बजेट अभावले अस्पताल निर्माण अलपत्र

संघ सरकारले बजेट नदिँदा ठेकेदारले गत वर्षकै डेढ करोडभन्दा बढी भुक्तानी पाएनन्

मंसिर ३०, २०८१

प्रकाश बराल

Hospital construction stalled due to lack of budget

बागलुङ — निसीखोला गाउँपालिकामा निर्माणाधीन अस्पताल बजेट अभावमा अलपत्र परेको छ । वडा नं ३ र ४ को सिमाना नजिकै अस्पताल बनाइरहेका ठेकेदारले भुक्तानी नपाएको भन्दै काम रोकेका छन् । 

स्थानीयले जग्गा उपलब्ध गराएपछि गाउँपालिकाले चार वर्षअघि भवन निर्माणको ठेक्का लगाएको थियो । ‘हिमदुङ एसी आईएस’ संयुक्त निर्माण कम्पनीले भवन बनाउने ठेक्का लिएको हो । १० करोड ९९ लाख रुपैयाँको लागत अनुमान गरिएको अस्पताल गत वर्ष पुस मसान्तमै बनिसक्नुपर्ने थियो ।

‘बाहिर हेर्दा त अस्पताल सकिएको जस्तो लाग्छ तर हामीले काम गरेकै भुक्तानी दिन सकेनौं, ठेकेदारले काम बाँकी छाडेका छन्,’ गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले भने, ‘बजेट प्राप्त नभएसम्म काम कहिले पूरा हुन्छ, भन्न सकिँदैन ।’ 

अस्पताल नबन्दा आम नागरिकले स्वास्थ्य सेवाका लागि धेरै टाढा जानुपर्ने बाध्यता भएको पालिका अध्यक्ष घर्ती बताउँछन् । १० शय्याको अस्पताल निर्माण सम्पन्न भए यहाँका झन्डै २५ हजार मानिसले सेवा पाउनेछन् । मध्यपहाडी लोकमार्गमा हुने दुर्घटनाका घाइतेको उपचारमा समेत सहज हुने स्थानीयको भनाइ छ । अस्पताल बन्दै गरेको ठाउँ गाउँपालिकाको बीचमा पर्छ । 

गाउँपालिकाले गत वर्ष नै अस्पतालको भवन बनिसक्ने भनेर गाउँपालिकाले २० लाख रुपैयाँ खर्च गरेर खोला छेउमा पक्की पर्खालसमेत बनाइसकेको छ । ‘अघिल्लो अध्यक्षकै पालामा भवन निर्माण सुरु भएको हो, अब त पूरा गरेर सञ्चालन गर्ने बेला बितिसक्यो तर राज्यबाट आउने बजेट नै आएन,’ उनले भने, ‘ठेकेदारलाई पनि बजेट व्यवस्थापन हुनासाथ काम सक्न ताकेता गरेका छौं ।’ 

गाउँपालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि संघ सरकारले भवन निर्माणका लागि बजेट निकासा गरिदिएको थियो । तर ठेकेदारले गत वर्ष गरेको कामकै डेढ करोडभन्दा बढी भुक्तानी पाउन बाँकी छ । प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले संघीय सरकारसँग बजेट माग गरिरहेको बताए । ‘तैपनि निकासा भएको छैन,’ उनले भने ।

निसीखोलाका ७ वटा वडामध्ये ३ वटामा मात्रै स्वास्थ्य चौकी छन् । अन्यत्र स्वास्थ्य सेवासमेत नपुगेकाले अस्पताल बनेपछि सबैलाई सहज हुने पालिका अध्यक्ष घर्ती बताउँछन् । हाल अस्पताल जानुपरे १ सय ३० किमि परको सदरमुकाम वा झन्डै ९० किमि टाढाको पाल्पा पुग्नुपर्ने बाध्यता छ ।

यहाँका तीनवटै स्वास्थ्य चौकी धेरै बिरामी परीक्षण गर्नेमा पर्छन् । अस्पताल नहुँदा प्रसूति व्यथाका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ ।

गाउँपालिकाले कम्तीमा एक विशेषज्ञ डाक्टरसहित आधारभूत उपचार र प्रसूति सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । ‘दक्ष चिकित्सक राख्न सके अपरेसनको सेवा पनि दिन सकिन्थ्यो,’ स्वास्थ्य शाखाकी प्रमुख जुनी घर्तीले भनिन्, ‘भूगोल र जनसंख्याका कारण पनि यहाँ अस्पताल आवश्यक छ ।’ अस्पताल बनेपछि पालिकाले निसीखोलामा पुल बनाउने लक्ष्य राखेको छ ।

पालिका उपाध्यक्ष प्रेम घर्तीका अनुसार तत्काल ट्रस्ट पुल बनाउन सर्वेक्षण भइसकेको छ । २३ मिटर लामो ट्रस्टब्रिजको नक्सांकन गरेर प्रदेश सरकारमा रकमका लागि पठाइएको उनले जानकारी दिए । ‘भवन बनिसक्दा ट्रस्ट पुल पनि बनाएर सञ्चालनमा ल्याउने लक्ष्य छ,’ उनले भने, ‘लोकमार्ग कालोपत्रे भइसकेकाले वडा नं ६ को भलकोटदेखिका बिरामी पनि एक घण्टामै अस्पतालमा आउन सक्नेछन् ।’ 

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully