सीपीआरबारे सचेतना फैलाउन गीत 

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Song to spread awareness about CPR

काठमाडौँ — सीपीआर (कृत्रिम श्वासप्रश्वास) बारे जनचेतना फैलाउने उद्देश्यले गीत सार्वजिनक गरिएको छ । दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले नेपालमै पहिलोपटक सीपीआरसम्बन्धी गीत सार्वजनिक गरेको हो । 

गीतमा मुटुको चाल रोकिएको अवस्थामा पहिलाकै अवस्थामै ल्याउनका लागि गरिने आकस्मिक प्रक्रिया सीपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) गर्ने तरिका उल्लेख गरिएको छ । 

सीपीआर मुटुले रगत पम्प गरेर मानव शरीरमा सञ्चार गराउने कार्य बन्द भएको अवस्थामा मुटुलाई फेरि सञ्चालन गराउनका लागि गरिने प्रक्रिया हो । सामान्यतया कुनै पनि व्यक्तिको मुटुको धड्कन बन्द भएको खण्डमा सीपीआर गरिन्छ । 

हाप्सा नेपालका चिकित्सक तथा अमेरिकाको ब्राउन विश्वविद्यालयका सह-प्राध्यापक रामु खरेलको शब्द र स्वर रहेको गीतमा अमेरिकी गायक तथा चिकित्सक साउद ढिलन लीले संगीत दिएका हुन् । 

हाप्सा नेपालले सामुदायिक सीपीआर कार्यक्रम विस्तार गर्न आवश्यक पहलका लागि देशका प्रमुख सरोकारवालाहरूबीच गरेको 'नेपालमा समुदायस्तरको सीपीआरको सिकाइ, रणनीति, र भविष्य' शीर्षकको कार्यक्रममा गीत सार्वजनिक गरिएको हो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देशमार्फत सीपीआर विधिबारे हाप्सा नेपालले समुदायस्तरमा तालिम तथा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरे । 

कार्यम्रममा हाप्सा नेपालका संस्थापक तथा प्रमुख रणनीतिकार खरेलले समुदायलाई जीवन रक्षाका लागि सशक्त बनाउन सीपीआर तालिमको महत्त्व रहेको र यसमा सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्ने बताए । 

त्यस्तै, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा.विष्णु सापकोटाले पनि भिडियो सन्देशमार्फत जीवनरक्षक पहललाई आफ्नो फाउन्डेसनको समर्थन रहेको बताए । 

कार्यक्रममा हाप्सा नेपालका अध्यक्ष पंकज भट्टाराई र हाप्साका मेडिकल निर्देशक तथा रणनीतिकार डा. कमल थापाले सामुदायिक सीपीआर तालिमको आवश्यकता र महत्वबारे जानकारी गराए । 

कान्तिपुर

Link copied successfully