखि १७ बीचको उमेर समूहका एक किशोरले बताएका छन्, ‘यो दबाबलाई सामाजिक सञ्जाल र ब्युटी फिल्टरले थप बल दियो जसले मलाई ‘इटिङ डिसर्डर’ नै भयो ।’

सानै उमेरबाट फिल्टरको प्रयोगले शरीरप्रति नकारात्मक छवि बनाउने, आत्मविश्वासमा कमी ल्याउने र फिल्टर प्रयोग नगरिएको फोटोदेखि लाज लाग्ने गरेको उनीहरूले बताए । न्युयोर्कको ‘द कट’ म्यागेजिनमा जेनिफर सुलिभानको ब्युटी फिल्टरमाथिको एउटा लेखमा नर्थवेस्टर्न विश्वविद्यालयकी मनोविज्ञानकी प्राध्यापक रेनी एनगेलएनले फोटो फिल्टरहरू किशोरीहरूलाई अझ हानिकारक रहेको बताएकी छन् ।

एनगेलएन भन्छिन्, ‘सामान्यतः हामी आफूलाई अरूसँग तुलना गर्छौं तर फिल्टरबाट आफ्नै विभिन्न रूपहरूसँग तुलना गर्छौं जुन अझ हानिकारक हो । यसले हामी जे छौं त्योभन्दा फरक हुन सक्छौं भन्ने भावना जगाउँछ । र ब्युटी स्ट्यान्डर्डमा पुग्ने बाध्यतामा धेरै समय र पैसा खर्च गराउँछ ।’

त्यस्तै, बनार्ड कलेज अफ कोलम्बिया युनिभर्सिटिकी सहायक प्राध्यापक तारा वेल फिल्टरहरूले वस्तुकरणको सिकार बनाउने तर्क गर्दै भन्छिन्, ‘फिल्टर प्रयोग गर्नाले आफूलाई कुनै भौतिक वस्तुको रूपमा हेरेर सुधार गरी पर्फेक्ट बनाउन खोजिन्छ । जति मानिसहरू आत्म वस्तुकरणमा संलग्न हुन्छन् उति नै उनीहरू आफ्ना भावना र संवेदना महसुस गर्न अक्षम हुन्छन् ।’

बेल्जियमको जर्नल अफ चिल्ड्रेन एन्ड मिडियाले औसत उमेर १६ भएका ३ सय ३३ किशोरकिशोरीलाई लिएर गरेको एक अध्ययनमा अनुहार र शरीरमा फिल्टर प्रयोग गर्नुले कस्मेटिक सर्जरीप्रति आकर्षण बढाउने देखाएको छ ।

नेपालमा भने ब्युटी फिल्टरका असरबारे अध्ययनहरू गरिएका छैनन् तर अन्य देशमा भएका अध्ययनहरू यहाँ पनि सान्दर्भिक हुने मनोचिकित्सक डा. अरुण कुँवरको तर्क छ । ब्युटी फिल्टर आएदेखि किशोरकिशोरीमा एउटा आइडियल शरीर कस्तो हुनुपर्छ भन्ने धारणा नै परिवर्तन भएको र सबैले आफूलाई नराम्रो देख्न थालेको उनी बताउँछिन् ।

‘फिल्टरले म राम्रो छैन, मेरो ज्यान राम्रो छैन, अनुहार राम्रो छैन भन्ने सोचको विकास गराई असन्तुष्टि जगाउँछ । यसका कारणहरूमध्ये मुख्यतः फिल्टर र यस्ता सामग्रीहरू देखिने सोसियल मिडिया प्लाटफर्म नै हुन्,’ कुँवर भन्छिन्, ‘आफूबारे नराम्रो महसुस गर्नेहरूले केही साता सोसियल मिडिया प्रयोग गरेनन् भने आफूबारेमा राम्रो महसुस गर्न थाल्छन् । त्यसैले नै बालबालिकालाई सोसियल मिडियामा धेरै एक्स्पोज गराउन हुँदैन ।’

क्लिनिकल साइकोलोजिस्ट हसना श्रेष्ठले फिल्टर प्रयोग गर्ने कुराको पनि एउटा चक्र हुने बताउँछिन् ।

‘समाजमा जो व्यक्ति आफ्नो भौतिक रूपलाई स्वीकार गर्छ उसमा आत्मस्वीकारोक्ति पनि हुन्छ । तर जसले बारम्बार आफ्नो रूपलाई लिएर तुलना मात्र गर्छ, उसमा आत्मस्वीकारोक्ति पनि हुँदैन,’ श्रेष्ठ भन्छिन्, ‘आफूलाई कमजोरीको लेन्सबाट मात्र हेर्नेका लागि, समाजबाट भ्यालिडेसन पाउने टुलजस्तो बनेका छन्, यी फिल्टर । यसको प्रयोगपछि वास्तविक रूप अझ मन पर्न छोड्छ । आत्मस्वीकारोक्ति झन् घट्छ ।’

श्रेष्ठको बुझाइमा फिल्टर प्रयोग गर्नु भनेको वास्तविकताबाट पर रहनु हो । छोटो समयका लागि राम्रो जस्तो देखिने फिल्टरको प्रयोगले नराम्रो प्याटर्न विकास गर्ने उनी बताउँछिन् । ‘बालबालिकाले सानैदेखि जे गर्छन्, उनीहरूको सोच त्यस्तै विकास हुन्छ । त्यसैले सानोबाटै ब्युटी फिल्टरको लेन्सबाट बच्चाहरूले आफूलाई हेर्छन् भने आफू त्यस्तै हुनुपर्छ भन्ने मान्यताको विकास हुन्छ,’ श्रेष्ठले भनिन् ।

मनोसामाजिक परामर्शदाता आदित्य डंगोल सुन्दरतालाई लिएर पहिल्यैदेखिको मान्यतालाई ब्युटी फिल्टरले मलजल गरेको बताउँछन् । ‘ब्युटीलाई लिएर धेरै जना इनसेक्योर महसुस गर्छन् । आत्मविश्वासको कमी हुन्छ । ब्युटी फिल्टरले आफू जे छु त्यो ठीक छैन भन्ने धारणा जगाउँछ,’ उनी भन्छन्, ‘फेरि किशोरावस्था अरूले गरेको सिक्ने समय पनि हो, साथीहरूसहित जताततै प्रयोग गरिएको कुरा आफूले पनि प्रयोग गर्नुपर्छ भन्ने सोच्छन् ।’

फिल्टरको लगातार प्रयोगले आफ्नो लुक्स परिवर्तन गर्न कस्मेटिक्स प्रयोग गर्ने बाध्यतामा धकेल्ने डंगोल बताउँछन् । भन्छन्, ‘यसले एन्जाइटी, डिप्रेसन, इटिङ डिसर्डरदेखि बडी डिस्मोर्फियासम्ममा पुर्‍याउन सक्छ । जुन मानसिक रूपमा मात्र होइन, शारीरिक रूपमा पनि हानिकारक बन्न पुग्छ ।’

प्रविना पौडेल प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully