‘जनावरबाट मान्छेमा सर्छन् संक्रामक रोग’

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Infectious diseases spread from animals to humans

चितवन — विश्वमा देखिएका नयाँ रोगहरुमध्ये ७० प्रतिशत जनावरबाट मानिसमा सरेर आएका अधिकारीहरुले बताएका छन् । जुनोटिक रोगको जोखिम न्यूनीकरणका लागि ‘एक स्वास्थ्य अवधारणा’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी विज्ञहरूले विश्वमा करिब ७० प्रतिशत रोगहरु जनावरबाट मानिसमा सरेको दाबी गरेका हुन् । 

पछिल्लो समय देखिएका कोभिड १९, इबोला, मर्स, रेविज जस्ता संक्रामक रोगहरु जनावरबाट मानिसमा सरेको उनीहरूको भनाइ छ । 

सरुवारोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा. शेर बहादुर पुनले जुनोटिक डिजिजको जोखिम भएको बताए । जनावरबाट मानिसमा सर्ने रोगलाई जुनोटिक डिजिज भनिन्छ । पछिल्लो समय स्यालले टोकेका बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको पुनले बताए । बिगतमा मान्छे देख्दा भाग्ने स्यालहरु अहिले हुलमा आक्रमण गर्न हिँडिरहेका छन् । 

डा. पुनले पछिल्लो समय अस्पतालमा कुकुरले टोकेर आउने मानिसको संख्यामा पनि बृद्धि भएको बताए  । ‘अहिले सरुवा रोग अस्पतालमा ९१ प्रतिशत मानिस कुकुरले टोकेर आउंँछन् भने ५ प्रतिशत मान्छे बांँदरले टोकेर आएका छन्,' उनले भने ।

त्यस्तै, पशु चिकित्सक डा. सविना मिश्राले पनि कुकुर भन्दा स्यालको जोखिम बढेको बताइन् । चितवनमा स्याल हुल बाँधेर हिड्ने र मान्छेलाई टोक्ने गरेको मिश्राले सुनाइन् । स्यालको टोकाइबाट रेविजको जोखिम अत्याधिक बढेका मिश्राको भनाइ छ । 

अध्ययनहरुका अनुसार विश्वमा हरेक रात ८ करोडभन्दा बढी मानिस भोकै सुत्छन् । त्यति मात्र हैन, विश्वमा अहिले जति मासुको आवश्यकता छ,  २०५० सम्ममा त्यो दर ७० प्रतिशतले वृद्धि हुने देखिएको छ । तर, जनावरमा देखिएको रोगका कारण उत्पादन दर २० प्रतिशतले घटिरहेको छ । 

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानिस र वन्यजन्तुको सम्बन्ध नजिक भएकाले दुवै पक्ष जोखिममा रहेको बताए । स्वास्थ्यका हिसाबले जनचेतना पुग्न जरुरी भएको उनको तर्क रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले स्वस्थ पारिस्थितिक प्रणालीका लागि वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रष्ट पारे । उनले एक स्वास्थ्य अवधारणाको मूल कुरा मानव स्वास्थ्यलाई ध्यानमा राखेर पारिस्थितिक प्रणालीलाई कसरी स्वस्थ राख्ने भन्ने नै भएको धारणा व्यक्त गरे । 

वरिष्ठ पशु चिकित्सक डाक्टर कमलप्रसाद गैरेले करिब ७० प्रतिशत रोग जनावरबाट मानिसमा सरेको बताए । यही अवस्थामा नेपालमा महामारी भए ठुलो क्षति व्यहोर्नुपर्ने उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully