काठमाडौँ — नेपालका अग्रणी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोलाप्रसाद रिजाललाई काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटलले गत शनिबार सम्मानित गरेको छ । डा. रिजाललाई २८ औं वार्षिक साधारणसभाको अवसरमा ॐ अस्पतालले ‘संस्थापक तथा संरक्षक’ बाट विशेष सम्मान गरेको हो ।
‘नेपाली कला, साहित्य, संगीत, फिल्म, समाज सेवा र सनातन धर्मको सेवामा प्रेरणादायी रूपमा सक्रिय डा. रिजाललाई सम्मानित गर्न पाउँदा ॐ अस्पताल परिवार नै सम्मानित भएको अनुभूति गरिरहेको’ भन्दै अस्पतालका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले रिजालको आदर्शलाई निरन्तरता दिने बताए ।
सम्मान कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीसहित अस्पतालका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले माला तथा खादा पहिर्याएर बधाई दिएका थिए ।
सम्मान ग्रहणपछि डा. रिजालले अस्पतालको परिकल्पना, सुरुवाती दिनका संघर्षको स्मरण गर्दै भने, ‘आजको ॐ अस्पताल देशले गर्व गर्न लायकको निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक बनाउन अहोरात्र लागिपर्नु भएका सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उनले ॐ अस्पताल आफूले
जन्माएको सन्तानसरह लाग्ने टिप्पणी गर्दै यस अस्पतालको हितमा सधैं साथ रहेको र भविष्यमा पनि रहिरहने जिकिर गरेका थिए ।
२०४६ सालमा नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रबाट स्थापना भएको तत्कालीन ॐ नर्सिङ होम २०५२ सालदेखि ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा रूपान्तरण भएको थियो । अस्पतालले विगत ३५ वर्षदेखि गुणस्तरीय, आधुनिक र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । डा. रिजालले नेपालमा आधुनिक चिकित्सा क्षेत्रको स्तर वृद्धि गर्दै नयाँ पुस्ताका चिकित्सकलाई प्रेरणा तथा मार्गदर्शन दिनुका साथै हजारौं महिलाको जीवन रक्षा गरिसकेका छन् ।
उनले नेपालमा नै पहिलो पटक ॐ अस्पतालमा आईभीएफ सेन्टरको स्थापना गरी हजारौं निःसन्तान दम्पतीलाई वात्सल्य सुख प्रदान गरेका छन् भने ॐ हेल्थ फाउन्डेसनमार्फत नेपालका दुर्गम तथा अति विकट क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्याएर अस्पतालको सामाजिक उत्तरदायित्वको आदर्शसमेत स्थापित गरेका हुन् ।
