यो वर्षभित्र सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने सरकारको तयारी

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

The government is preparing to start kidney transplantation in all seven provinces within this year

काठमाडौँ — सरकारले यो वर्षभित्रै सातै प्रदेशमा मिर्गौला प्रत्यारोपणको सेवा सुरु गर्ने तयारी गरेको छ । प्रत्यारोपणमा पछिल्ला वर्षहरुमा नेपालमा देखिएको सफलताले यो सेवालाई अब दूरदराजका नागरिकका लागि पनि पहुँचयोग्य बनाउन लागिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए । 

शनिबार सम्पन्न मानव अंग प्रत्यारोपणसम्बन्धी दुई दिने सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले, ‘प्रत्यारोपणलाई थप सजिलो र पहुँचयोग्य बनाउन आवश्यक नीतिदेखि भौतिक पूर्वाधारसम्मको व्यवस्थामा सरकार कटिबद्ध छ, यसै वर्षदेखि अब हामी सातै प्रदेशमा मिर्गौला प्रत्यारोपणको सेवा सुरु गर्दैछौं ।’

सम्मेलनमा जापान, हल्याण्ड, बेलायतदेखि नेपालसम्मका विज्ञ चिकित्सकहरुबाट मानव अंग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत भएको थियो । नविन खोज अनुसन्धानमा आधारित यी कार्यपत्रले तय गरेको विषयले प्रत्यारोपण कार्यलाई थप सुगम र सजिलो बनाउने देखिएकाले यसबाट दिइने सुझावलाई सरकारले ग्रहण गर्ने पनि मन्त्री पौडेलले बताए ।

नेपालका प्रत्यारोपितहरुले आयोजना गरेको दुई दिने सम्मेलनमा मन्त्री पौडेलले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको प्रत्यारोपणको सफलता दरलाई अन्यत्र पनि लागू गरिने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा मस्तिष्क मृत्यु भएपछि दिइने अंगदानमा दाता तथा ग्रहणकर्ताको प्रतिक्षा सुचि सहितको राष्ट्रिय अभिलेख समेटिएको 'एप' पनि लञ्च गरिएको छ । उक्त एपमा अंगदानसम्बन्धी अनलाइन फारम भर्न सकिने, अंग फेल भएका बिरामीहरुको विवरण र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण नियमावलीमा भएबमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ ।  

सम्मेलनमा मस्तिष्क मृत्युपश्चात् हुने अंगदान र प्रत्यारोपणको विकासका बारेमा विशेषज्ञहरुबीच अनुभव साटासाट पनि भएको थियो । ‘अंग प्रत्यारोपण स्वास्थ्य क्षेत्रकै लागि नयाँ चुनौती हो संसारमै’ सम्मेलनको आयोजक समितिका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘प्राविधिक कठिनाइदेखि कानुनी शून्यताको अवस्था धेरै मुलुकमा छ, यसलाई कसरी हल गर्न सकिन्छ भन्ने समाधानका लागि सम्मेलनले ठूलो सहयोग पुर्‍याएको छ ।’

कान्तिपुर

Link copied successfully